प्रिय साथीहरु नमस्कार !
आज मलाई विशेष अनुरोध गर्न मन लागेको छ । मैले सामान्य जस्तो लाग्ने कुरालाई अलि महत्व दिएर विशेष भनेको हो । अहिले हामीले सोचे भन्दा बढीनै कोरोना संक्रमण बढेको कुरालाई कसैले पनि नजर अन्दाज नगरौं।
र,सवैलाई थाहा छ कि यतिवेला हामी अघोषित राष्ट्रिय संकटको सामना गरिरहेका छौं । धेरै कुरामा सम्झौता गर्दै उच्च सतर्कता अपनाएर आफू वचौं, आफू बच्ने भनेको अर्कोलाई कोरोना संक्रमीत नबनाउनु पनि हो ।
संक्रमणको यो विषम परिस्थिति सम्भवत सरकारको काबुभन्दा बाहिर गइसकेको छ ।
जसलाई सामान्य संक्रमण भएको छ, उच्च सतर्कता सहित त्यसको निदानमा जुटौं। अलिकती पनि केही गाह्रो महसुस हुने वित्तिकै हेलचेक्र्याँई नगरौं, स्वास्थ्यकर्मीको सम्पर्कमा बसी हालौं, अस्पतालमै जाऔं। आइसोलेसन सेन्टरमा जाँऔं।
हो, बेडहरु अत्यन्त न्युन छ । तर हरेक अस्पतालले इमरजेन्सी सेवा संचालन गरिरहेका छन । अहिलेको इमरजेन्सी सेवा भनेको कोभिड केन्द्रित नै हो, अधिकतम।
इमरजेन्सीमा २ देखि ४ घण्टा अब्जरभेसन पिरीयडमै भए पनि डाक्टर र स्वास्थ्यकर्मीले घरमा भन्दा धेरै वढी उपयोगी उपचार गर्नेछन।
केही गाह्रो साह्रो परेका कोरोना संक्रमितहरुलाई पहिलो चरणमा गरिने उपचार सम्भवत बढे बढे नाम चलेको अस्पताल र वरिष्ठ चिकित्सकले झण्डै उस्तै उस्तै नै औषधी चलाएको देखिएको छ।
अस्पताल पुगी सकेपछि औषधी, वेडको आवश्यकता, आइसियुको आवश्यकता, भेण्टीलेटरको आवश्यकता डाक्टरले सिफारिस गर्ने नै छन ।
लौ बेडनै नपाए पनि डाक्टरले इमरजेन्सीमा औषधी चलाउन सक्छ, औषधी चलाउनु बहुतै उपयोगी बन्दै गएको छ। किनकी सामान्य ज्वरोमा हामीले कमन प्रयोग गर्ने औषधी र कोरोना पछि आएको ज्वरो वा अन्य लक्षणको लागि डाक्टरले दिने औषधीमा केही फरक हुन सक्छ। डाक्टरले सरल, मध्यम, जटिल, अति जटिल अवस्था खुट्याइ हाल्छ। ज्वरोसंगै, टन्सील, न्युमोनियाको अवस्था ल्याबवाटै खुट्याउन सकिन्छ।
मेरो विशेष अनुरोध के भने अब अस्पतालमा बेड नै छैन भन्दै कोरोना संक्रमित जसलाई अलि गाह्रो महसुस भइरहेको छ, सेल्फ आइसोलेसनवाटै ठिक हुन्छ भन्दै बसेकाहरुको जोखिम बढेर, केही ढिलो उपचारको कारण मृत्युको मुखमा समेत पुगेका दुखद घटनाहरु बाहिरिएका छन।
मैले यो अनुरोध तपाईहरु मार्फत अति सर्वसाधारणलाई पनि पुर्याउन फेरि विशेष अनुरोध र उद्वेलन गर्न गरिरहेको छु।
