बैशाखको पहिलो हप्ता । देश कोरोनाले कब्जामा लिँदै थियो । विराटनगरबाट सरुवा भएर इलाम जानुपर्ने भयो । लामो समयको बसाई । चिनजानका साथीभाई चटक्क छाडेर बिरानो कर्ममा हाजिर हुनु सरकारी जागिरको सबैभन्दा विवशता हो ।
मनले नमानिरहँदा पनि जागिरको दौरानमा ठाँउ छाड्नैपर्छ । लगभग दुई वर्षको बसाई अवधिमा विराटनगरले धेरै कुरा सिकायो । पछिल्लो समय दोश्रो लहरको कोरोना महामारीले विराटनगरलाई गाँज्दै गर्दा मलाई कोरोनादेखि भागेर टाढा जाँउ झैँ लाग्दै थियो । हुन त समस्यामा शहर भुलेर गाउँ सम्झने जो कोहि नै हुन्छन् । म पनि त्यही स्वार्थको संसार त हुँ । मलाई पनि कंक्रीटको शहर छाडेर उही गाँउ रमाइलो लाग्यो ।
त्यसमाथ सरुवा भैगयो । विराटनगरवासीको मायाको पोको लिएर प्रकृतिले भरिएको सुन्दर नगरी इलामको यात्रा तय गरे । झोला बाइकको पछाडि बाँधे । आफु अगाडि बसे । चिनेका साथीभाई छोड्दै गर्दा कता कता मन गह्रौ भयो । तर, इलामको सुन्दरताले यी सबै कुरा केही दिनमा नै बिर्साउने आशा थियो ।
यसरी भारी मनलाई सान्तवना दिदै यात्रा अगाडि बढ्यो । विराटनगरदेखि झापा पुगे । मन विराटनगरमै थियो । वर्षौ सेवा गरेको ठाउँ आफ्नो थियो । चिनेका साथीभाई थिए । यात्राका दौरानमा ती विराना हुँदै गए । कतिलाई बिर्सनु थियो । कोसिस पनि गरे । तर सकिन । झापासम्म यादले लखेटिरह्यो ।
झापाबाट बाइकको ह्याण्डिल इलामतर्फ मोडे । तराईको हपहपी गर्मी छोडिदै गयो । चिसो बतास नाकमुख हुँदै फोक्सोसम्म पुग्न थाल्यो । पहाड्को उकालो चड्दै गर्दा मनमा आनन्द भएको महशुस भयो । पहाडका सडक छेउका घना जंगलहरुमा मैले आफ्नोपनको महसुस गर्न थाले ।
लामो समयको खडेरी पश्चात पानी परेर होला प्रकृति नै नुहाए झैँ भान हुन्थ्यो । खुलेको आकाश, हरियाली पहाडहरु हेर्दा लाग्थ्यो, इलामको विशेषता नै यही हो । मनलाई भुलाउने स्वर्ग जस्तै ठाउँ । जति बाटो कट्दै गयो त्यति नै पहाडको मनरोम दृष्यहरुमा म लोभिँदै गए । हरियो मलमलको गलैँचा जस्ता देखिने चिया बगान, त्यो नागबेली बाटो नियाल्दै जाँदा बाटो छिचोएिको पत्तै भएन ।
बाटो अगाडी बढदै जाँदा बेलाबेलामा चियाको पत्तीबाट चियाकै बास्ना आउँथ्यो । सुन्दरताले मन लुट्दै गयो । जवाफमा मैले चुरोट सल्काए । एकातिर चियाको बास्ना, अर्कातिर चुरोटको धुँवाको बास्ना । बाइकको साइलेन्सरबाट आउने पेट्रोलको धुँवा । बास्ना आ आफ्नै थियो । मेरो यात्रा अगाडि बढिरह्यो । धुवाँ उडाउँदै । यादहरु मिसाउँदै ।
लामो समय शहरको रमझमा झुलेर होला । पहाडको मौनता र सुन्दरता मेरा लागि याद भुलाउन काफी लाग्न थाल्यो । पहाडमै जन्मेर होला । जे भनेपनि सबैभन्दा बढी पहाडकै माया लाग्ने । शहरको बसाइले गाँउले जीवनशैली थप नजिकबाट नियाल्न पाए । आफैलाई भुलाए । आखिर याद न हुन् । कहिले कसलाई । कहिले कसलाई भुलाउने ।
बाटो काट्दै गर्दा कुइरोले ढाकिन्थ्यो । घामले घुम्टो खोल्थ्यो । इलामको सुन्दरता कहाँ बयान गर्न सकिन्छ र ? त्यसमाथि इलामको आइतबारेको करफोक क्यापस नजिकै रहेको सल्लाको जंगल उस्तै अनौठो । दिउँसै रात पार्ने ।
