आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आजको विशेष दिन आफ्ना सन्तानहरुले आफूलाई जन्म दिने ममताकी खानी आमासँग दिन व्यतीत गर्दै आमालाई मिठा मिठा खानेकुरा खुवाएर र विभिन्न उपहारहरु दिएर मनाउने गरेका छन् । नौ नौ महिनासम्म आफ्नो कोखमा राखेर कैयौं बाधा अड्चन खेपेर छोराछोरीका लागि भोक तिर्खा, सपनाहरु सबै त्याग गर्न तत्पर आमाको महिमा गाउन शब्दकोषमा कुनै पनि शब्द छैन ।
आजको विशेष दिन आफ्नी आमासँग व्यतित गर्ने ईच्छा हर कोहिलाई हुन्छ । तर संक्रामक रोग कोभिड १९ ले अहिले भयावह अवस्था श्रृजित भएको छ । दैनिक संक्रमित हुनेको संख्या मात्र नभईकन मृत्युुदर पनि बढिरहेको अवस्था छ । देशका प्राय जसो सबै क्षेत्रहरुमा निषेधाज्ञा लागू भएको छ र सबैलाई घर मै बस्न आह्वान गरिएको छ । त्यसैले आज सबैले आफ्नो घरमा बसेर आजको दिन मनाई राखेका छन् । तर त्यो सबैमा राष्ट्र र जनताका लागि अहोरात्र खटिने केही क्षेत्रका मानिसहरु अटाउन सकेनन् ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्माचारी लगायतका हरु दिन रात नभनिकन हाम्रा लागि खटिरहेका छन् । उनीहरु आफ्नो जन्म दिने आमाबाट आजको विशेष दिन पनि टाढा भएर हाम्रो लागि खटिरहेका छन् भने अवश्य पनि हामीहरुले पनि उनीहरु प्रती गरिने सम्मान र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने हुन्छ ।
आजको विशेष दिन पनि आफ्ना सबै ईच्छा, आकंक्षा, भोक, प्यास, आमाको काखमा बसेर आमासँग विशेष दिन मनाउने रहर सबै त्यागेर हाम्रो लागि यस्तो जटिल अवस्थामा पनि निरन्तर संक्रमितसँग नजिक रहेर खुल्ला हृदयका साथ एक आमाले सन्तानको हेरचाह गरे सरह बिरामीको हेरचाह गरि निरन्तर सेवा प्रदान गरिरहेका छन् । नर्सहरु भने उनीहरुलाई आजको दिन हामीले “आमा” को संज्ञा दिँदा पनि फरक नपर्ला ।
एक आमाको आफ्नो सन्तान प्रतिको मोह र यो घडीमा हाम्रो सेवामा हरदम तत्पर विशेष गरि संक्रमितका नजिकका पात्र स्वास्थ्यकर्मीको सेवा उस्ता उस्तै छ । संक्रमितलाई एक सन्तान सरहको व्यवहारले उनीहरू आफ्ना आमाहरुबाट पर भएर पनि कैयौं आमाहरु सेवा गर्न तत्पर रहेका छन् र उनीहरु त्यसमै आफ्नो खुसी देखिरहेका छन् ।
उनीहरु सबैलाई घरमा बस्न आव्हान गर्दै आफूँहरु निरन्तर आफ्नो सेवामा खटिरहेका छन् भने हामीहरुले पनि उनीहरुले भनेको मानेर घरमा नै बस्नु नै उनीहरुका लागि सम्मान र हौसला प्रदान गर्नु हो । हामीले पनि हाम्रो कर्तव्य पालना गर्दै घरमा बसेर उनीहरुलाई सहजता प्रदान गर्नु भन्दा ठूलो उपहार केही पनि हुन सक्दैन । घरमा बसौं । सुरक्षित रहौँ । आफुँ पनि बाचौँ । अरुलाई पनि बचाऔं ।