सिमीकोट : जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले कोरोना परिक्षणमा संक्रमितको संख्या बढ्दै गएपछि वडा कार्यालयहरुद्धारा सम्पादन हुने सबै सेवा बन्द गरिएका छन् । दुई वटा वडामा कोरोना परिक्षण गर्दा सात जनाका कोरोना देखिएपछि अत्याबश्यक बाहेक सबै सेवा बन्द गरिएको हो ।
गाउँपालिकाको अगुवाईमा बसेको सर्वपक्षीय वैठकले सबै वडामा जडान गरिएका इन्टरनेट सेवा समेत एक साताका लागि बन्द गरेको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले बताइन् । अन्यत्र सो सेवा नभएको र इन्टरनेटको प्रयोगका लागि वडा कार्यालयहरुमा मानिसको भिड लाग्न थालेपछि संक्रमण बढ्न सक्ने निष्कर्ष निकाल्दै गाउँपालिकाले नियन्त्रणका लागि इन्टरनेट सेवा समेत बन्द गरिएको हो ।
त्यसैगरि संक्रमणबाट जोगिनका लागि अनिश्चित कालका लागि गाउँपालिकाका सबै सेवा बन्द गरिएको उनले बताईन । गाउँपालिकाले आयोजना गरेको सर्वपक्षिय बैठकको निर्णय अनुसार तत्कालैं लागू हुने गरि गाउँपालिकाका सबै काम बन्द गर्ने निर्णय गरेकोे हो । गाउँपालिकाले एन्टिजीन किटमार्फत गत शनिबार देखि शुरु गरिएको परिक्षणमा सात जनामा सक्रमण पुष्टि भएपछि गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको हो ।
अर्को वडामा जान सिफारिस अनिवार्य
बन्दको समयावधीमा वडा अध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन र जान पाउने निर्णय कार्यान्वयनमा आएको उपाध्यक्ष ऐडी जानकारी दिईन । त्यसैगरि आगामी जेठ ९ गतेसम्म गाउँपालिका भित्रका सबै होटेल, पसललाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । यो अवधीमा मेसिनले गर्ने काम बाहेक अन्य सबै विकास निर्माणका कामलाई समेत तत्कालका लागि रोक लगाईएकोे छ ।
यसले गर्दा हुम्लामा संक्रमणलाई रोक्न सक्ने जनप्रतिनिधिको भनाई छ । थोरै समयका लागि भएपनि संक्रमण रोक्न यो सिफारिस अनिवार्य गरिएको जनप्रतिनिधिको भनाई छ ।
गाउँपालिका किट आउदै
यसअघि जिल्ला स्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएका चालीस वटा एन्टिीजिन किटबाट कारोना परिक्षण गरिएको थियो । गाउँपालिकाले आफ्नो लगानीबाट खरिद गरेका उक्त किटहरु सुर्खेतबाट ढुवानी सुरु भएको र अब दुई दिनमा गाउँपालिकामा पुग्ने गाउँपालिकाले जनाएको छ । सो किट आई पुगेपछि परिक्षणको दायरा बढाईने भएको छ ।