अनौठो ठाउँ सायदै भेटिन्छ । यसलाई क्यामेरा कैद गर्न मन लाग्यो । बाइकको स्ट्यान्ड लगाए । मोबाइल झिके । हेल्मेट फुकाले । हाने सेल्फी । कतिपटक हासेर । कतिपटक मुस्कुराएर । कतिपटक ठुस्किएर । ग्यालरी अटाउने गरी सेल्फी खिचे ।
एक्लै छु । यसरी घनघोर जंगलमा एक्लै हुँदा मन आत्तियो । मनमा अनेक कुराहरू खेल्न थाले । हामी सानो विपत्तिमा आतिन्छौं । स्वभाव न हो । एकछिन धैर्य गर्ने सामर्थ्य जुटाउन हम्मेहम्मे पर्ने ।
तर प्रकृति अजीवको छ । यी रूखहरू लामो समय पानी नपाउँदा पनि आतिँदैनन् । पात जम्मै झरेर नाङ्गै हुँदा पनि लजाउँदैन्नन् । उनीहरूलाई एक दृढ विश्वास छ कि एकदिन वर्षा हुनेछ, वसन्त फर्केर उनीहरूलाई सिँगार्न आउनेछ ।
नयाँ पालुवा पलाएसँगै ती आफ्नो वास्तविक स्वरूपमा अनावरण हुनेछन् । पृथ्वीमा सबैका लागि सबैको महत्व छ । स्थान छ । खुशी छ । दुःख छ । पीडा छ । संघर्ष गर्न पो सक्नुपर्छ त ।
हाम्रा लागि पनि दशैँ तिहार आउँछ । अनि आउँछ हिउद र वर्षा । त्यति मात्रै होइन्, यो कोरोना महामारी पनि त आयो । समयलाई कसले छेक्छ र ? बाइकको स्पीड आफ्नै थियो । आफ्नै सुर थियो । मनमा यस्ता कुरा खेलिरहेकै थिए । म हराइसकेछु ।
बाइक अर्को लेनमा पुगिसकेको थियो । उताबाट स्पीडमा आएको भ्यानले हर्न बजाएर गयो । धन्य म जोगिए । यात्रामा संयमित हुनुपर्छ । यही सोचेर बाइकको यात्रा फेरि अगाडि बढाए ।
म जागिरको दौरानमा छु । समय आफ्नो थिएन । बाइक आफ्नो थियो । इन्जिनको भरमा हिड्थ्यो । इन्जिन आफ्नो थिएन । एक्सिलेटर थियो । स्पीड हातमा हुन्थ्यो । तर त्यो मेशिनको करामत थियो । समय पनि यस्तै हो । यहाँ सबै आफ्नै लाग्छ । उमेर भएसम्म । तर केही कोही आफ्नो हुँदैन् । चित्त बुझाउने मिठा भ्रम मात्रै हुन् ।
बचेखुचेको समय दुई दिनको थियो । पाँचथर घर पुगे । दुई दिनको बसाई दुई घण्टा जस्तो लाग्यो । भनेनी समय आफ्नो थिएन । कर्मभूमिलाई गन्तव्य बनाउँदै फिदिमदेखि उकालो लाँगे । घरको जिम्मेवारी काँधमा थियो ।
जेठो छोरा भएर जन्मेपछि यो जन्मसिद्ध अधिकारमा कर्तव्य मिसिएको छ । दुुई दिन बसेर चुपचाप हिडँे । बाइक गियरमा हाल्ने बेला आमाले भन्नुयो, काठमाण्डौ बस्नु भन्दा त ईलाम नजिक । अब ढुक्क भयो । बेला बेला भेट्न आइहाल्छ । मन हर्षविभोर भयो । एक्सिलेटरको गतिमा यात्रामा लागे ।
सोचे, यो मन पनि मधुमालतीको कथाको वायुपंखी घोडा जस्तै छ । एकैछिनमा कहाँ कहाँ पुग्छ । घरको आँगन छुट्दै गर्दा मन बाल्यकालमा फर्कियो । बारीका डिलमा रहेका बोटहरुमा कालै भएर पाकेको किम्मु, खनीउँ, निवारो, आल्चा, मेल, ऐँसेलु, घगौरु बाल्यकालका ब्रेकफास्ट र स्न्याक्स बन्थे । प्रायः भदौ असोजको महिना तिर स्कुलबाट फर्किँदा मकैका ढोड खान्थ्यौँ । रुखो बारीका राता ढोड ऊखु जस्तै गुलिया हुन्थे ।
अहँ रुखो होइन होला, रुखो भएको भए ढोड कसरी गुलियो हुन्थ्यो त, त्यो माटो मकै उत्पादनको लागि अनुकूल नहुन सक्छ । मनले प्रश्न गरिहाल्यो । ऐँसेलु पाक्ने सिजनमा स्कुलबाट घर आईपुग्न एक घन्टा लाग्थो । कहिलेकाहीँ त झमक्क साँझ नै पर्थ्यो । यि कन्दमूल भनौँ या फलफूल, जताततै पाईन्थे न त किन्नु नै पर्थ्यो । अहिले तीनसय रुपैँया प्रतिकिलोको फुँजी स्याउ र कालो ईन्डियन अंगुर पनि तेति मिठो लाग्दैन । गाँउको बाटो छिचोल्दै गर्दा बाल्यकालको यादहरु यसैगरी आइरहे ।
