जाजरकोट : सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले जाजरकोटको छेडागाड नगरपालिकामा राहत वितरण गरेका छन् । बुधबार सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले झण्डै एक करोड रुपैयाँ बराबरको राहत वितरण गरेका हुन् ।
कोभिड महामारीको जोखिममा परेका अति विपन्न ८२२ घरधुरीलाई प्रति परिवार १० हजार ८ सय रुपैयाँ बराबर गरेर जम्मा ८८ लाख रुपैयाँ पर्ने खाद्यान्न वितरण गरिएको सेभ द चिल्ड्रेनका परियोजना संयोजक मतिलाल ढकालले जानकारी दिए ।
उनका अनुसार हात धुने साबुनदेखि छाक टार्ने चामल, दाल, नुन, तेल, चिनी लगायत खाद्यान्न सामग्री राहतका रुपमा वितरण गरिएको हो । चामल १०० किलो, दाल ५ किलो वितरण गरिएको हो । छेडागाडका १३ वटै वडाका २६ सय बालबालिकासहित झण्डै पाँच हजार घर परिवार अवसर यस राहत कार्यक्रमबाट लाभान्वित भएका परियोजना संयोजक ढकालले बताए ।
राहत वितरण कार्यक्रममा पाँचतारा युवा संरक्षण मञ्चका कार्यकारी निर्देशक छवि पन्तले एउटा पालिकामा राहत दिएपनि अरु पालिकामा पनि सहयोग आवश्यक रहेको बताए ।
'नियमित कामकाजका साथमा महामारी विपतलाई सामना गर्दै अगाडि जानु संघ संस्थाको दायित्व हो' उनले भने, 'हामीेले एउटा पालिकामा सहयोग गरेका छौँ । अन्य पालिकामा पनि खाद्यान्न सहयोग आवश्यक छ । त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।'
छेडागाड नगरपालिकाका मेयर लालबहादुर महताराले राहतले नगरपालिकाका विपन्नलाई ठूलो खाद्यान्न संकट टार्न सहयोग गरेको भन्दै दुवै संस्थालाई धन्यवाद दिएका थिए ।
सेभ द चिल्ड्रेन बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्था हो । जाजरकोटको पाचतारा युवा संरक्षण मञ्च विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका रुपमा परिचित छ ।