९ जेठ, सिमकोट : हुम्लाका सात गाउँपालिका मध्ये छ वटामा कोभिड संक्रमण फैलिएको छ । गएको वैशाख १९ गतेदेखि हुम्लामा संक्रमण पुष्टिको दोस्रो लहर सुरु भयो । दोस्रो लहरको संक्रमण हुम्लाको छ वटा स्थानीय तहमा फैलिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाकी अनमी सरिता बोहराले जानकारी दिइन ।
बोहराकानुसार हालसम्म परिक्षण नभएर कोरोना नदेखिएको खार्पुनाथ गाउँपालिकामा परिक्षणसंगै चारजनालाई कोभिड संङ्क्रमित देखिएको हो । पैदल मार्गबाट मानिसको आवत जावत नरोकिएको कारण पनि कोभिडको बृद्धि दर पनि उत्तिकै रहेको स्वास्थ्य संयोजक बलिराज शाहीले बताए ।
हाल संक्रमित देखिएका मध्ये धेरैजसो जिल्ला बाहिरबाट आएका वा बाहिरबाट आएका मानिसका घरका व्यक्तिलाई कोरोना देखिएको छ । यी छ वटा गाउँपालिकामा तीन हप्तायता संक्रमितको संख्या १०३ पुगेको छ ।
चंखेली गाउँपालिकामा संक्रमितको संख्या २५ रहेको छ । आईतवार जिल्ला अस्पतालमा गरिएको परिक्षणमा दुई जना थपिए पछि कुल संक्रमित मध्ये सिमकोट गाउँपालिकामा संक्रमितको संख्या २३ जना पुगेको छ । सर्केगार्ड गाउँपालिकामा १४ जना, अदानचुली गाउँपालिकामा आठ जना र ताँजाकोट गाउँपालिकामा २९ जनामा पुष्टि भएको छ । अस्पतालका बिरामी मध्ये एक जनालाई जटिलता देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।
अब जिल्लाका छ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमकोट स्थित रानी बनको आइसोलेसनमा ७९ जना संक्रमित रहेका छन । उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
हालसम्म सिमकोट ताजाँकोटका गरि २४ जना कोरोना जितेर घर फर्केका छन । भने, कोरोनाको दोस्रो लहर नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जना यात्रृुको सिमकोट विमानस्थलमा कोरोना परिक्षण गर्दा पहिलो पटक बैशाख १९ गते पुष्टि भएको थियो । पछिल्लो समय दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालयले कोभिड परिक्षण गरिरहेको हुँदा संक्रमितको दर पनि तीव्र रुपमा बढ्दै गएको छ । योसँगै हुम्लामा संक्रमितको संख्या एक सय नाघेको हो ।