सिमकोट : बिभाजनको संघारमा पुगेको नेकपा एमाले हुम्लामा पनि दुई गुटको प्रतिष्पर्धा चर्किएको छ । हुम्लाको एमाले सचिवालयमा खनाल नेपालको बहुमत छ । तर पनि ओली र माधव नेपाल पक्षबीचको प्रतिष्पर्धा भने चर्को छ । हुम्लामा २५ सदस्यीय सचिवालयमा १३ जना सदस्य माधव खनाल पक्षमा छन् । १२ जना भने ओली पक्षमा छन् ।
नेकपा एमालेका सचिव तिर्थराज रोकायाका अनुसार एमालेको हुम्ला जिल्लाको सचिवालयमा २५ जना सदस्यमा १३ जना सदस्य माधव खनाल पक्षमा रहेका छन् । उनका अनुसार माधव खनाल पक्षका सदस्यहरुमा सचिव रोकाया, पुर्ण प्रसद ढकाल, शिवराज शर्मा, कल बहादुर हमाल, हस्त बहादुर शाही, धच फडेरा, नन्ददेवी शाही, रमा काफ्ले, बिष्णु बहादुर बुढा, अमर जैसी, नरदिप थापा, जय बहादुर बुढा र दिप बहादुर शाही रहेका छन् ।
बहुमत सदस्य माधव नेपाल पक्षमा लागेपछि ओली पक्ष रक्षात्मक हुन थालेको छ । ओली ओली पक्षमा कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दल रावल, ज्ञानी बुमी, प्रेम बहादुर रावल, सुरेन्द्र कार्की, नोरजंंङ तामाङ, डबल रावत, खड्क बहादुर नेपाली, बिनोद बोहरा र नन्द बहादुर रोकाया छन् ।
जय बहादुर शाही भने अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् । हुम्लामा पूर्वमन्त्री रावलका कारण केही हदसम्म ओली पक्ष रक्षात्मक देखिएको हो । अन्यथा ओली पक्ष कमजोर हुँदै गएको छ । पूर्व मन्त्री रावल पनि केही समयअघि मन्त्री भएका बेला ओलीबाट माधव नेपाल पक्षमा गएका थिए ।
तर संसदीय दलको बैठकले माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रावल सामाजिक विकास मन्त्रीबाट राजीनामा दिएर ओली पक्षमा फर्किएका हुन् । केही समयअघि हुम्लामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने कदमविरुद्ध एमाले माधव नेपाल पक्षको हस्ताक्षरसहित पाँच दलले विज्ञप्ति निकालेका थिए ।
सो विज्ञप्तिप्रति पूर्वमन्त्री रावलले आपत्ति जनाएका थिए । अहिले सरकार बाहिर प्रतिपक्षमा बसेपछि पूर्व मन्त्री रावल जिल्लाको राजनीतिमा सक्रिय हुन थालेका छन् ।