कर्णाली : कर्णालीको दुर्गमता सबैलाई अवगत छ । त्यसमाथि हुम्लाको समस्या नेपालका सबैलाई थाहा छ । हुम्ला मात्रै एउटा जिल्ला हो, जहाँ अहिलेसम्म गाडी पुगेको छैन् । बाँकी सबै जिल्ला सडक सञ्जालसँग जोडिएका छन् । यसै वर्ष मात्रै सरकारले हुम्लामा सडक बाटो निर्माण गरेर सदरमुकाम सिमीकोटसम्म गाडी पुर्याउने बजेट भाषणमा घोषणा गरेको छ ।
तर यहाँ कथा बेग्लै छ । कोरोना महामारीले महासंकटको रुप लिएको छ । दैनिक मानिसहरुको मृत्यु भइरहेको छ । केही समयअघिसम्म कर्णाली ग्रीन जोन थियो । तर अहिले उपचार नपाएर दैनिक ज्यान गुमाउनु परिरहेको छ ।
कर्णालीको भौगोलिक विकटतालाई मध्यनजर गरेर प्रदेश सरकारले संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने निर्णय समेत गर्यो । जुन सुखद पक्ष हो । तर विभेदले गाँजिएको कर्णालीमा धनी र पहुँचवालालाई यो निर्णयले धेरै खुशी दिएको छ । ज्यान जोगाएको छ ।
तर गरीबलाई भने यो निर्णय हर्ष न विस्मात जस्तै छ । न उनीहरुले उद्धार पाएका छन् । न त समयमै उपचार । जसकारण कर्णालीका गरीब र दलितले बाटैमा ज्यान गुमाउनु परेको छ । हुम्लामा मात्रै पछिलल्लो दुई हप्तामा देखिएको दृष्टान्त हेरौँ ः
हाकिमलाई हेलिकप्टरबाट उद्धार
हुम्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक बिरामी परे । उनलाई कोडिभ देखियो । कोभिडपछि उनलाई श्वास प्रश्वासमा समेत समस्या भयो । गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई त्यसपछि लगत्तै उपचारका लागि बाहिर लैजान हेलिकप्टर मगाइयो ।
उनको हुम्लामा उपचार नहुँने भएपछि हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगियो । रानीवनको आइसोलेशन वार्डमा तीन दिनदेखि बस्दै आएका उनलाई जटिल भएपछि हेलिकोप्टर मगाएर उद्धार गरिएको थियो ।
अक्सिजनको मात्रा ४० मा झरेपछि जिल्ला बाहिर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको थियो । त्यो पहल गर्ने अरु होइन, गाउँपालिका अध्यक्ष थिए । जसको सिधा कर्णाली प्रदेश सरकारसँग समन्वय थियो ।
साढे ९ लाख भाडा पर्ने उनले तुरुन्तै मगाएर आफ्ना स्वास्थ्य संयोजकलाई उनले जुम्ला पुर्याए । हेलिकोप्टरको भाडा तिर्न स्वयंम धामीले पनि आफ्नो पैसा खर्च गरेका थिए । उनी जुम्ला पुगेर अक्सिजनसहितको वार्डमा बसे ।
उनले कोभिड पनि जिते । बुधबार उनको रिर्पोट नेगेटिभ आयो । जसले सर्केगाड गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयलाई खुशी दिलायो ।
तर गरीबलाई घोडा र स्ट्रेचर !
