काठमाडौँ : भनिन्छ, ‘वर्गीय समाजको सच्चा साथी कम्युनिष्ट मात्रै हुन्छ । जसले युग बदल्न क्रान्ति गर्छ । बाँकी सबै समयका साक्षी मात्रै हुन् ।’ यही सिद्धान्तका पर्याय थिए, कर्णालीका एमाले नेता रत्नप्रसाद शर्मा न्यौपाने । जसको बुधबार कोरोना भाइरसको संक्रमणबाट काठमाडौँमा निधन भयो । छाउनीमा रहेको सैनिक अस्पतालमा कोरोनासँग लडिरहेका न्यौपानेले बुधबार राती ५५ वर्षको उमेरमा अन्तिम श्वास फेरे ।
जुन मृत्युको खबरले कर्णाली शोकाकुल बन्यो । एमालेका नेता कार्यकर्ता स्तब्ध बने । र कम्युनिष्ट सिद्धान्तको मर्म बुझ्नेहरु भावविह्वल रहे । एमाले जाजरकोटको एउटा विशाल छहारी ढल्यो । नयाँ पुस्ताको आशा, भरोसा र मार्गनिर्देशनको डोरी चुडियो । कृषि प्रधान देशमा जन्मेर कर्णालीमा अन्न उब्जाएर जनतालाई धनी बनाउन सकिने सपनामाथि तुषारापात भयो ।
कर्णालीका घर घर, बस्ती बस्तीको माटोमाथि उभिएर सादगी नेताको परिचय बनाएका न्यौपाने सबैका प्रिय मानिन्थे । जसले कसैलाई बिझाएनन् । कसैसँग सिद्धान्तका बारेमा लडाई गरेनन् । आफैले कम्युनिष्ट सिद्धान्तको व्यवहारिक प्रयोग गरेर सबैका लागि प्रिय भइरहे । जाजरकोटका सच्चा कम्युनिष्ट नेताको निधनले कर्णाली शोकाकुल बनेको छ । पसिनाको मोल खाने बेला एमालेले एक होनहार कार्यकर्ता र देशले शिक्षाको प्रयोगवादी नेता गुमाएको छ ।
को थिए रत्नप्रसाद शर्मा न्यौपाने ?
२०२३ सालमा जाजरकोटको थानामा जन्मिएका न्यौपाने नेकपा एमाले जाजरकोट जिल्ला कमिटी संस्थापक सदस्य हुन् । झण्डै दशक लामो शिक्षण पेशामा रहँदा उनी विद्यार्थीको रोलमोडल शिक्षक हुन् । दशेरा माध्यामिक विद्यालयमा उनी पढाउँथे । त्यही बेला उनले कम्युनिष्ट राजनीतिबारे धेरै ज्ञान आर्जन गरेका थिए । जसलाई व्यावहारिक रुपमा प्रयोग गर्न २०५० सालमा शिक्षण पेशाबाट राजीनामा दिएर उनी पूर्णकालिन राजनीतिमा होमिए ।
शिक्षण पेशा छाडेको पाँच वर्षपछि न्यौपाने सांसद बने । २०५६ सालको संसदीय चुनावमा उनले जाजरकोटबाट जित हासिल गरे । जाजरकोटको माटोमा कम्युनिष्टको सिद्धान्त हुर्काएका रत्नप्रसाद शर्मा न्यौपाने देश बदल्न केन्द्रीय राजनीतिमा पुगे । जहाँबाट उनले जनतामाथि शासन होइन, सेवा गर्नुपर्छ भन्ने भाव फैलाए । जनतामा आशा र भरोसा जगाए । तर आफु कोरोना महामारीमा विलिन भए ।
२०५१ सालमा नेकपा एमाले जाजरकोट जिल्लाको पार्टी सचिव बनेका उनी त्यसपछि किसान महासंघमा पनि आवद्ध भए । २०६० सालतिर तत्कालिन भेरी अञ्चलको एमाले सचिव बनेका न्यौपाने गणतन्त्र आएपछि भने आफ्नो पुरानै कम्युनिष्ट विचार धाराको प्रयोग पदचाप पछ्याए । एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका उनी अखिल नेपाल किसान महासंघको केन्द्रिय उपाध्यक्ष हुन् ।
नरबहादुर कार्कीको नजरमा न्यौपाने सर !
