सिमीकोट : पछिल्लो पटक तीन वटा गाउँपालिकामा १८ जनामा गरिएको कोरोना संक्रमण परिक्षणमा पाँच जनामा देखिएपछि जिल्लामा संक्रमित संख्या १४३ पुगेको छ । खार्पुनाथ, सर्केगार्ड र अदानचुलीमा गरिएको परिक्षणमा संख्यामा बृद्धि भएपछि अब जिल्लामा कोरोना संक्रमितको संख्या डेढ सय नजिक पुगेको हो । यसले हुम्लाका धेरै ठाउँमा कोरोनाको त्रास बढेको छ ।
सात मध्य छ वटा गाउँपालिकामा फैलिएको कोरोना संक्रमणमा थप पाँच जना थपिएका छन् । कोरोना संक्रमण परिक्षण गर्ने क्रममा हालसम्म छ वटा गाउँपालिकामा देखिएको हो । हालसम्म कुल संक्रमित मध्य सिमकोट गाउँपालिका र अस्पतालमा गरिएको छुट्टै परिक्षणमा संक्रमितको संख्या २९ जना पुगेको छ ।
यस्तै खार्पुनाथमा १३ जना, सर्केगार्ड गाउँपालिकामा २३ जना, चंखेली गाउँपालिकामा २५ जना, अदानचुली गाउँपालिकामा २० जना र ताँजाकोट गाउँपालिकामा ३३ जनामा पुष्टि भएको छ । अस्पतालका बिरामी मध्य एक जना स्वासप्रस्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । उनको स्वास्थ्य अबस्था पनि निक्कै सुधार भएको जनाइएको छ । अब जिल्लाका छ वटा गाउँपालिकाका होम आईसोलेशन र सदरमुकाम सिमकोटस्थित रानी बनको आईसोलेशन वार्डमा गरि ८९ जना रहदै आएका छन् ।
उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । ५३ जनाले हालसम्म कोरोना जितेर घर फर्कि सकेका छन् । कोरोनाको दोस्रो स्वरुप नेपालगंज र सुर्खेतबाट आएका आठ जना यात्रुको सिमकोट बिमान स्थलमा कोरोना परिक्षण गर्दा पहिलो पटक बैशाख १९ गते पुष्टि भएको थियो । त्यसयता दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परिक्षण गर्दा बिरामी संख्या बढी रहेको जनाएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना फैलने दर तीब्र रुपमा बृद्धि भएको छ । अब उत्तरी क्षेत्रको नाम्खा गाउँपालिक मात्र कोरोना सङ्क्रमणबाट अछुतो रहेको छ । दुई पटक उक्त गाउँपालिकामा परिक्षण गर्दा रिपार्ट नेगेटिभ आएको थियो । जिल्ला भरि हालसम्म एन्टिजीन किटबाट हालसम्म ९६९ जनालाई परिक्षण गरिएको थियो । हुम्लाका संक्रमितको संख्या बढ्दै थएपछि नियन्त्रण गर्न प्रशासकहरुलाई चुनौति थपिएको छ ।