बुधबार सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजकले कोभिड जित्दा त्यसको भोलिपल्ट एक गरीब गाउँलेको ज्यान गयो । बुधबार नै सर्केगाँड २ रिप गाउँका ५७ वर्षीय टोप्ले विश्वकर्मालाई कोभिड पुष्टि भएको थियो ।
त्यसको भोलिपल्टै उनको ज्यान गयो । कारण समयमै उपचार नपाएर । त्यो भन्दा ठूलो कारण, उनलाई श्वासप्रश्वासमा समस्या भएपछि पटक पटक उद्धारका लागि गाउँपालिकाका जनप्रतिनिधिसँग याचना गरिएको थियो ।
तर सुनेनन् । समस्या हुनेवित्तिकै उनका छोराहरु भीम र जसबहादुर विश्वर्काले गाउँपालिकालाई खबर गरेका थिए । तर गाउँपालिकाले बेवास्ता गर्दा उनको उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भयो ।
सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लिन हिडाइएको थियो । सुरुमा स्ट्रेचर र पछि घोडामा हिडाइएको थियो ।
अस्पताल लैजान बिहीबार बिहान दुई जना छोराहरुले घोडामा चढाएर दुल्ली कुना पुर्याएका थिए । त्यही उनको ज्यान गयो । बुवाको मृत्युपछि छोरा जसबहादुरले भने, हेलिकप्टरबाट उद्धार गरेर थप उपचार गर्न पाएको भए बचाउन सकिन्थ्यो । तर हामी गरीब र दलित भएकै कारण उपचार र उद्धार पाउन सकेनौँ ।
हुम्लाको कथा, पूरा कर्णालीकै व्यथा
कर्णाली प्रदेशमा अहिले सबै जिल्लामा कोडिभ संक्रमित बिरामी छन् । केहीको हेलिकप्टरबाट उद्धार भइरहेको छ । केही दिनको फरकमा यस्ता समाचार पनि आउने गरेका छन् । अनि दैनिक दर्जन हाराहारीमा संक्रमितको ज्यान पनि गइरहेको छ ।
हेलिकप्टरबाट उद्धार पाउने गरीब र दलित होइनन् । जो हेलिकप्टरबाट उद्धार पाउँछन् । तर समाचार पनि छाउँछन् । तर गरीबले न उद्धार पाउँछन् । न त उनीहरुबारे समाचार नै आउँछ । कर्णाली यसै कर्णाली भएको होइन ।
यस्तै अभाव, विभेद र समस्याले कर्णालीको परिचय गरीबीमै रहेको हो । जसका लागि बेला बेला कर्णाली प्रदेश सरकारले महत्वांकाक्षी निर्णय गर्छ । तर कार्यान्वयनमा चुक्छ । अनि जति पनि निर्णय गरिन्छन् । ती गरीब र दलितका लागि भनेर गरिन्छ । तर फाइदा भने पहुँचवाला र धनीले नै लिन्छन् ।
हुम्लाको सर्केगाडमा बिहीबार ज्यान गुमाएका विश्वकर्मा एक दलित हुन् । जोसँग उपचार गर्ने पैसा थिएन । उनले कसरी उद्धार पाउनु ? कर्णाली प्रदेश सरकारको प्रवक्तामा सीता नेपाली छिन् । जो आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् ।
तर उनलाई हुम्लामा उपचार नपाएर एक दलित संक्रमितको ज्यान गयो भन्ने जानकारी पनि छैन । यसबारे उनको निर्णय, थप अग्रसरता र पीडितलाई राहतको कुरा त धेरै परको विषय हो । हुम्ला पूर्वमन्त्री दलबहादुर रावलको जिल्ला हो ।
उनी सामाजिक विकास मन्त्री हुँदा थुप्रैपटक हुम्लामा हेलिकोप्टर लिएर गएका छन् । तर एक गरीब र दलितको उपचार र ज्यान बचाउनेबारे उनी बेखबर छन् । यो हुम्लाको मात्रै कथा होइन, सारा कर्णालीकै व्यथा हो ।
मुख्यमन्त्री र मन्त्री हेलिकोप्टरमा, जनताको मृत्यु अकालमा
