नेपालमा विकसित देशको मानक भनेको सडक, भवन, बिजुली लगायत भौतिक पूर्वाधार मात्रै हो भन्ने बुझाइ छ । यो भौतिक संसाधन विकास मानवीय आवश्यकताका लागि हो । तर मानवीय पूँजी र संसाधनको विकासबिना देश समृद्ध बन्न सक्दैन ।
कर्णाली प्रदेश आफैमा सम्भावनाको खानी भएको प्रदेश हो । विगतमा काठमाडौंलाई पालेको प्रदेश भएपनि पछि काठमाडौंले चामल बोकेर खुवाउन थालेपछि कर्णाली विपन्नतामा फसेको हो । अहिले कर्णालीलाई जे जसरी चित्रण गरिन्छ, विगत त्यस्तो थिएन । पहिला केन्द्र शासित भएकोले पछि पर्यो भन्नु ठीकै थियो । प्रदेश संरचना बनेपछि अब त्यस्तो रहेन ।
कर्णाली कस्तो बनाउने भन्ने कुरा आफ्नै हातमा छ । यसलाई समृद्ध वा विपन्न कस्तो बनाउने ? यो विषय प्रदेशकै नेतृत्वमा आएको छ । कर्णाली र कर्णालीवासीलाई समृद्ध बनाउनका लागि योजनाबद्ध विकासको अति नै जरुरी देखिन्छ । जुन यसप्रकार छन्ः
संस्कृतिको संरक्षण : विश्व विख्यात इतिहासकार एच.ए डेविडले कर्णालीको इतिहासलाई जोगाई राख्न त्यहाँ संस्कृतिको पहिचान सहित संरक्षणको आवश्यकता छ भनि उल्ललेख गरेका छन् । हो, हाम्रा पुर्खाले पनि त्यो अंगाल्दै आए । हामी पनि अंगालौँ । आत्मसात गर्दै संगालौँ ।
भावी सन्ततिको निम्ति लागौँ । जातजतिसगँ भएको कला र संस्कृतिलाई स्वर्णिम अक्षरले सजावट गरौँ । कर्णालीमा भएका ५५ भाषा, ३२ प्रकारका कला संस्कृतिको जगेर्ना गरेको खण्डमा कर्णाली विकासको लागि एक मेरुदण्ड हुन सक्छ ।
भौतिक पूर्वाधार : नेपालमा सबैतिर परम्परावादी खालको विकास निर्माण र भौतिक पूर्वाधार बनिरहेको छ । हामीले अरुबाट पनि सिकेनौं र आफैले पनि प्रकृतिमैत्री विकास गर्न जानेका छैनौं । धेरैले चर्चा गर्ने गर्दछन नेपाल र स्वीजरल्याण्डको भौगोलिक स्वरुप दुरुस्त मिल्छन् । तर त्यहाँको विकास जस्तो यहाँ किन नगर्ने ? कहिलै चर्चा परिचर्चा गरिएन ।
देशकै सुन्दर भूगोल कर्णालीलाई लिन सकिन्छ । जो कोही यहाँ पहिलोपटक जाँदा फर्केर आउन मनै लाग्दैन । तर यसको विकटता र जटिलता भने कल्पना भन्दा बाहिर छ । यसलाई सहजता अर्थात् यातायातको पहुँच विस्तार कसरी गर्न सकिन्छ ? भन्नको लागि दीर्घकालीन गुरुयोजन निर्माग गरिनु जरुरी छ ।
अहिलेको जस्तो बिना योजना जथाभावी डोजर कुदाएर गरिने विकास रोकिनु पर्दछ । प्रकृतिलाई नबिगारिकन प्रकृति र वातारणमैत्री विकासको थालनी तत्काल गरिनुपर्दछ । यहाँ जटिल भूगोल भएको कारणले गर्दा सुरुङ्ग मार्ग, रञ्जुमार्ग, केवलकार र विद्युतीय रेलमार्गको निर्माण गरिनु उपयुक्त हुन्छ । आफ्नो मात्रै लगानीले सम्भव नभएकोले विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्नुपर्दछ । प्रदेशका दशवटै जिल्ला, स्थानीय निकायसम्म पूर्वाधार विकास गरिनुपर्दछ । ताकि कर्णाली घुम्न चाहने जो कोही सजिलै यात्रा गर्न सकुन ।
