काठमाडौँ : कर्णालीमा दैनिक संक्रमितको संख्या बढ्दो छ । अनि त्यत्तिकै बढ्दो छ, मृत्तकको संख्या पनि । जसको हृदय विदारक तस्बिर भेरी नदीमा देखिन्छन् । नेपाली सेनाले शवको व्यवस्थापन गर्ने भएपनि प्रक्रिया झन्झटिलो भएकाले सर्वसाधारणको सास्ती घटेको छैन ।
हुने खानेलाई त समस्या छैन । तर गरीब दुखीलाई भने कोरोना कहर जीवनकै कठिन संघर्षका रुपमा देखिएको छ । जुन वास्तविकता कर्णालीको प्रदेश अस्पताल र भेरी नदीमा देखिने गरेको छ ।
अस्पतालमा अक्सिजन छैन । नेपालगञ्जबाट आउने अक्सिजनको कोटाले संक्रमितको सास धान्दैन । सुर्खेतमा रहेका जोसूकैलाई थाहा छ, कर्णाली प्रदेश अस्पताल पुगेर मात्रै ज्यान जोगिदैन । जहाँ अक्सिजनको निश्चितता छैन । त्यहाँ कसरी ज्यान जोगिन्छ ?
तर पनि विकल्पहीन कर्णाली नागरिकका लागि आशाको त्यान्द्रो बाँकी राखेर अस्पतालको शैयामा कोरोनासँग संघर्ष गरिरहनु परेको छ । यो इतिहासकै सबैभन्दा कठिन लडाई हो । जनताका लागि बाध्यता हो । तर प्रदेश सरकार भने अहिले प्रदेश अस्पताल र भेरी नदीमा रमिता हेर्न बाध्य छ । न उपचार प्रभावकारी छ । न आफन्त गुमाएकाले राम्रोसँग शव व्यवस्थापन गर्न सकेका छन् ।
अस्पतालमा अक्सिजन छैन्, मशान घाटमा दाउरा !
प्रदेश अस्पतालमा अक्सिजनको चरम अभाव छ । सुर्खेती युवा तथा पत्रकारहरुको समूहले अभियान चलाएर अक्सिजनको आपूर्ति सहज गर्ने प्रयास गराएका थिए । तर त्यसबाहेक प्रदेश अस्पतालमा अक्सिजनको दिगो समाधानको विकल्पमाथि पर्याप्त बहस हुन सकेको छैन ।
हालै कर्णाली प्रदेश सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेको छ । यसका लागि झण्डै दुई करोड बजेट बिनियोजन गरिएको छ । तर कहिलेसम्म अक्सिजन प्लान्ट बन्ने भन्ने एकिन छैन् ।
कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने विषय अहिले पनि गम्भीर बहस भएको छैन । अस्पतालको यो अवस्था हुँदा शव व्यवस्थापनमा त्यत्तिकै समस्या छ । मृत्यु भएका आफन्त शवलाई जेनतेन गरी नदीसम्म लैजान्छन् । तर लास जलाउन पर्याप्त दाउरा नहुँदा उनीहरु गम्भीर समस्यामा पर्ने गरेका छन् ।
यसै पनि संक्रमितका साथमा एक दुई जना आफन्त अस्पताल पुग्ने गरेका छन् । तर उनीहरुले अक्सिजन नपाएर ज्यान गुमाउँदा शव व्यवस्थापनमा ठूलो समस्या झेल्ने गरेका छन् । जलाउनेका लागि सेनाले भेरी नदीसम्म लिएर शव छाड्ने गरेका छन् ।
तर त्यसपछि शव जलाउने व्यवस्थापन नहुँदा आफन्तले ठूलो समस्या झेल्ने गरेका छन् । यो समस्याबाट भावविह्वल भएका विवेकशील साझाका युवाहरुले सल्यानका दुई जनाको शव जलाउन दाउराको व्यवस्थापन गरेका थिए । केही आफन्तले त्यस्तो सहयोग पाउने भएपनि बाँकी धेरैजसो निरीह हुने गरेका छन् ।
मन्त्री नियुक्त गर्न नसक्ने मुख्यमन्त्री
कर्णालीमा कोरोना महामारीले भयावह अवस्था ल्याउँदा सरकार भने विभागीय मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकिरहेको छैन । अहिलेसम्म स्वास्थ्यको पाटो हेर्ने सामाजिक विकास मन्त्रालय रिक्त छ । नेपाली कांग्रेसको भागमा परेको यो मन्त्रालयमा कांग्रेसले मन्त्रीको नाम पठाउन सकेको छैन ।
कांग्रेसले मन्त्री बन्नेको नाम पठाउन नसक्दा नियुक्त गर्न नसकिएको मुख्यमन्त्री कार्यालय बताउँछ । कांग्रेस संसदीय दलका प्रमुख नेता जीवन शाही केन्द्रीय नेताको दबाबमा पर्दा मन्त्री बन्नेको नाम दिन सकेका छैनन् ।
जसकारण कर्णालीमा प्रदेश सरकार असफल भइरहेको छ भने जनताको उपचारमा सरकार लापरबाही गरिरहेको आरोप खेपिरहेको छ । कांग्रेसकै आडभरोसामा सरकार चलाएका मुख्यमन्त्री महेन्द्र शाहीले सरकार जोगाएपनि सरकार चलाउन नसक्दा यसको सिधा असर जनतामा परिरहेको छ ।