८ जेठ, मुगु : महामारी कोरोनाको दोस्रो लहरले जताततै भयावह बनाएको छ । यसलाई मध्यनजर गर्दै मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा संकलन गर्न रोक लगाएको छ । २ जेठमा बसेको कार्यपालिकाले बैठकले यार्सागुम्बा संकलनमा रोक लगाउन निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थबहादुर कठायतले जानकारी गराए ।
उनकानुसार यस वर्ष बैशाख १८ गते यार्सागुम्बा संकलन गर्न गाउँपालिकाले खुल्ला गर्ने निर्णय गरेको थियो । तर, कोभिडले भयावह रुप लिएपछि गाउँपालिकाले बन्द गरेको हो । कर्णालीका हिमाली जिल्लामा पाइने यार्सागुम्बा यहाँको मुख्य आयस्रोत हो । मुगुमा पाइने यार्सागुम्बा संकलन गर्न विभिन्न जिल्लाहरुबाट आउने गरेका छन । आवत जावतले गर्दा पनि कोभिडको दर बृद्धि भएपछि यार्सा टिप्नमा रोक लगाएको अधिकृत कठायतको भनाइ छ ।
मुगूम कार्मारोङ गाउँपालिकाको निर्णयनुसार सानो कोईकी , ठूलो कोईकी, हाङदाङ खोला , छापाखोला , डोल्फु पाटन, रिमाट, लगायत दर्जनौं यार्सागुम्बा पाइने पाटनहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । यार्सागुम्बा टिप्न जुम्ला, डोल्पा, जाजरकोट, दैलेख, रोल्पा, रुकुमपश्चिम, सल्यान, सुर्खेत, कालिकोट लगायतका जिल्लाहरुबाट थुप्रै मानिसहरु आउने गरेका छन । त्यसले गर्दा कोरोना झनै बढ्ने सम्भावनाले गाउँपालिकाले अन्तिम बन्द गर्ने निर्णय लिएको अध्यक्ष छिरिङ्को भनाइ छ ।