काठमाडौँ : तत्कालिन विद्रोही नेकपा माओवादीले शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ सालमा चुनाव जित्यो । २०६५ सालमा गणतन्त्र ल्यायो । त्यतिबेला माओवादीको गणतन्त्र माग पूरा गर्न तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा राती ११ बजे पहिलो संविधान सभाको पहिलो बैठक बसेको थियो ।
राती ११ बजेर १५ मिनेटमा नेपालमा गणतन्त्र घोषणा भएको थियो । त्यो सबै माग, शक्ति र धम्की माओवादीको थियो । गणतन्त्रको विपक्षमा चार जनाको मत खसेको थियो । उनीहरु राप्रपा निकट नेताहरु थिए । बाँकी सबैले गणतन्त्रको पक्षमा मत हालेका थिए ।
पहिलो संविधानसभा चुनावबाट बनेको संसदको पहिलो बैठकले नेपालमा गणतन्त्र घोषणा गरेको हो । २४० वर्षे राजतन्त्र बिदाई गरेर नेपालमा गणतन्त्र घोषणा भएको थियो । त्यो पनि माओवादीकै बलमा । अरु राजनीतिक दलको समर्थनमा । नेपालमा गणतन्त्र ल्याउनुमा प्रचण्ड, बाबुराम, मोहन बैद्य जत्तिकै देन गिरिजाप्रसाद कोइरालाको पनि छ ।
माओवादीको गणतन्त्र मागलाई गिरिजाले सबैभन्दा राम्रोसँग सम्बोधन गरेर पूरा गरेका पनि थिए । तर आज हामी नेपालमा गणतन्त्र ल्याउने शक्तिका एक सुर्खेती नेताको चर्चा गर्दैछौँ :
विद्रोही नेता ठम्मर बिष्टको कम्प्रोमाइज राजनीति
पहिलो संविधानसभा चुनावबाट नेपालकै नम्बर एक शक्ति बनेको माओवादी त्यसको चार वर्षमा छिन्नबिन्न भयो । २०६९ सालमा नै माओवादी औपचारिक रुपमा विभाजन भयो । प्रचण्डको एकाधिकारबाट मोहन बैद्य किरण समूह अलग्गियो । जसको बिजारोपण तत्कालिन उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि मोहन बैद्य समूह औपचारिक रुपमै माओवादीबाट बाहिरियो ।
त्यसरी अलग्गिने नेतामा थिए, रामबहादुर थापा बादल, मोहन बैद्य, सिपी गजुरेल, पम्फा भुषाल, नेत्रविक्रम चन्द विप्लव, खड्ग विश्वकर्मा प्रकाण्ड लगायत दुई दर्जन बढी नेताहरु थिए । सुर्खेतमा भने त्यतिबेला ठम्मर बिष्टकै जुझारु नेतृत्वमा माओवादीबाट बैद्य समूह अलग्गिएको थियो ।
सुर्खेतमा त्यसरी अलग्गिनेमा ठम्मर बिष्ट, प्रशान्त आरसी, नवीन विश्वकर्मा, विवश लगायतका नेताहरु थिए । क्रान्ति गर्नुपर्छ र क्रान्तिकै स्प्रिटमा अगाडि बढ्नुपर्छ भन्ने हेतुले त्यतिबेला माओवादी नेताहरु नयाँ पार्टी बनाएर अघि बढेका थिए ।
तर बैद्यले क्रान्ति अगाडि बढाउन सकेनन् । उल्टो ढुलमुले पारामा अगाडि बढ्न खोजेपछि बादल फेरि विद्रोह गरेर प्रचण्डकै मूलधारमा फर्किए । त्यतिबेला ठम्मर बिष्ट पनि मूलधारकै पार्टीमा फर्किए । २०७० सालको चुनावमा फुटेकै कारण माओवादी तेस्रो शक्तिमा सिमित भएको थियो ।
