१४ जेठ, सल्यान : कोरोनाको जोखिमले निषेधाज्ञा गरेको महिनौ वित्यो । यस विच किसानले उत्पादन गरेको तरकारी घर र बारीमा थन्किएको छ । निषेधाज्ञाका कारण सवारीसाधन नचल्दा र व्यापारिक केन्द्रहरू बन्द हुँदा तरकारी बारीमै कुहिन थालेको छ । कोरोना संक्रमणका कारण बाहिरका खरिदकर्ता नआउँदा पनि तरकारी बारीमै कुहिन थालेको हो ।
तरकारी बिक्री नहुँदा किसानलाई जीविकोपार्जनमा समस्या परेको छ । व्यावसायिक तरकारी उत्पादन गरेका किसानलाई निषेधाज्ञाले ठूलो मार परेको शारदा नगरपालिका–६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए । उनले १४ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिरहेका छन् । बिक्री हुने अवस्थाको फर्सी, टमाटर, काँक्रोलगायत तरकारी कुहिएर खेर जान थालेको उनले गुनासो गरे । ‘केही तरकारी काटेर गाईवस्तुलाई खुवाउँदै आएको छु,’ उनले भने, ‘स्थानीय बजार बन्द छन्, बाहिरबाट खरिदकर्ता पनि आउँदैनन् ।’
उनले उत्पादन गरेको तरकारी जिल्लाका विभिन्न व्यापारिक केन्द्रका साथै दाङ र नेपालगन्जसम्म पुग्ने गरेको छ । लकडाउनअघिसम्म जिल्ला बाहिरका व्यापारी तरकारी खरिद गर्न उनकै बारीमा आउने गरेका थिए । तरकारी व्यवसायबाट वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका उनले यो वर्ष आम्दानी घटेको बताए ।
कोरोना महामारीले बारीमा उत्पादन भएको काँक्रो, सिमी, धनिया, बोडी, टमाटरलगायत तरकारी कुहिँदै गएको बरलाका किसान हेमराज भण्डारीले बताए । उनले झन्डै १५ रोपनी जग्गामा तरकारी लगाएका छन् । ‘बिक्री नभएको तरकारी कुहिएरै जान थालेको छ,’ उनले भने, ‘लकडाउनअघि दैनिक ५० किलोसम्म तरकारी बजार पठाउँथे, अहिले बिक्री शून्य छ ।’ तरकारी बिक्री हुन छाडेपछि छिमेकीहरूलाई निःशुल्क वितरण गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । उनले तरकारी बिक्री नभएपछि खेतीमा लागेको खर्च उठाउन र परिवारको जीविकोपार्जन गर्न समस्या भएको जनाए ।
निषेधाज्ञाका कारण कालीमाटीका किसान नेबबहादुर ओलीले दुई रोपनी जग्गामा लगाएको जग्गा काटेर गाईवस्तुलाई खुवाएका छन् । ‘बारीमा बन्दा छिप्पिँदै गयो, नकाटे अर्को तरकारी लगाउन पनि समस्या हुने देखियो,’ उनले भने, ‘केही तरकारी छरछिमेकमा बाँडियो, आधाजसो गाईवस्तुलाई खुवाउनुपर्यो ।’ उनले तरकारी अत्यावश्यक वस्तु भएकाले ओसारपसार गर्न दिन प्रशासनलाई अनुरोध गरे पनि बेवास्ता भएको बताए । उनका अनुसार एक रोपनी जग्गामा लगाएको टमाटर पनि कुहिने क्रम सुरु भएको छ । उनले तरकारी बिक्री नहुँदा लगानी उठाउन गाह्रो भएको गुनासो गरे । गत वर्ष गरिएको लकडाउनमा उनले झन्डै २ लाख रुपैयाँ घाटा व्यहोरेका थिए । निषेधाज्ञा लम्बिए र बाहिरका खरिदकर्ता नआए यो वर्ष कपुरकोटका किसानले उत्पादन गरेको तरकारी पनि कुहिएर जाने तरकारी हाटबजार व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिव तिलक शर्माका अनुसार कपुरकोट र आसपासका गाउँका बासिन्दाले हाटबजारमा ल्याई तरकारी बिक्री गर्दै आएका छन् । कपुरकोटको तरकारी दाङ, बुटबल, नेपालगन्जलगायत सहरमा जाने गरेको छ । ‘यो वर्ष ठूला व्यापारी नै आएनन्,’ उनले भने, ‘उत्पादित तरकारी स्थानीय बजारमा खपत हुन गाह्रो छ ।’ कपुरकोट गाउँपालिकाका झन्डै २ हजार परिवारले तरकारी उत्पादन गरिरहेको उनले सुनाए ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार सल्यानबाट मासिक ३५ लाख रुपैयाँको तरकारी जिल्लाबाहिर जाने गरेको छ । कोरोना महामारीका कारण तरकारीको बिक्री ठप्प भएको कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए । उनका अनुसार सल्यानमा झन्डै ७ हजार परिवार व्यावसायिक तरकारी खेतीमा निर्भर छन् । उनले गत वर्ष पनि कोरोनाका कारण झन्डै २ करोड रुपैयाँको तरकारी खेर गएको बताए ।
'विप्लव महर्जनले तयार पारेको यो सामग्री हामीले इकान्तिपुरबाट लिएका हौं ।'