काठमाडौँ : पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबमा आदर्श मिश्राको भिडियो चर्चित छ । कोभिड १९ महामारीमा हजारौको ज्यान गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली उदासिन भएको भन्दै मिश्राले आफ्नै फेसबुक पेजमा चर्को असन्तुष्टि पोखेका थिए ।
के हामी नेपाली चुतिया हो र ? भन्दै उनले गरेको कमेडी स्टाइलको वास्तविक भिडियो लाखौँले हेरेका छन् । यही भिडियोबाट आदर्श मिश्रा चर्चित मात्रै भएका छैनन्, नागरिकको वास्तविकता राम्रोसँग राख्न सक्ने सेलिब्रेटी कमेडियन बनेका छन् ।
युवा अवस्थामै रहेका आदर्शको फ्यान फ्लोइङ बढ्दै गएको छ । बाराको जितपुर घर भएका उनको कमेडी रुचाउने धेरै दर्शक छन् । युवा पुस्ताको समस्यालाई राम्रोसँग पस्किने उनले सुरुमा मेमे नेपालबाट चर्चा बटुलेका हुन् ।
मेमे नेपालको पेज लगायतका फेसबुक पेजमा उनी भिडियोमार्फत कमेडी गर्थे । जसबाट उनी नोटिस भए । आफ्नो कमेडीको स्वाद पस्के । पहिलोपटक कमेडी च्याम्पियनमा समेत भाग लिएका आदर्श त्यसपछि धेरै दर्शकको नजरमा परेका हुन् ।
कमेडी च्याम्पियनमा उनले आफ्नो क्षमता देखाएपनि उनलाई मधेसी भन्दै धेरैले विभेद गरे । जसप्रति उनको अहिले पनि विमती छ । कमेडी च्याम्पियनका जज सन्तोष पन्तले नै उनीमाथि विभेद गरेका थिए । नेपालमा सबैभन्दा बढी विभेद गर्ने व्यक्तिमध्येमा पन्त पर्ने आदर्श बताउँछन् ।
आदर्शका बुवा बिनोद मिश्रा जितपुरमा रहेको नगौल निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । तर उनी मिर्गौलाका बिरामी छन्। जसले गर्दा आदर्शले पनि बुवासँगै थुप्रै सास्ती झेलेका छन् ।
बुवाको मृगौला डायलासिसका लागि थुपै पटक अस्पताल पुग्दा उनी विभेदको शिकार भएका छन् । उनले बुवाको डायलासिस गर्ने प्रयास गर्दा नेपाली नागरिक नभएको पीडा झेलेका छ्न । किनकी उनकी आमा भारतीय नागरिक हुन् ।
आमा भारतीय भएकै कारण थुप्रैपटक आदर्शले भारतीय भएको आरोप खेपेका छन् । सोही कारण पनि आदर्श आफूलाई नेपाली नागरिक बनाउन लागि परेका छन् । उनी आफू मधेसी हुँदा जुन पीडा र विभेद झेलिरहेका छन् । त्यसका विरुद्ध लागिरहेका छन् ।
त्यति मात्रै होइन, जितपुर नगरपालिकामा भइरहेको विकृति र विसंगीतविरुद्ध उनी बोलिरहेका छन् । आवाज उठाइरहेका छन् । केही दिनअघि जितपुर नगरपालिकामा एम्बुलेन्स बिग्रेर थन्किएको भिडियो उनले फेसबुकमा हालेर सयौँ फ्लोअर बढाएका छन् । उनी विकृति विरुद्ध बोल्छन् । वास्तविकतालाई कमेडी स्टाइलमा सबैमाझ ल्याएर युवा सेलिब्रेटी बनिरहेका छन् ।