काठमाडौ । चीनको वुहानबाट फैलिएको कोरोना अर्थात कोभिड १९ भाइरस विश्वका १ सय ९९ देशमा फैलिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार दिनप्रतिदिन फैलिदै गएको कोरोनाले विश्वका आधा भन्दा बढी मानिसहरुलाई घरभित्रै बस्न बाध्य बनाएको छ ।
गएको माघमा चीनबाट फैलिएको कोरोना भाइरस यो समाचार तयार पार्दासम्म १ सय ९९ देशका ५ लाख बढी मानिसहरुमा देखिएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वका ५ लाख ३२ हजार २ सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।
यी हुन संक्रमण फैलिएका शीर्ष १० देश
यसमध्ये सबैभन्दा धेरै अमेरिकाका छन । हिजोसम्म यो संख्या चीनमा धेरै थियो । तर पछिल्लो २४ घण्टामा १७ हजार बढीमा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण दरमा अमेरिका शीर्ष स्थानमा उक्लिएको हो ।
अमेरिकामा अहिलेसम्म ८५ हजार ५ सय ९४ जनामा कोरोना देखिएको छ । तीमध्ये १७ हजार भन्दा धेरै पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन । यसमध्ये २ हजार १ सय २२ जनाको अवस्था गम्भिर छ भने ८२ हजारको अमेरिकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
अमेरिकापछि चीनमा कोरोना संक्रमितको संख्या ठूलो छ । चीनमा अहिलेसम्ममा ८१ हजार ३ सय ४० जनामा कोरोना पोजेटिभ छ । तीमध्ये पछिल्लो केही घण्टामा ५५ जना नयाँ बिरामी थपिएका छन । केही दिनयता चीनमा नयाँ संक्रमण र मृत्यु हुनेको संख्या धेरै हदसम्म घट्दो क्रममा छ ।
संक्रमितमध्ये १ हजार ३४ जनाको अवस्था मात्रै गम्भिर छ भने ३ हजार ४ सय २० जनाको चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चीनपछि इटालीमा कोरोना संक्रमितको संख्या ८० हजार ५ सय ८९ पुगेको छ । पछिल्लो केही घण्टा यता नयाँ बिरामी फेला नपरेपनि अमेरिकापछि सबैभन्दा छिटो संक्रमण फैलिएको देश इटाली हो । जहाँ ३ हजार ६ सय १२ जनाको अवस्था नाजुक छ भने ६२ हजार १३ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।
कोरोना संक्रमणका हिसाबले चौथो स्थानमा रहेको स्पेनमा अहिलेसम्म ५७ हजार ७ सय ८६ जनामा कोरोना पोजेटिभ रिर्पोट छ । तीमध्ये ३ हजार १ सय ६६ जनाको अवस्था गम्भिर छ भने ४६ हजार ४ सय ६ जनाको उपचार चलिरहेकै छ ।
पाँचौ स्थानमा रहेको जर्मनीमा अहिलेसम्म ४३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको अवस्था मात्रै गम्भिर छ । यस्तै छैटौ स्थानमा रहेको एसियाली देश इरानमा २९ हजार ४ सय ६ जनामा कोरोना पुष्टि हुँदा २ हजार ७ सय ४६ को अवस्था गम्भिर छ ।
सातौ स्थानमा रहेको युरोपियन देश फ्रान्समा २९ हजार १ सय ५५ जना संक्रमित छन । तीमध्ये ३ हजार ३ सय ७५ जनाको अवस्था गम्भिर छ भने २२ हजारको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै ११ हजार ८ सय ११ जना संक्रमित रहेको स्वीट्जरल्याण्ड आठौ स्थानमा छ । जहाँ १ सय ४१ जना मात्रै गम्भिर छन ।
यस्तै नवौ स्थानमा रहेको बेलायतमा ११ हजार ५ सय ५८ जना बिरामी छन । बेलायतमा १ सय ६३ जनाको अवस्था मात्रै गम्भिर छ भने बाँकी १० हजारको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।