पर्यटन पूर्वाधार : यातायातको सहज विस्तारपछि स्थानीय जनजीवन, कलासंस्कृति, हस्तकला, अर्गानिक कृर्षिलाई प्रवद्र्धन गरिनुपर्दछ । यहाँको परम्परागत जीवनशैलीलाई मात्रै बचाउन सकियो भने वर्षेनी लाखौ स्वदेशी, विदेशी पर्यटक भित्र्याउन सकिन्छ । सामुदायिक साँस्कृतिक संग्रहालय, होमस्टे, सोभिनियर सप, उच्चहिमाली खानपिन प्रवद्र्धनबाट पर्यटक बसाइ लम्ब्याउन सकिन्छ ।
यहाँ ९६ प्रतिशत भन्दा बढी साँस्कृतिक विरात कुमशाल्या अर्थात कथित दलितहरुकै रहेको छ । उनीहरुले विकास, संरक्षण र बचाउँदै आएको हजारौं वर्ष अघिको साँस्कृतिक सम्पदा पर्यटक आकर्षणको केन्द्र बन्न सक्छ ।
यसलाई राम्रो प्रवद्र्धन गर्न सक्यो भने प्रदेश समृद्धिको आधार तयार हुने देखिन्छ । कर्णाली–भेरी नदीमा जल यातायात, र्याफटिङ, फिसिङको रुपमा विकास गर्न सकिन्छ । रारा, फोक्सुण्डो ताल र मानसरोवरसम्म जाने वातावरणमैत्री भौतिक पूर्वाधार बनाइ पर्यटकलाई आकर्षित गर्न सकिन्छ । वनजङ्गलको उचित संरक्षण र विकास गरी निकुञ्ज, वन्यजन्तुको माध्यमबाट विश्वका पर्यटक तान्न सकिन्छ ।
उद्यमशीलताको विकास : यहाँ बसोबास गर्ने रैथाने विशेषगरी कथित दलित समुदायको शिल्पकौशलको विकासबाट प्रदेश समृद्ध बनाउन सकिन्छ । सर्वप्रथम प्रदेश सरकारले प्रदेशका दशवटै जिल्लामा बसोबास गर्ने यो समुदायको सामाजिक–साँस्कृतिक सर्वेक्षण गर्नुपर्दछ ।
यसबाट उनीहरुको ज्ञान, सीप, कला, प्रविधि, सँस्कार, सँस्कृति, सम्पदा र सभ्यातको यतार्थ चित्रण आउन सक्छ । उनीहरुको मूर्त, अमूर्त र अभिलेखात्मक साँस्कृतिक सम्पदाको विगत, वर्तमान अवस्थाको जानकारी पाइन्छ । यसबाट भविष्यको योजना बनाउन सजिलो हुन्छ ।
सामूहिक रुपमा शिल्पकौशलको उत्पादन गरी बिक्री वितरणको व्यवस्था भने स्थानीय र प्रदेश सरकारले जिम्मा लिनुपर्दछ । स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न उपहार पसललाई प्रवद्र्धन गर्न सकिन्छ । यसका लागि स्थानीय र प्रदेश सरकारले एकैपटक लगानी गरिदिए पुग्छ ।
सहकारीको माध्यमबाट सामान बिक्री गरी आएको मुनाफालाई त्यसको ब्याज पुनः सामूहिक लगानीमै लगाउन सकिन्छ । प्रदेशको मुख्य–मुख्य पर्यटकीय क्षेत्रमा उत्पादित सामग्रीलाई बिक्रीवितरण गर्ने व्यवस्था सरकारले गरिदिनुपर्दछ । स्वदेश र तथा विदेशमा समेत हस्तकलाको सामग्रीको प्रचार गरी निर्यात गरेर आय बढाउन सकिन्छ ।
कृषि र जडीबूटी : कृर्षि र जडीबूटीमा कर्णाली प्रदेश अत्यन्तै धनी रहेको छ । यो प्रदेश तराई, उच्च पहाड र उच्च हिमाली भागसम्म विस्तार भएको छ । परम्परागत रुपमा लगाइँदै आएको बालीनाली अझैसम्म लोप भैसकेको छैन । यसको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिएमा जनताको आयमा वृद्धि हुनसक्छ । मार्सीलाई विश्वबजारमा लान सकिन्छ ।
स्याउ, कागुनो, फापर, जौं, आलु, पिँडालुलाई बिर्सिन थालियो । बजारे चामल र चाउचाउको स्वाद लिन थालेपछि स्थानीय उत्पादन विस्थापित भएको छ । अनि सबै आयतित सामानमा रमाउनाले स्थानीय उत्पादन विस्थापित हुँदै गएको छ ।
