हुम्ला : हुम्लामा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएका व्यक्तिले समयमै उपचार र उद्धार नपाएको खुलेको छ । कोरोना पुष्टि भएलगत्तै सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५७ वर्षीय पुरुषलाई श्वास प्रश्वासमा समस्या भएको थियो ।
समस्या हुनेवित्तिकै उनका छोराहरुले गाउँपालिकालाई खबर गरेका थिए । तर गाउँपालिकाले बेवास्ता गर्दा उनको उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भएको मृत्तकका आफन्तले बताएका छन् ।
उपचार गर्न घोडामा चढाएर लगियो
सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको थियो । अस्पताल लैजान बिहीबार बिहान दुई जना छोराहरुले घोडामा चढाएर दुल्ली कुना पुर्याएका थिए । त्यहाँबाट अगाडि बढ्दै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
'बुवालाई हेलिकोप्टरबाट उद्धार गरेर थप उपचार गर्न पाएको भए बचाउन सकिन्थ्यो', मृतकका छोरा जसबहादुर विश्वकर्माले भने, 'तर हामी गरीब र दलित भएकै कारण उपचार र उद्धार पाउन सकेनौँ ।'
आर्थिक श्रोत कमी भएको कारण आफै हेलिकोप्टर रिजर्भ गर्न नसक्ने तर गाउँपालिका, प्रदेश सरकारको आशा गरेपनि त्यो माग सुनुवाई नभएको उनले गुनासो गरे । कोरोना संक्रमित बिरामीको उद्धार गर्न हेलिकोप्टरले साढे नौ लाख भाडा लिने गर्छन ।
कर्णालीमा संक्रमितको उद्धारमा पनि विभेद
आर्थिक अभाव कमी भएकै कारण बुवालाई गुमाउनु परेको अर्का छोरा भिम विश्वकर्माले बताए । 'सायद पैसावाल भएको भए बुवा बचाउन सकिन्थ्यो', उनले भने, 'तर गरिबले त्यो सोच्नु मुर्खता रहेछ ।'
यसअघि सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई गाउँपालिका र प्रदेश सरकारले हेलिकोप्टरबाट उद्धार गरेर जुम्ला लगेको थियो । उनले बुधबार मात्रै कोरोना जितेर बाच्न सफल भए । तर समयमै उपचार र उद्धार नभएकै कारण विभेद खेप्दै हुम्लाका पहिलो संक्रमित दलित समूदायका व्यक्तिको मृत्यु भएको हो ।
कर्णाली प्रदेश सरकारले संक्रमितको उद्धारका लागि निःशुल्क हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको थियो । तर हुम्लाका दलित संक्रमितको हकमा भने प्रदेश सरकारको निर्णय कार्यान्वयन हुन सकेन । रिप गाउँ सदरमुकामबाट पैदल हिडेर जान दुई दिन लाग्ने दुर्गम गाउँ हो ।
यो पनि पढौँ
हुम्लामा कोरोना भाइरस संक्रमणबाट पहिलो मृत्यु