काठमाडौँ : नारायणी अस्पतालमा मेशिन बिग्रेपछि युवा कमेडियन आदर्श मिश्राले दुखी हुँदै आफ्नो बुवाको डायलासिस गर्न समस्या भएको बताएका थिए । यो तीन दिनअघिको कुरा हो । अस्पतालमा भएका दुईवटै मेशिन बिग्रेपछि डायलासिस नहुने र मेशिन बनाउन पोखराबाट इन्जिनियर आउनुपर्ने बताएका थिए ।
तर तीन दिनपछि न पोखराबाट इन्जिनियर आए । न त बिग्रेको मेशिन बन्यो । सबै नेपालीलाई दुःखी बनाउने खबर आयो, डायलासिस गर्न नपाएपछि आदर्शले आफ्ना बुवालाई गुमाए । बुवा बिनोद मिश्राको मृगौला बिग्रेपछि डायलासिसको भरमा उनी बाच्दै आएका थिए ।
कोरोना महामारीको लकडाउनपछि डायलासिस गराउन झन् समस्या भयो । समस्या मात्रै भएन । डायलासिस गराउनै बन्द भयो । डायलासिस गराउन समस्या भएपछि आदर्शका बुवाले संसार छाड्नुपर्यो । यो कुरा तीन दिनअघि नै आदर्शले आफ्नो भिडियोमा बताएका थिए ।
डायलासिस मेशिन बिग्रेपछि बुवाको अगाडि आफु मुख देखाउन लायक नरहेको दुःख उनले पोखेका थिए । अस्पतालले मेशिन बिग्रेपछि डायलासिस नहुने जानकारी दियो । तर विकल्प दिन सकेन । जसकारण आदर्शले आफ्ना बुवालाई गुमाउनुपर्यो ।
आमा भारतीय भएका कारण आदर्शका बुवाले केही वर्षअघि शिक्षण अस्पतालमा मृगौला फेर्न सकेका थिएनन् । त्यस दिनबाटै आदर्श आफू नेपाली हुन नसकेको र भारतीय भनेर विभेद खेपिरहेको गुनासो गर्दै आएका थिए ।
आज सोही कारण उनले आफ्ना बुवा गुमाउनु परेको छ । बुवा गुमाएपछि आदर्शलाई यतिबेला सामाजिक सञ्जालमा सहानभूति प्रकट भइरहेको छ । कतिपयले राज्यलाई भन्दा पनि विकल्प नदिएर बुवाको हत्या गरेको भन्दै सरकारविरुद्ध अदालतमा मुद्दा हाल्न आदर्शलाई सुझाव दिएका छन् ।
भिडियोमा हेर्नुहोस वास्तविकता