ठम्मर बिष्ट त्यतिबेला क्षेत्र नं. १ बाट चुनाव समेत लडेका थिए । तर उनले जित हात पार्न सकेनन् । २०७४ सालको चुनावमा उनी प्रदेशसभा चुनाव लडे । एमालेसँगको सहकार्यले गर्दा उनी चुनाव जिते पनि । हाल प्रदेशसभा सदस्य रहेका बेला उनले तलब भत्ता मात्रै खाएनन् ।
आफ्नै पार्टीको नेतृत्वको सरकारले के गर्यो ? के गर्न सकेन ? भनेर प्रदेशसभामा बिष्टले आगो ओकले । दुई वर्षअघि कर्णाली प्रदेश सरकारले बजेट ल्याउँदा ठम्मर बिष्टले प्रदेशसभामा बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यतिबेला उनले प्रभावशाली नेता र मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट थुपारेको बताएका थिए । जुन धेरै हदसम्म सत्य थियो ।
तर पनि कर्णाली प्रदेश सरकारले उनलाई महत्व दिएन । अझ भनौँ कर्णालीमा माओवादीले उनको विद्रोही र केही गरौँ भन्ने स्वभावलाई स्थान दिएन । कुनै पद दिएन । गतिलो जिम्मेवारी दिएन । उनको क्षमता प्रयोग गर्न सकेन ।
कारण थियो, उनीहरु हिजोका दिनमा फुटेर गएका थिए । पार्टीमा फर्केपछि उनीहरुले स्थान पाएनन् । चर्को बोलेकै कारण उनी प्रदेश सांसद भए । तर जिम्मेवारी राम्रोसँग पाउन सकेनन् । त्यतिबेला मुख्यमन्त्री महेन्द्र शाहीको आलोचना चुलिएको थियो । जतिबेला पार्टी नेकपा थियो । एमाले र माओवादी एकै दल थिए ।
खासगरी एमाले यामलाल कँडेल समूहले मुख्यमन्त्री शाहीको सरकार ढाल्न अनेक योजना बुनेको थियो । केन्द्रमा समेत असन्तुष्टि बढेका बेला केन्द्रकै निर्देशनमा कर्णालीमा मुख्यमन्त्री शाहीको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो ।
यो गएको वर्ष असोज २५ गतेको कुरा हो । नेपालमा पहिलोपटक प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो । आफ्नै पार्टीको सरकार ढाल्न त्यतिबेला माओवादीबाटै उपसभामुख बनेकी पुष्पा घर्ती मगर, ठम्मर बिष्ट, धर्मराज रेग्मीले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
ठम्मर बिष्ट र धर्मराज रेग्मी सांसद पद गुमाउन तयार भएपनि माओवादी सरकार ढाल्ने मनशायमा थिए । कारण थियो, महेन्द्र सरकारको नेतृत्वले कर्णालीमा केही काम पनि गर्न सकेन । माओवादीको नाम मात्रै भयो । तर काम भएन ।
नेकपाको प्रमुख सचेतकमा थिए, एमालेकै गुलाबजंग शाह । सरकार ढाल्न प्रमुख सचेतक लागेपछि संसदीय दलका नेता समेत रहेका मुख्यन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट बर्खास्त गरे ।
त्यो अधिकार मुख्यमन्त्रीलाई हुन्छ । प्रमुख सचेतकमा आफ्नै पार्टीकी नेतृ सीता नेपालीलाई नियुक्त गरे । सीता नेपालीले प्रमुख सचेतक भएपछि आफ्नो काम भ्याएसम्म गरिन् । एमालेकै माधव नेपाल समूह अविश्वास प्रस्तावबाट पछि हट्यो । माओवादी सांसद पनि पछि हटे ।
