काठमाडौ । सुर्खेतको चौकुने गाउँपालिकाले छिमेकी देश भारतबाट फर्केकालाई कम्तीमा १५ दिन घरमै बस्न आग्रह गरेको छ । अहिले विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ को महामारी फैलिएकाले भारतबाट आएकालाई कम्तीमा १५ दिन घरमै होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले आग्रह गरेको हो ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले विज्ञप्ती निकालेर कोरोना भाइरसको संक्रमण भारतमा फैलिएपछि नेपालीहरु आफ्नो घर आएकामा कम्तीमा १५ दिन घरमा छुट्टै बसेर यो भाइरस फैलिन नदिन आग्रह गरेका हुन ।
"हामी सबैले कोरोना भाइरसविरुद्ध सुरक्षात्मक कार्यविधि अपनाउन जरुरी छ", अध्यक्ष शाहीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, "भारतबाट आएका दाजुभाई तथा दिदीबहिनीहरु कम्तीमा पन्ध्र दिन होम क्वारेन्टाइन (घरमा एक्लै) बस्नहुन अनुरोध गर्न चाहन्छु ।"
कोरोना भाइरस फैलिन नदिन साबुनपानीले राम्रोसँग हात धुन, घरबाहिर हिड्दा वा घरमा आउँदा स्यानिटाइजरको प्रयोग गर्न, मुखमा मास्क र हातमा ग्लोब्स लगाउन पनि गाउँपालिले आग्रह गरेको छ ।
कोरोना भाइरसबाट जोगिन र बिरामीको उपचारमा सलंग्न स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई मास्क, ग्लोब्स, ह्याण्डवास, स्यानिटाइजर, डिजिटल थर्मोमीटर लगायत आवश्यक सुरक्षा सामग्री प्रदान गरिएको पनि गाउँपालिकाले विज्ञप्तीमार्फत जनाएको छ ।
कोरोनाका लक्षण देखिए तुरुन्तै फोन गर्नु
कोरोनाको संक्रमण फैलिन नदिन गाउँपालिकाले विशेष टिम नै निर्माण गरेको छ । भारत तथा अन्य ठाउँबाट आएका व्यक्ति वा गाउँभित्रैकालाई लगातार रुघाखोकी लागे, १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो आए, सास फेर्न गाह्रो भए तुरुन्तै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डे (९८५८०५५१०१)लाई फोन गर्न आग्रह गरिएको छ ।
गाउँमा आफूलाई वा अरुलाई कोरोना संक्रमणको आशंका भएमा खबर गर्न तथा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन पनि गाउँपालिका अध्यक्ष शाहीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कोरोनाबारे केही अन्यौल भए, आफू वा अरु कुनै व्यक्तिमा शंका लागेमा पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शखा प्रमुखलाई फोन गरेर जानकारी दिन सकिने चौकुने गाउँपालिकाले जनाएको छ ।
अहिलेसम्म नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएपछि सरकारले गएको मंगलबारदेखि नै लकडाउन गरेको छ । कोरोना संक्रमित भेटिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारत लगायतका देशबाट आएका व्यक्तिका बारेमा सुचना, निगरानी र विवरण राख्न गाउँपालिका, नगरपालिकाका वडाहरुलाई परिपत्र गरेको छ ।
चौकुने गाउँपालिकाले जारी गरेको प्रेस अपील