काठमाण्डौ । कोरोना भाइरसको संक्रमण र जोखिम बढेपछि काठमाडौँ उपत्यकाका सार्वजनिक ठाउँमा किटनाशाक औषधि छर्दै स्प्रे गर्न थालिएको छ । काठमाडौँ महानगरपालिकाले ट्यांकरमा औषधि राखेर काठमाडौँका मुख्य मुख्य ठाउँमा छर्न थालिएको हो ।
बिहीबार बिहान माइतीघर, बबरमहल, नयाँ बानेश्वर, कोटेश्वर, जमल, लैनचौर चक्रपथ महाराजगञ्ज र बसन्तपुर क्षेत्रमा औषधि छर्केर स्प्रे गरिएको छ । नगर प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब उपरीक्षक धनपति सापकोटाका अनुसार ४० हजार लिटर पानीमा एक सय ४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने योजना छ ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर स्प्रे छरिने उनले बताए । यसअघि बुधबार वीर अस्पताल, टेकु अस्पताल सहित भित्रि शहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छरिएको थियो ।
गाउँमा के गर्ने ?
काठमाडौँसँगै सर्खेत, वीरेन्द्रनगर, नेपालगञ्ज, धगनढी, बुटवल, विराटनगर, विरगञ्ज, जनकपुर लगायतका मुख्य मुख्य शहरमा क्लोरिनयुक्त स्प्रे छरिदैछ । तर भारत तथा विदेशबाट फर्केर सोझै गाउँ पुगेका मानिसहरुबाट बढेको जोखिम कसरी घटाउने ? भनेर चिन्ता थपिएको छ ।
गाउँमा मोटरसाइकल र गाडी पुगेसँगै संक्रमणको दर पनि उत्तिकै छ । तर शहरको जस्तो छिटो छरितो सेवा सुविधा भने हुदैन । यस्तो बेला गाउँमा के गर्दा कोरोना संक्रमण घटाउन सकिन्छ ? भन्ने विषयमा स्थानीय जनप्रतिनिधिले बढी ध्यान दिन आवश्यक छ ।