काठमाडौँ : नेपालको इतिहासमा महिला राष्ट्रपति छिन् । नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमा विराजमान छिन् । पहिलो महिला सभामुख ओनसरी घर्ती बनि सकिन् । नेपालको संविधान जारी भएपछि उनी सभामुख बनेकी थिइन् ।
नेपालको पहिलो सभामुखसँगै जनयुद्ध लडेकी सीता नेपाली भने भर्खर पहिलो दलित महिला मन्त्री बनेकी छिन् । नेपालको इतिहासमा उनी पहिलो अधिकारसम्पन्न दलित महिला मन्त्री बनेकी हुन् । संघीय सरकारमा उद्योग राज्यमन्त्री विमला विश्वकर्मा छिन् ।
तर 'फुल मिनिस्टर'का रुपमा सीता नेपाली पहिलो दलित महिला मन्त्री बनेकी हुन् । नेपालमा जातीय विभेदले कतिसम्म जरा गाडेको छ भन्ने हेर्न यही उदाहरण काफी छ । जबकी एउटा दलित महिलालाई अधिकारसम्पन्न मन्त्री बन्न गणतन्त्रमा १३ वर्ष लाग्यो ।
गणतन्त्रका लागि जनयुद्ध लडेको दाबी गर्ने माओवादीले दलित महिलालाई युद्धमा लडाएपनि मन्त्री बनाउन भने १३ वर्ष लगायो । संविधानमा राज्यका सबै निकाय समावेशी हुने उल्लेख छ । यो नारा चर्कोसँग उठाउने माओवादी नै हो ।
कर्णाली प्रदेश सरकार बनेको तीन वर्षपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले पहिलोपटक दलित महिलालाई मन्त्री बनाएका छन् । त्यो पनि मन्त्रालय फुटाएर । दलित समूदायको बाहुल्यता रहेको कर्णालीमा दलित समूदायबाट मन्त्री बनाउनैपर्ने माग चर्कोसँग उठेको थियो ।
आफैले उठाएको समावेशी नारा र मुद्दा पनि विस्तारै पहुँच, पैसा र शक्तिमा विलिन भएपछि माओवादीको आलोचना बढ्दै गयो । त्यसमाथि कर्णालीमा जातीय विभेदका घटना धेरै भए । रुकुम सोतीमा दलित युवाको नरसंहार भयो । दैलेखेमा सेते दमाईको हत्या भयो । कालिकोटमा मनवीर सुनार र मना सार्कीको हत्या भयो ।
दलित हत्याको घटना बढ्दै जाँदा माओवादीले प्रदेश सरकारमा दलितलाई मन्त्री बनाउनै नचाहेको आरोप लागेपछि मुख्यमन्त्री महेन्द्र शाहीले भौतिक विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय खडा गरेर सीता नेपालीलाई मन्त्री बनाएका हुन् ।
सीता नेपाली नेपालकै पहिलो महिला दलित महिला मन्त्री त बनिन् । अब उनले कसरी काम गर्छिन् ? त्यो हेर्न बाँकी छ । तर दलितले भोगेको विभेदको कथा भने सानो छैन ।
नेपालको पहिलो दलित महिला मन्त्रीको बाल्यकालदेखि अहिलेसम्मको राजनीतिक संघर्ष भिडियोमा प्रस्तुत छ :