काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमा चलचित्र निर्माता सन्तोष सेनले एउटा तस्बिर पोष्ट गर्दै लेखेका छन, "घरभित्रै बस्ने की देशलाई इटालीको हालतमा पुर्याउने ?" उनको जस्तै प्रश्न अहिले धेरैले गरिरहेका छन । अनि यस्तो महामारीको बेला घरभित्रै बस्न आग्रह गरिरहेका छन ।
यो आग्रह सामाजिक सञ्जालमा केही मानिसले मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गरेका छन । फेसबुक तथा ट्वीटरमा एउटा तस्बिर पोष्ट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन, "म घरमै बसेर देश सञ्चालन गरिरहेको छु । तपाई पनि घरमै बस्नुहोस ।" सन्देश यस्तै यस्तै छ ।
चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरसले युरोपलाई आज तहसनहस पारिदिएको छ । चीनमा फैलिदासम्म युरोपका धेरै देशलाई हाइसञ्चो थियो । युरोपियनहरु हामीकहाँ कोरोना आउँदैन र आइहालेपनि त्यसबाट सजिलै जोगिन सकिन्छ भन्ने भ्रम राख्थे । तर अहिले ठीक उल्टो परिणाम आइरहेको छ ।
विश्वकै समृद्ध र विकसित ठानिएका इटाली र स्पेनको हालत सम्झिन लायक छैन । दैनिक झण्डै ६ सय भन्दा धेरैले ज्यान गुमाइरहेका छन । कोरोनाबाट ज्यान गुमाउने मामलामा स्पेन र इटालीले चीनलाई नै उछिनिसकेका छन ।
चीनमा अहिलेसम्म ३ हजार २ सय ८७ जनाले मात्रै कोरोनाबाट ज्यान गुमाए । चीनले कोरोना नियन्त्रणमा यति धेरै शक्ति खर्चिएको छ की, वुहान राज्यबाट बाहिर फैलिन दिएको छैन । वुहान राज्यमै नियन्त्रित र सिमित पार्न सक्नु चीनको सफलता हो ।
जसलाई विश्वभरका मानिसले प्रशंसा गरिरहेका छन । अर्बौ जनसंख्या भएको चीनमा बार्षिक एक करोड मानिसले कृत्रिम तथा प्राकृतिक रुपमा ज्यान गुमाउँदा कोरोनाका कारण ३२ सय मान्छे गुमाउनु चीनका लागि नौलो होइन ।
यति मात्रै होइन, चीनले आफ्नै देशबाट फैलिएको कोरोनालाई नियन्त्रित गरेर विश्वलाई सर्वशक्तिमान देशको स्वास्थ्य सेवाको उत्कृष्ट नमूना पेश गरेको छ ।
तर ठीक उल्टो विश्वकै पहिलो सभ्यताको उद्गमस्थल इटालीको भने कोरोनाले हरिबिजोग पारिदिएको छ । जहाँ एक महिनाको फरकमा साढे ७ हजार मानिसले ज्यान गुमाइसकेका छन । युरोपकै प्रतिष्ठित देश स्पेनमा पनि कोरोनाका कारण ३ हजार ६ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।
शूरुमा कस्तो थियो इटाली ?