गाँउका ती बाल्यकालका साथी याद आउन थाल्यो । मैले कक्षा तीनको वार्षिक परीक्षा सिकाइदिए बापत मलाई आल्चा र आरु ल्याइदिने रामकुमार यो समय कहाँ होला ? परिक्षा हलमा टाढा भएर मैले सिकाउन नसक्दा परिक्षामा फेल भएको कारण मसँग रिसाएर टाढिएको किरण कहाँ के गर्दै होला ? म सँग अझै उ रिसाएकै छ कि छैन होला ? यस्तै अनुत्तरित प्रश्नहरु मनमा खेल्दै गए ।
यात्रा आफ्नै थियो । सुर आफ्नै थियो । समय प्रतिकुल बन्न थाल्यो । बाइकमा प्राविधिक समस्या देखियो । धेरै हिड्नु थियो । तर बाइक अगाडि जान मानिरहेको थिएन् । कान्छी बजार क्रस गरे । बाइकमा समस्या बढ्यो ।
विस्तारै पिकअप लिन छाड्यो । स्पीड घट्यो । अलि पर पुगेपछि स्टार्ट बन्द भयो । कम्तिमा पौवा भन्ज्याङ पुग्न पाए बनाउन सकिने अवस्था थियो । तर बाइक स्टार्ट नै भएन् । फसाद पर्यो । अपाच्चेको आरटीएफ बाइक हो । यति छिटो धोका देला सोेचेको थिइन् ।
अब के गर्ने ? एउटा बाईकमा लिफ्ट मागेर पौवा भन्ज्याङ पुगेर सरासर ग्यारेज तिर गए । ग्यारेज बन्द थियो । यो पौवा भन्ज्याङ बजारको एकमात्र ग्यारेज थियो । मौसम धुमिएको थियो ।
पानी परिहाल्न सकेको थिएन । त्यहि दिन अफिस पुगेर भोलीपल्ट हाजिर हुनैपर्ने बाध्यता थियो । जंगलमा छोडेको बाईक । मन हड्बडिन थालिसकेको थियो । पुनः ट्याक्सी चढेर बाईक भएको ठाउँसम्म पुग्दा पानी पर्न थालिसकेको थियो । अफ्ठ्यारो परिस्थिती परेपछि मानिसको बायाँ दिमाख चल्दो रहेछ । बाल्यकालदेखि चिनेको कान्छिदोकान बजारको रमेश दाईलाई फोन गरेर एकसासमा परिस्थितीको बेलिबिस्तार लगाएँ ।
रमेश दाईले नजिकै कसैको घरसम्म बाइक ठेलेर राख्न सुझाव दिनुभयो । बाइक थन्क्याए । तर वर्षाले चुट्न थाल्यो । लगभग ७ हजार ५०० फिटको उचाईमा रहेको कान्छिदोकान, पौवा भन्ज्याङमा रमेश दाईको घर पुगे । वर्षाले चुटेपछि मनमा चिसोको असर पुगिहाल्यो । भाउजुले चिया बनाएर दिनुभयो । त्यही चियाले मन सेक्न थाले ।
दाई भाउजुको मिठो बोली र चियाको स्वागत न्यानो लाग्यो । भाउजुले बनाउनुभएको झोल हालेको अण्डा चाउचाउ झन् जिब्रोमै बस्यो । दाई भाउजुले ढुक्कसँग आज उहाँहरुकै घरमा बसेर भोली बाईक बनाएर आनन्दले जान भने । गफैगाफमा रमेश दाईले बाइक ग्यारेजसम्म पुर्याउन एउटा चिनेको भ्यानलाई भनिसक्नुभएछ । म भ्यानमा बाइक भएतिर लागे, दाई गाई दुहुन र भाउजु भान्छाको काममा लाग्नुभयो ।
बर्षाले अझ घनघोर रुप लिदै थियो । बाइकलाई जसोतसो भ्यानमा हालेर लालीखर्कको ग्यारेजमा पुर्याउँदा साँझको सात बजिसकेको थियो । मेकानिकले ब्याट्री डाउन भैसेको र लाईन नभएको कारण बाइक त्यो दिन बनाउन नसक्ने बताए । म आएको भ्यान बिरामी लिएर फिदिम अस्पताल जानुपर्ने रहेछ । लालीखर्कदेखि कान्छिदोकान बजार लगभग ५ किलोमीटरको दुरीमा पर्छ । कोरोना कहर, त्यसपछि राती गाडी चल्न लगभग छोडिसकेका थिए ।
कान्छिदोकान कसरी फर्किने दोधार भयो । मिस्त्रीले बाइक दिने बताए । तर रेनकोट थिएन । तर त्यो चिसो मौसममा भिज्न सक्ने सामर्थ्य मसँग थिएन । उसले पुनः नजिकैको पेट्रोल पम्पमा बस्ने र कुनै गाडि आएपछि जाने सुझाव दिएर घरतिर लाग्यो । त्यो भन्दा उसले गर्न सक्ने के नै थियो र ?