कोरोना संक्रमण हुने बित्तिकै डर त्रासले अब निको हुँदैन भन्ने कुरा पनि छैन, नेपालमा लाखौंले कोरोनालाई जितेर नर्मल जीवन विताइरहेको कुरा त छँदैछ। तर सामान्य हो भन्दै लापरवाही र हेलचेक्र्याँइको कारण कठिन उपचार सम्म गर्नु परेको र ढिलो भएका कारण, संक्रमण धेरै फैलिएका कारण ज्यान वचाउन नसकिएको कुरा पनि त सत्य हो नी ।
एक त कोभिड लाग्नै नदिऔं, दोश्रो लागिहाले पनि अत्यन्त महत्वका साथ यसको निराकरणमा जुटौं, हेल्चेक्र्याँइ गर्ने छुट कसैलाई छैन।
कारण अहिले युवा, नियमित कुनै पनि औषधी सेवन नगरेकाहरु, वालवालिका समेत उच्च जोखिममा रहेको सवैलाई थाहानै छ। पहिलेको र अहिलेकोमा फरक पनि त्यही न हो, दिर्घ रोगीलाई कोरोना भेंटे पछि गाह्रो पारेको कुरा गर्दै हाम्लाई त केही हुन्न भन्न यो दोश्रो लहरले मानेको छैन।
कसैले सामान्य तवरवाट कोरोनालाई पार गरेका छन भने कतिपयले साह्रै कष्टका साथ। कतिपय आईसियू सम्मै पुगेका छन भने कतिपय भेण्टीलेटरसम्मै । उपचार नपाई, अस्पताल लैजाँदै गर्दा, प्रयास गर्दा गर्दै निधन भएको त हामीले भोगेकै छौं।
स्पष्ट भए हुन्छ हामीले अहिले सम्म अपनाएको उच्च सावधानीले कसैलाई खराब गरेको छैन। मास्क लगाएर, हात पटक पटक धोएर, पन्जा लगाएर, भौतिक दुरी कायम गरेर, तातोपानी खाएर, कागती पानी, बेसार पानी खाएर, भिटामीन ‘सी’ ‘डि’ खाएर कसको क्षति भएको छ र ?
बरु विस्तारै भइहाल्छनी भन्दै, लापरवाही गर्दा, उपेक्षा गर्दा, यो केही पनि होइन भनेर बिन्दास हुँदा, विज्ञ, चिकित्सक र युएनको सार्वजनिक अपिल र डेटालाई नपत्याँउदा गोर्खे पाराले हामी धेरैलाई दुख दिएको छ, संक्रमित वनाएको छ, मृत्युको मुखै सम्म पुर्याएको छ, आफन्त गुमाउनु परेको छ।
अब त्यो लापरवाही, हेलचेक्रयाँइ, यस्तै त हो नी मलाई के हुन्छ र भन्ने छुट कसैलाई छैन। निषेधाज्ञा अवधी भरी उच्च सतर्कता अपनाउँदा केही विग्रन्न, निषेधाज्ञा पछि पनि धेरै प्रकारका हेल्थ प्रोटोकल फलो गर्नै पर्ने हुन्छ, यो जादुको छडी जस्तो एकै दिन निमिट्यान्न हुने समस्या जस्तो देखिएन। केही समय लाग्नेनै देखियो।
कोरोना कहरको जटिलता चिर्दै जाऔंला, अस्पतालमा जतिनै बेहाल भए पनि त्यहाँ गएर उपचार लिनै पर्न सक्छ, हामी तयार हुनै पर्छ।
नर्मल लयमा नआउन्जेल अब यो संक्रमणसंग उच्च सतर्कता अपनाएर दैनिक जनजीवनमा नयाँ सिकाइका साथ लड्नुनै छ भने किन तयार नहुने र ? आफू बाँचे संसार देख्न पाईन्छ। आफू बाँचे अरुलाई बचाउन सकिन्छ।
(परियार विवेकशील साझा पार्टीका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुन् ।)