खासगरी त्यतिबेला प्रचण्ड नै सरकार बचाउन लागेका थिए । उनकै प्रयासले अविश्वास प्रस्ताव तुहियो । एमाले माधव नेपालको सहयोगमा सरकार जोगियो । त्यसपछि माओवादीबाट विरक्तिएका ठम्मर बिष्ट एमाले कँडेल समूहमै थिए ।
मन्त्री माग्दा हात लाग्यो प्रमुख सचेतक पद
ठम्मर बिष्टलाई सुर्खेती नेताहरुले माओवादीमा फर्काउने प्रयास गरे । त्यसका लागि मन्त्री बनाउने आश्वासन दिइयो । उनी मन्त्री बन्ने शर्तमा माओवादीमा फर्किए । उनको सांसद पद पनि जोगियो । एमालेमै लागेका धर्मराज रेग्मीको सांसद पद भने गयो ।
तर मन्त्रिपरिषद पुनर्गठन गर्दा जनार्दन शर्माको दबाबले ठम्मर बिष्टको सपना तुहियो । प्रदेश सरकार बनाउनका लागि सीता नेपालीलाई मन्त्री बनाउनुपर्ने दबाब बढ्यो । अन्ततः मुख्यमन्त्री शाहीले बिन्दमान बिष्ट, ठम्मर बिष्टलाई पछाडी हटाएर तत्कालिन प्रमुख सचेतक सीता नेपाली र गोपाल शर्मालाई मन्त्री बनाए ।
नेपाली आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री बनिन् । शर्मा भने अर्थमन्त्री बने । नेपाली मन्त्री बनेपछि प्रमुख सचेतक पद खाली भयो । त्यो पदमा ठम्मर बिष्ट नियुक्त गर्ने बचन मुख्यन्त्री शाहीले दिएका थिए ।
शुक्रबार प्रमुख सचेतकमा बिष्टलाई नियुक्त गरेको पत्र मुख्यमन्त्री शाहीले हस्तान्तरण गरे । जहाँ हिजो सरकार ढाल्न लागेका बिष्टलाई आज त्यही पार्टीको प्रमुख सचेतक पद दिइएको थियो । खासगरी यस्तो खालको राजनीतिक पदको नियुक्ती आफूलाई भरपुर सहयोग गर्ने नेतालाई दिने गरिन्छ ।
सोही कारण पनि मुख्यमन्त्री शाही मुश्किलले हाँसेका छन् । ठम्मर बिष्टले विद्रोह गरेरै मन्त्री पदको बार्गेनिंगदेखि प्रमुख सचेतक पद पड्काए । जोसँग अलिकति पनि कार्यशैली मिल्दैन थियो । त्यहीसँग सहकार्य गर्नुपर्ने परिस्थिती बनायो । यो समयको खेल पनि हो ।
अब ठम्मर बिष्ट गाडी चढेर प्रमुख सचेतकको पदमा नियुक्त भएका छन् । कुनै बेला मुख्यमन्त्री शाहीलाई पदच्युत गर्ने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर विद्रोह गरेका ठम्मर बिष्टले प्रमुख सचेतकको पद पाएका छन् । नेताहरुको स्वार्थले गर्दा बिष्ट जस्ता नेताहरु आफ्नो क्षमता भएर पनि 'कम्प्रोमाइज' गर्न बाध्य छन् । बिष्ट त्यसैका पर्याय हुन् ।
यतिबेला पनि उनले मन्त्री पदका लागि सम्झौता गरेका थिए । तर प्रमुख सचेतक पद हात लाग्यो । उनी माओवादीका विद्रोही नेता भएपनि विभिन्न समयमा पदका लागि कम्प्रोमाइज गर्ने नेताका रुपमा परिचित छन् । यतिबेला पनि उनको राजनीति 'कम्प्रोमाइज'बाटै प्रमुख सचेतक पदसम्म पुगेको छ । बाँकी हेर्दै जाऔँ, उनले प्रमुख सचेतक बनेर कस्तो काम गर्छन् ? समयले देखाउनेछ ।
यो पनि पढ्नुहोस
कर्णालीमा माओवादी केन्द्रको प्रमुख सचेतकमा बिष्ट