समय अनुकुल हुन पर्खिनुपर्छ । नत्र बर्बादी । म पर्खिन थाले । कुनै गाडीको पखाईमा । कान्छीदोकान पुग्नु थियो । एक जना व्यक्ति आइपुगे । समस्या मेरै जस्तो थियो । बाइकमा हिड्नेलाई यही समस्या । बाइक चढ्न पो मज्जा । बाइक बनाउन र डोहोर्याउन त महाभारत । त्यो पनि ग्यारेज नहुने ठाउँमा ।
उनी अपरिचितसँग समस्या मिल्यो । परिस्थिती मिल्यो । अब मिलेर सामना गरौँ । यही बुझाई भयो । नजिकै रहेको ट्रक जानेवाला थियो । हामी त्यत्तिञ्जेलका लागि होटल लालीमा लाग्यो । उनले खुकुरी रम लिए । मैले कफीको चुस्की ।
रक्सी खाएपछि कुरै बेग्लै । उनले राजनीतिक गफ झिके । नेताहरुको कुरा गरिसाध्य भएन् । उनले त्यही गर्न थाले । अरुलाई गाली । आफू खाली । हस हजुर भन्नुको विकल्प मसँग थिएन । झण्डै पौने घण्टा बिताइयो । उनले बोत्तल रित्याए । मैले कप ।
ट्रक जाने भयो । सहचालकले हामीलाई सुइको दिए । रक्सी खाएर होला, उनले बिल तिर्न पर्स झिके । पैसा निकाल्दै भने, पृथ्वी गोलो छ सर । कुनै दिन फेरि भेट हुन्छ । त्यतिबेला हिसाबकिताब बराबर गरौँला । म फिस्स हाँसे ।
सँगै ट्रकमा चढ्यौ । १५ मिनेटमा कान्छिदोकान आईपुग्यो । उनी राँके जान कर गर्न थाले । तर मलाई रमेश दाई र भाउजुले कुरिरहरनु भएको थियो । कुनै दिन भेट्ने बाचा गरेर ट्रकबाट झरे । पानी पनि लगभग रोकिएको थियो ।
म ट्रकबाट झरे । भाउजुले लोकल कुखुराको सुप बनाउनु भएको थियो । रमेश दाईको माईलो दाई पनि थपिएका थिए । कुखुराको सुप सहितको मासु, रायो साग, टिम्मुरको छोप हालेको पोलेको लोकल टमाटरको अचार मिलाएर खाना खायौँ ।
खाएपछि सुत्ने । नियमित काम । भोलि यात्रामा निस्कनु थियो । त्यो भन्दा ठूलो कुरा जागिर हाजिर गर्नु थियो ।कुखुराको सुपले झ्याप्प निन्द्रा लाग्यो । कान्छीदोकान बजारमा हामी सुस्तायौँ ।
बिहानै उठे । अलि उज्यालो भएपछि । दाई भाउजुसँग बिदा मागे । ग्यारेजसम्म पुगे । बाइक बनेको थियो । स्टार्ट गरे । बाइक आफ्नो खुशी भयो । नयाँ अनुभूति मिल्यो ।
सररर् बाइक चढेर अफिसमा हाजिर भए । कोरोनाकालमा यही देशकै सेवामा छु । सेवा गरिरहनेछु ।