१२ जेठ, खलंगा : कोभिड संक्रमणको दोस्रो लहर बढ्दै गएको छ । महामारी कोभिडको बेला जुम्लामा तीन सातादेखि दूध बिक्री हुन छाडेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गरेपछि गाउँमा उत्पादन भएको दूध बजार नपाई थन्किएको हो ।
गुठिचौर गाउपालिका–५ का व्यवसायिक किसानले सदरमुकाम खलंगामा दैनिक ४० देखि ५० लिटर दूध पुर्याउँदै आएका थिए । तर खलंगाका सबै डेरी बन्द भएपछि दूध बिक्री हुन छाडेको हो । ‘स्थानीय प्रशासनले हिँडडुलमा समेत कडाइ गर्यो,’ भैंसीपालक कृषक विष्णु धितालले भने, ‘महामारीका कारण मानिस दूध किन्नै डराउन थाले ।’ उनले निषेधाज्ञाका कारण दैनिक ५० लिटर दूध घरमै थन्क्याउनुपरेको बताए ।
उनले सात वर्षदेखि गाउँमै व्यवसायिक भैंसीपालन गरिरहेका छन् । गुठिचौरकै नारायण धितालले आफूहरूकै मुख्य पेसा भैंसीपालन भए पनि लकडाउनका कारण समस्या भएको बताए । ‘दूग्धजन्य पदार्थ पनि अत्यावश्यक सेवामै परे पनि प्रशासनले ओसारपसारमा रोक लगाएको छ,’ उनले भने, ‘दैनिक ५० लिटर दूध घरमै थन्क्याएर के गर्ने’
व्यावसायिक पशुपालनकै रकमबाट जीविकोपार्जन गर्दै आएका किसानलाई दूध बिक्री नभएपछि साँझ–बिहानको खर्च टार्न मुस्किल भएको अर्का किसान कमल धितालले बताए । उनको व्यावसायिक फार्मबाट दैनिक ४० लिटर दूध उत्पादन भइरहेको छ । उनले दूध बिक्री नहुँदा भैंसीलाई दाना–पानी खुवाउन पनि समस्या भएको गुनासो गरे । ‘खर्च दिन प्रतिदिन बढ्दै गएको छ, दूध बिक्री हुँदैन, कसरी जीविकोपार्जन गर्ने रु,’ उनले भने, ‘दूधका अन्य परिकार बनाउने सीप र उपकरण नहुँदा दैनिकजसो दूध खेर गइरहेको छ ।’
सरकारी जागिर छाडेर २०६२ देखि भैंसीपालन गर्दै आएका किसान विष्णु धितालले दूध बेचेरै महिनामा एक लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका थिए । ‘अहिले त कमाइ शून्य छ,’ उनले भने, ‘बिक्री नभएपछि आजभोलि दैनिक ५० लिटर दूध खेर गइरहेको छ ।’ उनले खलंगामा दूध र दुग्धजन्य सामग्री बिक्री गरेर दैनिक ३ हजार ५ सय रुपैयाँसम्म कमाइरहेका थिए । खलंगा बजारमा प्रतिलिटर ७० रुपैयाँमा दूध बिक्री भइरहेको छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन दैनिक अनिवार्य दूध खान आवश्यक रहे पनि निषेधाज्ञाले उपभोक्ता र किसान दुवै मर्कामा परेको स्थानीय अगुवा अनिल देवकोटाले बताए । अघिल्लो वर्षको लकडाउनका बेला स्वास्थ्य मापदण्ड पालना गरी किसानले दूध बिक्री गरेका थिए । यस पटकको दोस्रो भेरियन्टको कोरोना खतरनाक भएकाले र संक्रमितको संख्या बढ्दै गएकाले दूध बिक्री वितरणमा पनि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । ‘अहिले सबैलाई संक्रमणबाट बचाउनु नै पहिलो काम हो,’ उनले भने, ‘थप संक्रमण फैलन नदिन कृषिजन्य उत्पादनको बिक्री वितरण रोकिएको हो ।’
'एलपी देवकोटाले तयार पारेको यो सामग्री हामीले इकान्तिपुरबाट लिएका हौं'