यो समाचार तयार पार्दासम्म नेपालको अवस्था स्पेन र इटालीको शुरुवातको जस्तो छ । जहाँ शुरुमा औलामा गन्न सकिने कोरोना संक्रमित थिए । नेपालमा दुई जनामा कोरोना संक्रमण छ । शुरुवातमा कोरोना संक्रमित देखिनेवित्तिकै इटालीले देशलाई लकडाउन गरिदियो । तर नागरिकले त्यसलाई मानेनन् ।
उनीहरुले पश्चिमाकै उदार शैलीमा मान्छेहरुलाई भेट्दै हग गर्दै, मन मिलेसम्म यौन सम्बन्ध राख्दै, रेष्टुरेन्टमा घण्टौ बिताउँदै लकडाउन उल्लंघन गरे ।
परिणास्वरुप आज इटालीको हालत विश्वको सबैभन्दा खराब देशको जस्तो छ । दैनिक सयौ जनाले ज्यान गुमाइरहेका छन । औषत आयु सबैभन्दा राम्रो रहेको इटालीमा धेरै बृद्धबृद्धाले ज्यान गुमाइरहेका छन । कोरोनाको संक्रमणबाट गुज्रिएका कैयौँ बिरामीले अक्सिजनसम्म पाउन सकेका छैनन ।
कोरोनाबाट संक्रमित नागरिक मात्रै होइन, चिकित्सक र नर्सको अवस्था पनि उस्तै छ । अरुलाई उपचार गर्दागर्दै उनीहरु आफैलाई गुमाइरहेका छन । ज्यान जोखिममा राखेर उपचार गरिरहदा अरुलाई सार्ने गरेको आरोप पनि इटालीका चिकित्सक तथा नर्सले खेपिरहेका छन ।
आज इटालीका धेरै मानिस सम्झिन्छन, शुरुको अवस्था । सरकारको लकडाउन घोषणा । अनि आफ्नो विन्दास जीवन । तर मात्रै दुई हप्तामा इटाली तहसनहस भएको छ । धेरैले आफन्त गुमाएका छन । बाहिर निस्कन पूर्ण रुपमा बन्देज लगाइएको छ । र पनि मान्छेहरुले ज्यान गुमाइरहेका छन ।
देश स्तब्ध भएका बेला इटालीका राजनीतिकर्मी, व्यापारी, खेलाडी लगायत प्रतिष्ठित मानिसहरु घरमै बसेर यो महामारीको सामना गर्नुबाहेक अर्थोक गर्न सकिरहेका छैनन । आफू जसोतसो सुरक्षित रहेपनि आफन्त, साथीभाईको हालत खराब देखेर आँशुमा दिन बिताइरहेका छन ।
स्थिती नियन्त्रणभन्दा बाहिर गएपछि इटालीका प्रधानमन्त्री कोन्टेले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कनेलाई तीन हजार युुरो जरिवाना तिराउने घोषणा गरेका छन । लकडाउन उल्लंघन गरेरै यो अवस्था आएकाले इटाली सरकारले स्थिती काबुमा राख्न होम क्वारेन्टाइनलाई कडाई गर्न सजाय र जरिवाना बढाएको छ ।
स्पेनको हालत पनि उस्तै ?
इटालीको जस्तै हालत स्पेनको पनि छ । केही समय पहिलेसम्म मेस्सी र रोनाल्डोले खेल्ने ला लिगा अहिले बन्द छ । रियल मड्रिड छाडेर रोनाल्डो सिरी ए क्लब युभेन्ट्स पुगेपछि स्पेन मेस्सीको जादुमा सिमित थियो । तर पनि स्पेनिसहरु फुटबल हेरेरै रमाइरहेका थिए ।
कोरोनाका कारण रोनाल्डोले खेल्ने सिरी ए बन्द हुँदा स्पेनिसहरु खासै दुःखी थिएनन । किनकी बार्सिलोनाका सदाबहार नायक मेस्सीमा स्पेन खुशी थियो । तर यो खुशी लामो समय टिकेन । यसकारण की स्पेन पनि इटालीको भन्दा फरक थिएन ।
जीवनलाई व्यवस्थित पारेर शानदार बनाउने उनीहरु स्वास्थ्यसँग गम्भिर र सतर्क थिए । तर उनीहरुले इटालीकै शैलीमा खुलेआम हिड्ने, हग गर्ने, रेष्टुरेन्टमा रक्सी खाने, राम्रो पार्टनरसँग समय बिताउने बानी छाडेनन् । शुरुमा केही मानिसमा संक्रमण देखिएपनि उनीहरुले आफूलाई सम्हाल्न सकेनन ।