यसबाट भोकमरी, कुपोषण र गरिबीले च्याप्न थालेको हो । यहाँको चिसो मौसमको उत्पादित कृर्षि उपजको अर्गानिक खाना खुवाएर पर्यटक तान्न सकिन्छ । त्यसैगरी बहुमूल्य यार्सागुम्बा र गुची च्याउको व्यवसायिक उत्पादन, सिलाजितको प्रवद्र्धन, जडीबूटी चियाको विस्तार, डालेचूकको विकास, टिमूर लगायत जडीबूटीलाई उद्योगकै रुपमा विकास गर्न सकिन्छ । यो प्रदेशलाई विषादीमल रहित अर्गानिक हरित प्रदेशको रुपमा विकास गर्न सकिन्छ । यसबाट आर्थिक सहयोगको लागि संघ सरकारको मुख ताक्नु पर्दैन ।
जलविद्युतको विकास : कर्णाली प्रदेश अथाह जलसम्पदाको धनी छ । कर्णाली, भेरी, तिलानदी, हिमानदी लयागत नदी, रारा, फोक्सुण्डो ताल लगायत जलभण्डार रहेको छ । प्रकृतिले दिएको जल सम्पदालाई बचाउनु आजको मुख्य चुनौती हो । कार्बन उत्सर्जन गर्ने सवारी साधनको अत्याधिक प्रयोग, विश्वतापमान बृद्धि, वनविनाश, भूक्षय, डढेलो, बाढीपहिरो, अनधिकृत र अनियन्त्रित डोजरे विकास, अनावृष्टि, अतिवृष्टि जस्ता कारणले पानीको स्थायी मुहान र स्रोतहरुमा ह्रास आइरहेको छ । प्राकृतिक जलभण्डारलाई बचाइ राख्न विकास, निर्माणको वर्तमान कार्यशैली तत्कालै परिवर्तन गर्न जरुरी छ ।
डिजेल, पेट्रोल जस्ता इन्धन प्रयोग हुने सावारी साधनलाई तुरुन्तै रोक लगाउनुपर्दछ । व्यापक अभियानकै रुपमा वृक्षारोपन, नदी तटबन्ध अभियान चलाउनुपर्दछ । यसो गर्न सकिएमा उत्तरतिरको सेतो हिमाल बाँच्न सक्छ । सेतो हिमाल बाँच्नु भनेको प्रदेशको जलसम्पदा, नदी, तालतलैया बाँच्नु हो । यसरी बचेको जलस्रोतमा आफूले चाहे अनुसारको जलविद्युत उत्पादन गर्न सकिन्छ । आफूले मात्रै विद्युत उत्पादन गर्न सम्भव नभएकोले विदेशी लगानीकर्तालाई समेत सहभागी गराइनु पर्दछ ।
आफ्नो आवश्यकता परिपूर्ति पछि बाँकी रहेको विद्युत छिमेकी मुलुकलाई बिक्री गरी प्रशस्तै मुनाफा कमाउन सकिन्छ । यसले प्रदेशलाई समृद्ध बनाउन ठूलो भूमिका खेल्न सक्छ । यसरी अहिले गरिबी, अभाव, भोकमरी, विपन्नता र असमानतामा बाँच्न विवश कर्णाल प्रदेश एक दशकभित्रै समृद्ध बन्न सक्छ । आधारशिला तयार हुनसक्छ । यसका लागि सामाजिक विविधता अनुसारको समानुपातिक उपस्थिति स्थानीय र प्रदेश सरकारका सबै निकायहरुमा हुनै पर्दछ ।
दयामायाले राजा महेन्द्रको जस्तो देखावटी समावेशीले अब पुग्दैन । देश भ्रष्टाचारले आक्रान्त छ । यो प्रदेश पनि यसबाट अछुतो छैन । कर्णाली प्रदेश विकसित, समृद्ध र जनता खुशी, सुखी बनाउने सबैको सपना छ । तसर्थ यसका लागि जनताप्रति समर्पित दूरदर्शी, इमान्दार, नैतिकवान नेतृत्व प्रदेशले पर्खिरहेको छ । यदि यस्तो नेतृत्वले प्रदेश हाँक्ने हो भने कर्णालीलाई समृद्धि बनाउने सपना विपनामा परिणत गर्न धेरै समय लाग्दैन ।
(लेखक नेपाली, कला संस्कृति तथा विकास अध्येता हुन् । कर्णालीको कला संस्कृतिका बारेमा उनले विशेष अध्ययन गरेका छन् ।)