उनी हिड्दादेखि उठ्दा, खाँदा र बस्दा पनि कम्युनिष्ट सिद्धान्तलाई पछ्याई रहन्थे । जसरी स्कुलमा विद्यार्थीलाई पढाउँदा उनी राजनीतिक ज्ञान बाड्थे । जसको ज्ञानको पृष्ठभूमिदेखि कम्युनिष्ट राजनीतिमा योगदानका बारेमा जाजरकोटकै विश्व व्यक्ति अफ्रिकाबाट भन्छन्,
‘रत्न प्रसाद सर जनताको युवा छोरो र पढे लेखेको (त्यती बेला अंग्रेजी बोल्न सक्ने, अध्ययनशिल र इमान्दार) नेता हुनुहुन्थ्यो । लखेटिएको, कुटाइ खाएको, सादगी, ठेक्का पट्टामा भाग नखोज्ने, पैसाको पछाडि नकुद्ने, आफ्नो लागि भनेर सार्है अत्तो नथाप्ने, मितब्ययी हुनुहुन्थ्यो ।’
अफ्रिकाको काम्बियाबाट विश्व मोटिभेसन स्पीकर नरबहादुर कार्की न्यौपानेको निधनमा दुःख व्यक्ति गर्दै फेसबुकको श्रद्धाञ्जली पत्रमा विस्तृत लेख्छन्,
‘हार्दिक श्रद्धाञ्जली रत्न प्रसाद सर ! यत्ति मात्रै लेखेर मनले मानेन ।
दशेरा माविमा शिक्षक हुनु हुन्थ्यो, त्यती बेला जाजरकोटमा पार्टी सन्चालन गर्न जिम्मेवारी लिने कोही थिएन । खिम बहादुर शाही सचिव हुनुहुन्थ्यो, अरु जागिरमा थिए । खलङगा हालको भेरी नगरपालिकामा रत्न सर जागिर छोडेर आउनु भयो । अनि कृष्ण बहादुर शाही माननीय हुनु हुन्थ्यो ।
रत्न प्रसाद सर जनताको युवा छोरो र पढे लेखेको (त्यती बेला अंग्रेजी बोल्न सक्ने, अध्ययनशिल र इमान्दार) नेता हुनुहुन्थ्यो । लखेटिएको, कुटाइ खाएको, सादगी, ठेक्का पट्टामा भाग नखोज्ने, पैसाको पछाडि नकुद्ने, आफ्नो लागि भनेर सार्है अत्तो नथाप्ने, मितब्ययी हुनुहुन्थ्यो ।
मदन भण्डारी प्रती उहाँको अगाध लगाव थियो । व्यवहारमै कम्युनिष्ट हुनुहुन्थ्यो रत्न सर । अवसर र रोजाइ भएर पनि अभाव नै रोजेको शायद एउटा मात्रै जाजरकोटको नेता रत्न सर हुनुहुन्थ्यो ।
२०४७ सालमा एमालेको संगठित सदस्य भएदेखि अन्तिम भेटसम्म उहाँको ब्यक्तित्वमा कुनै ढोङ, छलकपट, घमण्ड र पुर्वाग्रह देखिन । एउटा आधिकारीक मान्छे र सहयोग गर्नु दायित्व ठान्ने मान्छे ।
जनताले चुनेर सांसद पनि बनाए । तर उहाँमा पदीय अहंकार कहिल्यै देखिएन । एउटा सरल मान्छे, पुराना मित्रता र योगदानहरुको हेक्का र बयान गर्न सक्ने ।
शिक्षकको स्वभावमै राजनीतिक ब्यक्तित्व थियो । धुम्रपान मध्यपान गर्नु हुँदैन्थ्यो । जनताको पार्टी सचिव भएर तपाईंले जाजरकोटमा कम्युनिष्टको विकास गर्नु भएको थियो ।
तपाईंले के पाउनु भयो ? के गुमाउनु भयो ? त्यो तपाईंका जिवित अनुभूति छैनन । तर निश्चित रुपमा जाजरकोटले एउटा जमिनी इमान्दार र सरल नेता गुमाएको छ । योगदानको पुस्ता थियो र सधैं गर्व लाग्नेछ, तपाईंलाई सम्झिदा । अलविदा ।’
उहाँ बितेको खबर सुनेदेखि निदाएको छैन : सिंह
कोरोनाले पूर्व सांसद न्यौपानेको निधन भएको खबर सुनेदेखि जाजरकोटका धेरै नेता स्तब्ध छन् । सँगै खेलेको, गाउँ गाउँ डुलेको, कार्यकर्ता बनाएको, सम्झाएकोदेखि नेपाली राजनीतिमा होमिएका उनका कैयौँ साथीले अझै उनको मृत्युको खबर पत्याएका छैनन ।
