सुर्खेत : कर्णालीका स्वास्थ्यकर्मीले कोरोना महामारीमा तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, डोल्पाका चिकित्सकले महामारीमा सरकारले घोषणा गरेको तलब, जोखिम भत्ता र बीमाको रकम नपाएको गुनासो गरेका हुन् ।
यसरी गुनासोमा गर्नेमा पछिल्लो समय जुम्लाका स्वास्थ्यकर्मी पनि छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् । यसअघि सरकारले महामारीमा खटिने फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने घोषणा गरेको थियो ।
तर पछिल्लो समय तलब भत्ता पनि समयमै नदिने गरेको गुनासो उनीहरुको छ । कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा जोडिएवापत पाउनुपर्ने सेवा–सुविधा नपाएको भन्दै चिकित्सकहरूले लिखितरूपमै सेवा बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
उनीहरूले स्वास्थ्य सेवा कार्यालयमार्फत कर्णाली प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीलाई माग सम्बोधन गर्न आग्रह गरेका छन् । जिल्ला अस्पतालमा कार्यरत पाँच चिकित्सकले नै त्यो सेवा सुविधा नपाएको भन्दै उनीहरुले यस्तो बताएका हुन् ।
चालु आर्थिक वर्षको कुनै पनि महिनाको सेवा सुविधा नपाएको भन्दै उनीहरूले तत्कालै त्यसको परिपूर्तिका लागि सबैको ध्यानाकर्षण गराएका हुन् । डा मेलिना हमाल, प्रशन्ना कार्की, रुविना श्रेष्ठ, राजसिंह धुरेल र हेमन्त शाहीले कोभिड–१९ भत्ता नपाएको बताएका छन् । अग्रपङ्क्तिमा रहेर कोरोना उपचार, रोकथाम र नियन्त्रणमा लागे पनि आफूहरूमाथि बेवास्ता भएको डा हमालले बताए ।
अरू स्वास्थ्यकर्मीले भत्ता पाइसक्दा चिकित्सकलाई नै यो सेवाबाट वञ्चित गरिनु विडम्बना भएको उनको भनाइ छ । उनका अनुसार चिकित्सकले चालु आर्थिक वर्ष सकिन लाग्दासमेत गत वर्षकै सेवा सुविधा पाएका छैनन् । यता जाजरकोटका चिकित्सकहरुले कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहलाई भेटेर गुनासो पोखेका छन् ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक अमरसिंह शाहीले चिकित्सकहरूले उठाएका मागबारे प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा जानकारी गराइएको बताए ।
प्रदेश सरकारको निर्णय कार्यान्वयन नहुँदा चिकित्सकहरू समस्यामा परेका हुन् । गत वर्ष कर्णाली सरकारले कर्णालीका तीन जिल्लाका चिकित्सकलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । प्रदेश सरकारले डोल्पा, मुगु र हुम्लाका चिकित्सकलाई शतप्रतिशत कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
सरकारले बाँकी सात जिल्लाका चिकित्सकलाई कर्णाली प्रोत्साहन भत्तावापत ५० प्रतिशत र कोभिड भत्तावापत शतप्रतिशत रकम दिइरहेको छ । डा हमालले कर्णालीमा चिकित्सक बसेनन् भनेर दिइएको प्रोत्साहन भत्तालाई कोभिडको जोखिममा उपचार गरेको भत्तामै मिसाउन नहुने बताए । अरू सबैले भत्ता लिँदा चिकित्सकलाई मात्रै नदिने कुराले हतोत्साहित बनाएको उनको भनाइ छ ।
डोल्पा अस्पतालमा चिकित्सक अभाव भएको छ । आठ चिकित्सकको दरबन्दी भएको ठाउँमा मुस्किलले तीन जना मात्रै चिकित्सक छन् । सबै करारमा कार्यरत चिकित्सक भएका कारण दरबन्दीमा रहेका चिकित्सकहरु तत्काल आउनुपर्ने डोल्पावासीको माग छ ।
दैनिक कोरोनाका बिरामीको सङ्ख्या वृद्धि भइरहँदा अहिले रहेका चिकित्सकले सबै खालका बिरामीको सङ्ख्यालाई उपचार गर्न मुस्किल भएको चिकित्सकले बताएका छन् । राससको सहयोगमा