परिणाम आज सबैसामु छर्लंग छ । कोरोनाबाट ज्यान गुमाउने मामलामा स्पेनिसहरुले पनि चिनियालाई उछिनिसकेका छन । बिहीबारसम्ममा स्पेनमा ३ हजार ६ सय बढीको ज्यान जाँदा चीनमा ३ हजार २ सय ८७ जनाले मात्रै ज्यान गुमाएका छन ।
चीनले कोरोनालाई आफ्नो काबुमा राखिसक्दा इटाली र स्पेनमा भने त्यो नियन्त्रण बाहिर छ । यो पक्कै पनि राम्रो होइन । इटाली, स्पेनपछि अमेरिकामा पनि डरलाग्दो अवस्था छ । जहाँ यो समाचार तयार पार्दासम्म ९ सय ४४ जनाको ज्यान गएको छ । तर संक्रमण दर नियन्त्रणभन्दा बाहिर गइसकेको छ ।
इटालीमा ७४ हजार बढी संक्रमित हुँदा अमेरिकामा ६६ हजार बढी संक्रमित छन । स्पेनमा झण्डै ५० हजार संक्रमित छन । तीन वटै देशमा नाकाबन्दी छ । सीमा बन्द गरिएको छ । मानिसहरुलाई घरबाहिर निस्कन दिइएको छैन । तर पनि कोरोना भाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले फैलिदो छ ।
अब हामी घरभित्रै बस्ने की देशलाई स्पेन र इटालीको हालतमा पुर्याउने ?
नेपालको अहिलेको अवस्था सामान्य छ । यो समाचार तयार पार्दासम्म जम्माजम्मी तीन जनामा संक्रमण पुष्टि भएको छ । एक जनालाई सञ्चो भइसकेको छ भने संक्रमित दुई जनाको अवस्था खतरामुक्त रहेको टेकु अस्पतालका चिकित्सकले बताएका छन ।
संक्रमण पुष्टि भएका बिरामीका आफन्त, सम्पर्कमा रहेका अरु व्यक्तिको पनि परीक्षण गरेर अवस्थालाई अझ सुरक्षित पार्न खोजिएको छ । संक्रमण फैलिने डरले सरकारले भारत र चीनतर्फका नाका बन्द गरेको छ । यद्यपी चीनबाट सामान ल्याउन रसुवागढी र तातोपानी नाका केही दिनका लागि खोलिएको छ ।
सबै अन्तराष्ट्रिय उडान र अतवरण बन्द गरिएको छ । यातायातका साधन, बजार, पसलमात्रै होइन, बाहिर हिडडुल नगर्न र घरमै सुरक्षित बस्न सरकारले बारम्बार आग्रह गरिरहेको छ ।
यस्तो अवस्थामा हामी अब केही दिनका लागि वा यो भाइरस नियन्त्रणमा नआउँदासम्म घरभित्रै सुरक्षित बस्यौ, सरकारले भनेको मान्यौ अनि आफू र आफ्ना आफन्तलाई बाहिर जान दिएनौ भने हामी जोगिन्छौ । फेरि खुशी हुन्छौ । आरामको जीवन बाच्छौ ।
तर यदि सरकारले लकडाउन गर्दा पनि बाहिर निस्कियौ, भनेको मानेनौ, रुघाखोकी र ज्वरो आउँदा पनि परीक्षण नगराई बाहिर डुल्दै गयौ भने आफू मात्रै होइन आफनो परिवार, गाउँ समाज र छरछिमेकीलाई महामारीमा धकेलेर अकाल मृत्युवरण गर्न पुग्नेछौ । अनि हाम्रो देश नेपाल अहिलेको इटाली, स्पेन र अमेरिकाकै हालतमा पुग्नेछ ।
त्यसैले साच्चै छातीमा हात राखेर सोचौ, अब पनि हामी घरभित्रै बसेर सुरक्षित बन्ने की देशलाई इटाली र स्पेनको हालतमा पुर्याउने ? यो निर्णय तपाईको हातमा छ । अनि तपाईको निर्णयमा आफ्नो जीवन र देशको भविष्य निर्भर छ ।