काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा २ हजार ३ सय ६ जनाको ज्यान जाँदा मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको हो ।
कोरोनाबाट ज्यान गुमाउने सबैभन्दा धेरै इटालीमा छन । जहाँ अहिलेसम्म ७ हजार ३ सय ५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ सय ८३ जनाले मृत्यवरण गरेका छन । इटालीपछि स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । जहाँ पछिल्लो २४ घण्टामा ६ सय ५६ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
स्पेनमा ज्यान गुमाएको संख्या चीनको भन्दा धेरै हो । चीनमा अहिलेसम्म ३ हजार २ सय ८७ जनाले ज्यान गुमाएका छन । स्पेनपछि इरानमा २ हजार ७७ जनाले ज्यान गुमाउँदा फ्रान्समा १ हजार ३ सय ३१ को मृत्यु भएको छ ।
अमेरिकामा फैलिदो संक्रमण
विश्वकै शक्तिशाली देश अमेरिकामा पनि कोरोना संक्रमणको दर उच्च छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ११ हजार १ सय ९२ जना नयाँ बिरामी फेला परेका छन ।
बढ्दो संक्रमण दरकै कारण अमेरिकामा अहिलेसम्म कूल ६६ हजार ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जुन चीन र इटालीपछिको सबैभन्दा धेरै हो । चीनमा ८१ हजार र इटालीमा ७४ हजार बढी कोरोना संक्रमित छन ।
कोरोनाबाट अमेरिकामा अहिलेसम्म ९ सय ४४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ सय ६४ जनाले ज्यान गुमाएका छन । अमेरिकामा एक नेपालीको पनि कोरोनाका कारण ज्यान गएको थियो ।
भारतमा मृत्यु हुनेको संख्या १२ पुग्यो
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन । यससँगै भारतमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । यसअघि बुधबारसम्ममा १० जनाको ज्यान गएको थियो । लकडाउन गरेपछि पनि भारतमा कोरोना संक्रमणको दर बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ सय २१ जना नयाँ बिरामी फेला परेका छन । यससँगै कोरोना संक्रमित ६ सय ५७ जनाको भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भारतपछि श्रीलंकामा अहिलेसम्ममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अफगानिस्तानमा ८४ जना कोरोना संक्रमितमध्ये २ जनाले ज्यान गुमाएका छन भने १० जना नयाँ बिरामी देखिएका छन ।
बंगलादेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ एक जनको मृत्यु भएको छ भने ३९ जना संक्रमित छन । भुटानमा अहिलेसम्म २ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा एक जना नयाँ बिरामी फेला पर्दा अहिलेसम्म ३ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन ।
८४ प्रतिशत संक्रमित उपचारपछि घर फिर्ता
विश्वभर कोरोना बिरामी बढेसँगै यसको उपचार भएर सञ्चो हुने दर पनि बढ्दो छ । अहिलेसम्म विश्वभर ४ लाख ६८ हजार ९ सय ५ जनामा कोरोना पुष्टि हुँदा २१ हजार २ सयको ज्यान गएको छ । कोरोना संक्रमितमध्ये १ लाख १४ हजार २ सय १८ जना उपचारपछि घर फर्किएका छन ।
कोरोनाको संक्रमणदर बढेपनि मृत्युदर भने घट्दो क्रममा छ । अहिलेसम्म ९६ प्रतिशत संक्रमितमध्ये ४ प्रतिशत गम्भिर अवस्थामा छन । बिरामीमध्ये ८४ प्रतिशत सञ्चो भएर घर फर्किरहेका छन भने १६ प्रतिशतले ज्यान गुमाइरहेका अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन ।