काठमाडौ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८ जनाले ज्यान गुमाएका छन । बिहीबार दिउँसो चार जना र राती थप चार जनाले ज्यान गुमाएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको हो ।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँ रहेका नेपालीमा चिन्ता पनि थपिदै गएको छ । अहिलेसम्ममा ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । त्समध्ये ४५ जनालाई सञ्चो भएको छ भने ६ सय ६२ जनाको भारतका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।
कोरोना संक्रमण फैलिन नदिन भारतले देश 'लकडाउन' गरेको छ । लकडाउन गरेपछि भने संक्रमणको दर कमै देखिन्छ । पछिल्लो केही घण्टायता नयाँ बिरामी भेटिएका छैनन भने संक्रमणको दर ० दशमलव ०५ प्रतिशत मात्रै छ । संक्रमण भएकामध्येमा मृत्यु हुने दर ० दशमलव ०१ रहेको बिबिसीले जनाएको छ ।
नेपालीलाई चिन्ता !
भारतमा झण्डै ५० लाख हाराहारी नेपाली रहेको अनुमान गरिन्छ । कोरोना संक्रमण फैलिन थालेपछि धेरै नेपाली हतार हतार स्वदेश पनि फर्किएका छन । तर नेपालले सीमानाका बन्द गरेपछि उनीहरु विभिन्न सीमामा अलपत्र अवस्थामा छन ।
लकडाउनको अवधिमा भारतमा रहेका नेपालीमा चिन्ता थपिदै गएको छ । अहिलेसम्ममा मृत्यु भएकामध्य कोही नेपाली रहेको वा नरहेको पनि खुलेको छैन । संक्रमण भएकामा पनि नेपाली छन की छैनन् ? भन्ने पनि खुलेको छैन ।
यसले गर्दा भारतमा रहेका नेपालीबारेमा स्पष्ट जानकारी दिने निकाय नै नभएको गुनासो पनि हुन थालेको छ । भारतमा रहेको नेपाली दुतावासले भने जहाँ रहेपनि सुरक्षित रहन र घरभित्रै बस्न आग्रह गरेको छ । केहीदिनअघि प्रेस विज्ञप्ती निकालेर दुतावासले कोरोना फैलिरहेका बेला स्वदेश फर्किने हतार नगरी घरभित्रै बस्न आग्रह गरेको हो ।
तर धेरैजसो नेपाली कोरोनाको डरले नौकरी छाडेर पनि घर फर्किरहेका छन । उनीहरु बिना जाँच र क्वारेन्टाइनमा नबसी घर फर्किदा कर्णाली र सुदुरपश्चिमका गाउँमा भने जोखिम बढेको छ ।