कर्णाली : सधैं रोग भोक र अभावमा रहेको कर्णालीलाई महामारीबाट बच्न धौ धौ भएको छ । कर्णालीका हरेक बस्ती स्तरमै कोभिड लक्षणसहितका विरामीहरु बढ्दै गएका छन । उनीहरुलाई नत परिक्षण भएको छ । नत उपचार नै । पहिले गाउँनगरले पनि परिक्षणको दायरामा छोटे राजाहरुलाई प्राथमिकतामा राखेको थियो । र, छ । कोरोनाका लक्षणसहितका विरामीलाई वास्ता कम गरेको छ ।
अघिल्लो सातादेखि डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका विभिन्न बस्तीहरुमा कोरोना संक्रमणको लक्षणसहितका विरामी बढिरहेका छन । उनीहरुको नत उपचार गरिएको छ । नत परिक्षण नै ।
'महामारी यसरी तीव्र रुपमा फैलिएला भन्ने सोचका थिएनौं । यो भनाइ डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङको हो । त्यस कारण कोरोना परिक्षण गर्ने उपकरण लगायतका स्वास्थ्य सामग्रीहरु कम मात्रामा खरिद भयो । अहिले विरामीलाई परिक्षण गर्ने किट अभावका कारण परिक्षण हुन नसकेको गुरुङले बताए ।
डोल्पोबुद्धका हरेक गाउँमा कोरोना लक्षणसहितका विरामीहरु घरघरमा बढिरहेको छन । यस्तो बेला परिक्षणको दायरा बढाउन गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष गुरुङले भने । विरामीहरुलाई ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकी, हातखुट्टा गल्ने जस्ता लक्षणहरु व्याप्त देखिएका छन । परिक्षण नगरिएकोले कट्याक कोरोना हो, भन्ने अवस्था पनि नभएको अध्यक्ष गुरुङले बताए ।
बुधबार अध्यक्ष गुरुङले कर्णालीखबरसँग कुरा गर्दै भने, 'गाउँपालिकासँग स्वास्थ्य उपकरण खरिद गर्ने बजेट अभाव छ । हामीले संघीय सरकार, प्रदेश सरकार र अन्य निकायहरुसँग पहल तथा गुहार गरिरहेका छौं । संघ प्रदेशले उपकरण उपल्बध गराए जनशक्तिको व्यवस्थापन गरी गाउँपालिकाले परिक्षणको दायरा अगाडि बढाउने छ । गाउँ बस्तीमा रुघाखोकी ज्वरोका विरामीहरु बढिरहेका छन । र, हामीले सामान्य उपचारको लागि स्वास्थ्यकर्मी खटाएर उनीहरुको उपचार गराइरहेका छौं । कोही निको समेत हुनु भएको छ।"
यस्तै डोल्पाकै शे–फोक्सुन्डो गाउँपालिका भित्रको अवस्था पनि उस्तै छ । विरामीहरुलाई ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकी जस्ता लक्षणहरु देखिदै गएका छन । उनीहरुलाई नत उपचारको दायरामा ल्याइएको छ । नत परिक्षणको ।
डोल्पा जस्तै समस्या हुम्ला, जुम्ला, मुगु, जाजरकोटमा पनि देखिएको छ । दोस्रो लहरको कोरोनाले बस्ती स्तरमै प्रभावित बनाइरहेको छ । अघिल्लो सातादेखि जुम्लाको गुठिचौर गाउँपालिका ३ गर्ज्याङकोट बस्तीका घरघरमा विरामी पर्न थालेका छन । उनीहरुलाई पनि परिक्षण गरिएको छैन ।
यी नमुना मात्रै हुन । कर्णालीका हरेक जिल्लाहरुमा लक्षणसहितका विरामीहरु बढिरहेका छन । अझै भन्दा दुर्गम गाउँपालिकाहरुमा परिक्षण गर्ने उपकरणको अभाव भएको छ ।