देशमा हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । यो हामी सबैका लागि खुशीको कुरा हो । तर यो खुशी ल्याउन धेरै दुःख झेलिएको छ । धेरै नेपालीले रगत बगाउनु परेको छ । पसिना बगाउनु परेको छ ।
आफन्त गुमाउनु परेको छ । हजारौ नेपालीको बलिदान र वर्षौसम्मको योगदानले गर्दा आज नेपालमा गणतन्त्र आएको हो । यसरी दिवस मनाउन पाएका हौँ । तर दुःखका साथ भन्नुपर्छ आज दिनमा आइपुग्दा लोकतन्त्र हरण गर्ने प्रयास भएको छ । गणतन्त्रमाथि प्रहार भएको छ । यसका विरुद्ध विगतमा जसरी एकजुट भएर लाँग्यौ । विविध रुपमा एकजुट भएर लाग्यौँ । त्यसरी आजका दिनमा संयुक्त रुपमा मोर्चाबन्दी भएर जानुपर्ने आवश्यकता छ ।
यो आवश्यकता मात्रै होइन, अपरिहार्य बनिसक्यो । किनभने पाइला पाइलामा संविधान मिचिएको छ । सबै तह र तप्काबाट यसको विरोध हुन जरुरी भैसक्यो । कोरोना महामारी छ । स्वास्थ्य मापदण्डको पालना गर्दै संविधान र गणतन्त्रमाथि गरिएको प्रतिगमनको विरोध गर्न आग्रह गर्दछु ।
यदि संविधान रहे हामी रहन्छौँ । गणतन्त्र बाँचे हामी बाच्नेछौँ । होइन भने यति लामो संघर्ष गरेर हाम्रो उपलब्धि रक्षा हुन सक्दैन ।
गणतन्त्रको १३ वर्ष पूरा गरेर हामी १४ औँ वर्षमा प्रवेश गरेका छौँ । तर अहिलेसम्म सबै नागरिकले त्यसको उपलब्धी हेर्न पाएका छैनौँ । यसलाई अझ बलियो बनाउन आवश्यक छ । यसका लागि सबैले आ आफ्नो ठाउँबाट खबरदारी गर्न आवश्यक छ ।
संविधान, गणतन्त्र जोगिए मात्रै हाम्रो व्यवस्था राम्रो हुन्छ । अझ भनौ यो दलित, महिला, जनजाती लगायत पछाडि पारिएका समुदायका लागि गणतन्त्र बचाउनैपर्छ । जो साच्चिकै जातीय, लैंगिक, अल्पसंख्यक विभेदमा पर्दै आएका छन् ।
गणतन्त्रमा दलित महिलाले ठूलो रगत बगाएका छन् । यसको उपलब्धी ल्याउनका लागि दलित महिलाहरु नयाँ परिवर्तनको लागि त्याग, तपस्या र बलिदान गर्नुपर्छ । दलित महिलाकै रगतले आज म यहाँसम्म आएकी छु ।
दलित महिला वर्गीय हिसाबले झन् उत्पीडनमा छन् । लैंगिक हिसाबले पनि उनीहरु साच्चिकै उत्पीडनमा परेका छन् । थुप्रैले यो गणतन्त्रका लागि जीवन मरणको लडाई लडेका छन् । थुप्रै मृत्युको मुखबाट फर्केर आएका छन् ।
जीवन मरणको लडाई लडेको थुप्रै उत्पीडनमा छ । जसरी द्धन्द्धकालमा कालिकोटका महिलाहरुले प्रतिरोध गरे । हतियारसहितको आमीलाई हराउने साहस गरे । त्यो गणतन्त्रको उपलब्धि हो । आजको खुशी उनीहरुको विद्रोहले दिएको हो ।
म यतिबेला सबै जनयुद्धका घाइते, बेपत्ता र मृत्तकलाई सम्झिन चाहन्छु । खासगरी दलित महिलाहरुलाई । उहाँहरुकै बलिदानले आज म यहाँसम्म पुगेकी हुँु । हाम्रा अगाडि अब चुनौति छ । गणतन्त्रलाई धरापमा पार्ने प्रपञ्च भइरहेको छ ।
संविधान असफल पार्ने र संघीयता कार्यान्वयनमा हस्तक्षेप गर्ने चरणबद्ध योजनाहरु छन् । त्यसलाई निस्तेज पार्न आवश्यक छ । वर्गीय लडाई अझै बाँकी छ । तर अहिले राजनीतिक लडाई लड्नु परिरहेको छ । अझ एकताबद्ध भएर अगाडि जान आवश्यक छ । सबै एकजुट भएर अगाडि गए संविधान, संघीयता र गणतन्त्रको रक्षा गर्न सक्छौँ । यसमा सबैको साथ, सहयोग र हातेमालोको आवश्यकता छ । (कुराकानीमा आधारित)
नेपाली कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री हुन् ।