न्यौपानेको निधनबाट विक्षिप्त बनेका नेतामध्ये अर्का एक नेता हुन्, एमाले कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह । बुधबार राती उनको निधन भएको खबर सुनेदेखि आफु निदाउन नसकेको सिंहले बताए ।
‘उहाँ सच्चा कम्युनिष्ट नेता हुनुहुन्थ्यो’ कर्णाली खबरसँग कुरा गर्दै सिंहले भने, ‘कम्युनिष्ट भएर नै होला, उहाँमा लोभ, लालच, नाफा, घाटा, फाइदा, अन्याय, अत्याचार, भ्रष्टाचार कहिल्यै देखिएन । सबैलाई सम्मान गर्ने र आफू पनि सम्मानित भएर बस्ने सदाबहार सादगी स्वभाव उहाँमा थियो ।’
बाल्यकालदेखि सँगसँगै संघर्ष र राजनीतिक मैदानमा थुप्रैपटक सहयात्रा गरेका सिंहले न्यौपानेको निधनबाट जाजरकोट र कर्णालीको कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताए ।
‘मान्छे सबै सर्वगुणी हुँदैनन । तर उहाँमा जति सर्वज्ञान र गुण मैले आजसम्म अरुमा देखेको छैन’ न्यौपानेबारे सिंहले थप टिप्पणी गर्दै भने, ‘सधै सरल, सहज र असल स्वभावले भरिएको व्यक्ति हुनुहुन्थ्यो । यति छिट्टै हामीलाई छाडेर जानुहोला भन्ने कल्पना पनि गरेका थिएनौँ ।’
शिक्षण पेशा छाडेर सांसद भएदेखि उनी राजनीतिमा खारिएका र कम्युनिष्ट सिद्धान्तले भरिएका व्यक्ति थिए । जसकारण उनलाई सम्मान गर्ने र आदर्शको व्यक्ति मान्नेको संख्या बढ्दो थियो ।
प्राय काठमाडौँ बस्ने उनी सुर्खेत र जाजरकोट आउजाउ गरिरहन्थे । एमाले र माओवादी पार्टी मिलेर नेकपा बनेका बेला उनी एकता प्रक्रियाबाट सबैभन्दा धेरै खुशी देखिन्थे ।
चुनाव लड्दा पार्टीबाट रकम नलिने र अनावश्यक चन्दा पनि नउठाउने उनी आफ्नै राजनीतिक सिद्धान्तका बलमा उठेका र राष्ट्रिय राजनीतिसम्म पुगेका व्यक्ति हुन् । तत्कालिन नेकपामा हुँदा अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीसँग समधुर सम्बन्ध बनाएका उनी जनताको सेवा र सुरक्षाका लागि सम्बन्धित निकायमा धाइरहन्थे ।
हालै उनी कोरोना भाइरसबाट जाजरकोटीलाई जोगाउनका लागि स्वास्थ्यमन्त्री हृद्यश त्रिपाठीलाई भेटेर स्वास्थ्य सामग्री जिल्लामा पठाउनेबारे पहल गरिरहेका थिए । त्यही दौडधुपमा उनी आफै कोरोना भाइरसबाट संक्रमित भए । जुन संक्रमणबाट उनी फुत्किन सकेनन् । र सदा सदाका लागि सबैको स्मृतिमा रहने काम गरे ।
जीवनमा सधै संघर्षलाई नै आफ्नो आदर्श बनाएका न्यौपानेले त्यो पसिनाको मूल्य पाउने र जनतालाई दिलाउने बेला बेला जीवनबाटै बिदा लिदाँ त्यसको सबैभन्दा ठूलो क्षति जाजरकोट र कर्णालीलाई परेको छ ।
जसबाट केन्द्रीय नेता पनि अछुतो रहेनन् । नेकपा एमालेले जारी गरेको शोक वक्तव्यमा महासचिव ईश्वर पोखरेलले लेखेका छन्, ‘उहाँको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको छ भने जाजरकोट जिल्लाले एक जना भरोसायोग्य नेतालाई गुमाएको छ ।’
यो पनि पढ्नुहोस
एमाले नेता तथा पूर्वसांसद न्यौपानेको निधन