कर्णालीमा प्राय आफ्नो जिल्ला जाँदा मुख्यमन्त्री र मन्त्रीहरु हेलिकोप्टर प्रयोग गर्छन । हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पा जाँदा प्राय मन्त्री र मुख्यमन्त्री सँधै हेलिकोप्टरको प्रयोग गर्छन् । उनीहरुका लागि नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हुन्छ ।
तर हुम्ला, जुम्ला, कालिकोट लगायतका ठाउँमा जनता भने कोरोनाले अकालमै मरिरहेका छ्न । अहिलेसम्म सरकारमा रहेका मन्त्रीलाई यसबारेमा हेक्का छैन् । उनीहरुले यसबारेमा ख्याल नै गरेका छैनन् । मात्रै केही स्वार्थ र गठजोड अनि आफन्त र कोही पहुँचवालाको उपचारमा मात्रै अग्रसरता देखाउँछन् ।
यसले कर्णालीका सबै मन्त्री र मुख्यमन्त्री स्वार्थ केन्द्रित हुँदै गएका छन् । उनीहरुले जनताको समस्या भुलेका छन् । मन्त्रिपरिषदले पूर्णता पाउँदा उनीहरु अब नयाँ नयाँ योजना र बजेटबाट कसरी आफ्नो दुनो सोझ्याउने भनेर सोचिरहेका छन् ।
तर जनताको आधारभूत माग र आवश्यकतालाई बेवास्ता गरिरहेका छन् । यसले चौतर्फी समस्या निम्त्याइरहेको छ । तर नेता र मन्त्रीहरु भने आफ्नो जिम्मेवारी भुलिरहेका छन् । केही समयअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट पुगे । उनी सिर्फ आफ्ना केही नातेदार र आफन्त भेटेर आए ।
कोरोना महामारी नियन्त्रणका लागि भन्दै जिल्लामा बैठक बोलाए । तर कोरोना बिरामी, उनीहरुका आफन्त र उनीहरुले भोगिरहेको आर्थिक समस्या समाधानतर्फ एक नजर पनि लगाएनन् । उनी हरेक पटक जिल्ला जान्छन् । आफ्नो मतदाता पनि राम्रोसँग भेट्दैनन् ।
आफ्नो स्वार्थकेन्द्रित काम गरेर फर्किने गरेका छन् । उनलाई बढीमा बढी आफ्नो जिल्लाको मात्रै चिन्ता छ । आफ्नो निर्वाचन क्षेत्रको चिन्ता छ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको कुर्सीमा बसेर उनी कालिकोट मात्रै आफ्नो ठान्छन् ।
बाँकी कर्णालीको उनको चाँसो र चिन्तामा छैन् । जिम्मेवारी त अहिले पार्टीको स्वार्थअनुसार चल्छ । यसले गर्दा कर्णालीमा हुनेखाने र पहुँच भएकालाई मात्रै हेलिकोप्टरले उद्धार गर्छ । सोझा र सर्वसाधारण जनता भने बाटोमै कोरोनाले उपचार नपाएर ज्यान गुमाउनु बाध्य छन् । तर यसको हेक्का अहिलेसम्म सरकारले राखेको छैन ।
कर्णालीमा झण्डै २४ लाख दलितको बसोबास छ । धेरै ठाउँमा जातीय विभेद ज्यूँका त्युँ छ । तर कर्णालीको गृहमन्त्रीमा आसिन सीता नेपालीका आगामी नयाँ योजना र उनीहरुका समस्या समाधान गर्ने कुनै गतिलो उपाय छैन ।
उनी मन्त्री भएपछि धेरैले आश, भरोसा गरेका छन् । दलितको अवस्था पनि सरकारले सुन्छ भन्ने आश र विश्वास छ । तर हुम्लामा दलित व्यक्ति कोरोनाले मर्दा उनले फोन सम्पर्क समेत गर्ने प्रयास गरिनन् । यसले देखाउँछ । उनी पदमा पुगेपछि जनता भन्दा बढी आफ्नो चिन्ता गर्न थालेकी छिन् ।
अरु मन्त्रीको हविगत पनि यस्ता यस्तै छ । जो जनताको नाममा राजनीति त गरिरहेका छन् । तर आफ्नो र पार्टीको स्वार्थ केन्द्रित काममा मात्रै केन्द्रित देखिन्छन् ।