कालिकोट : कोभिड विशेष अस्पताल मान्ममा आवश्यक दक्ष जनशक्ती नहुँदा भेन्टिलेटरसहितको आइसियु सेवा प्रयोगमा आउन सकेको छैन । कालिकोटमा भेन्टिलेटर सहितको आइसियु सेवा प्रयोगमा नआएपछि जटिल अवस्थाका बिरामीहरुलाइ जुम्ला लगायतका अन्य जिल्लामा रेफर गर्नु परेको हो ।
पहिलो लहरको कोभिड १९ संक्रमण फैलिएको बेला कालिकोटमा चार फुल भेन्टिलेटर र आइसियु बेड आएको थियो । अहिले चारवटै भेन्टिलेटर कोभिड अस्पतालमा जोडेर राखेका छन् ।
जनशक्तीको अभाव, अक्सिजन कन्सनट्रेटर पाइपलाइन नहुनु र नियमित विद्युत सेवा नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको निमित स्वास्थ्य सेवा ब्यवस्थापक कटक महतले बताए ।
कालिकोटमा अक्सिजन कन्सनट्रेटर मेसिन ५ वटा भएको र बिद्युत सेवा सहज हुने बित्तिकै सहजरुपमा संचालन हुने र अहिले पनि जेनेरेटर मार्फत प्रयोगमा आइरहेको महतले बताए ।
अहिले जिल्लामा भएको जनशक्तीले आठ वटा भेन्टिलेटर सहितको आइसियु वेड संचालन गर्ने अवस्था छैन । जनशक्तीको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला माग गरिएको व्यवस्थापक महतले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले तत्काल समस्या समाधान गर्न एक जना भेन्टिलेटर सहितको आसियु चलाउने स्टाप नर्स र विशेषज्ञ डाक्टर पठाउने कुरा भएको महतले सुनाए ।
तत्काल जनशक्ती थप गरिदिने बारे प्रदेश सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा समेत अनुरोध गरिएको छ । कोभिड अस्पताल मान्ममा अहिले दुई वटा मात्र अक्सिजन सिलिन्डर छन । प्रदेशबाट ३० वटा अक्सिजन सिलिन्डर भरेर ल्याउने तयारी भइरहेको महतले बताए ।
जनशक्तीको अभावले भेन्टिलेटर सहितको आइसियु सञ्चालन हुन नसकेको कुरा हामीलाई जानकारी आएपछी, मुख्यमन्त्रीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर मंगल रावललाई भनेर तत्काल डाक्टर पठाउन निर्देशन गरिसकेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आर्चायले बताए । कालिकोटमा हाल सक्रिय संक्रमितको संख्या २ सय ८६ जना छ । एक जना संक्रमितको भने मृत्यु भएको छ ।