चीनलगत्तै कोरियामा फैलिएको कोरोनाले ९ हजार ३ सय ३२ जना संक्रमित छन । जापानपछिको शक्तिशाली र समृद्ध मानिने दक्षिण कोरियामा अहिलेसम्म ४ हजार ६ सय ६५ जना अस्पतालमा उपचार गराइरहेका छन भने ५९ जनाको अवस्था मात्रै गम्भिर छ ।
संक्रमण फैलिएका शीर्ष १० देशमध्ये ६ वटा युरोपियन, ३ वटा एसियाली र एउटा अमेरिकी महादेशका छन । एसियाली देश चीनबाट शुरु भएको कोरोनाले अहिले सबैभन्दा ठूलो क्षति युरोप र अमेरिकी महादेशमा पुर्याइरहेको छ ।
२४ हजार जनाको मृत्यु
कोरोना संक्रमणबाट अहिलेसम्म विश्वभर २४ हजार ९० जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै इटाली र स्पेनका छन । इटालीमा अहिलेसम्म ८ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन ।
इटालीपछि स्पेनमा ४ हजार ३ सय ६५ जनाले ज्यान गुमाएका छन । स्पेनपछि सबैभन्दा धेरै ज्यान गुमाउने देश चीन हो । चीनबाटै शुरु भएको कोरोनाले शुरुमा ३ हजार २ सयको ज्यान लिएको थियो । तर पछिल्लो एक महिनायता चीनमा मृत्यु हुनेको संख्या निकै थोरै छ । पछिल्लो तथ्यांकअनुसार चीनमा ३ हजार २ सय ९२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
इटाली, स्पेन र चीनपछि इरानले कोरानाका कारण धेरै मानिसको क्षति व्यहोरेको छ । इरानमा अहिलेसम्म २ हजार २ सय ३४ जनाको ज्यान गएको छ । इरानपछि फ्रान्समा पनि कोरोनाले ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । फ्रान्समा अहिलेसम्ममा १ हजार ६ सय ९६ जनाले ज्यान गुमाएका छन ।
इरान र फ्रान्सपछि अमेरिकाले कोरोनाको कारण १ हजार ३ सयको ज्यान गुमाएको छ । अमेरिकापछि बेलायतमा अहिलेसम्म कोरोनाले ५ सय ७८ जनाको मृत्यु भएको छ ।
इरान, फ्रान्स, अमेरिका र बेलायतभन्दा स्वीट्जरल्याण्ड र दक्षिण कोरियाले कम क्षति व्यहोरेका छन । अहिलेसम्म स्वीट्जरल्याण्डमा १ सय ९२ जनाको ज्यान जाँदा दक्षिण कोरियामा १ सय ३९ जनाको मृत्यु भएको छ ।
तुलनात्मक रुपमा कोरोनाले एसियाली देशभन्दा युरोपियन देशले बढी क्षति व्यहोरेका छन ।
१ लाख २४ हजारलाई सञ्चो, चीनमा उपचार तिब्र
विश्वभर झण्डै साढे ५ लाख मानिस संक्रमित हुँदा १ लाख २४ हजार ३ सय ३२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन । पछिल्लो तथ्यांकअनुसार चीनमा कोरोनाका बिरामीको तिब्र गतिमा उपचार भइरहेको छ । जहाँ ८१ हजार संक्रमित हुँदा अहिलेसम्म ७४ हजार ५ सय ८८ जना उपचारपछि घर फर्किसकेका छन ।
चीनपछि इरान र इटालीका दशौँ हजार मानिस कोरोनाबाट बाँचेर घर फर्किएका छन । इरानमा १० हजार ४ सय ५७ जना उपचारपछि घर फर्किदा इटालीमा १० हजार ३ सय ६१ जना सञ्चिएका छन ।
कोरोनाको उच्च संक्रमण रहेको स्पेनमा ७ हजार १५ जना उपचारपछि घर फर्किदा जर्मनीमा ५ हजार ६ सय ७३ जनाले अस्पतालको लामो बसाईबाट छुटकारा पाएका छन । जर्मनीपछि फ्रान्सका ४ हजार ९ सय ४८ जना पनि घर फिरेका छन ।
फ्रान्सपछि दक्षिण कोरियामा पनि निको हुने दर बढ्दो छ । दक्षिण कोरियाका ४ हजार ५ सय २८ मानिसलाई उपचारपछि घर फर्काइएको छ । फ्रान्स र कोरियापछि अमेरिकाका १ हजार ८ सय जनापनि उपचारपछि घर फर्किएका छन ।
यस्तै स्वीट्जरल्याण्डका १ सय ३१ र बेलायतका १ सय ३५ जनाले पनि नयाँ जीवन पाएका छन ।
नेपालमा अहिलेसम्म तीन जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन भने दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।