दैलेख : आजभन्दा चार वर्षअघि बैशाख जेठ तीर तपाईको घरघरमा धारा पुग्छ, खानेपानीको अभाव झेल्नु पर्दैन, तपाईहरुका पानी बोकेर खाने दिन गए, अब खानेपानी घरमै पुग्छ । यस्तै भन्थे दैलेखी नेताहरु । समस्या र अभावका उपायका नारा बच्ने नेताहरुले चुनाव जितेर कुर्सीमा गए । कुर्सी सम्म पुगेको करिब चार वर्ष बित्न लाग्यो । ती जनताका अभाव र समस्या भने, ज्युँका त्युँ रह्रे ।
सधैं बैशाख जेठदेखि खानेपानीको समस्या झेल्दै आएका दैलेखको दुल्लु नगरपालिकाका स्थानीयहरुले फेरी खानेपानीको समस्या झेल्दै आएका छन । दुल्लु नगरका विभिन्न बस्तीहरुमा यतिवेला खानेपानीको चरम अभाव भएको छ ।
एउटा बस्तीमा धेरै घरधुरी भएका कारण दुल्लु नगरपालिका - १० थामीधारा टोलबासीहरु पानी भर्नाको लागि घुइँचो लाग्ने गरेका छन । जेठ महिनामा कुवाहरु पनि सुक्दै गएका छन । उक्त टोलमा धारा एउटा मात्र छ । अझै धारा राम्रोसँग मर्मत नगर्दा पानी सानो आउने गरेको छ । आफ्नो गाग्री भर्नाको लागि घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको स्थानीय तिथा नेपालीले बताइन् ।
उक्त थामीधारा टोलमा खानेपानी भर्नाको लागि दिनौं घुइँचो लाग्ने गरेको छ । एउटा धारा, धेरै घरधुरी संख्या भएपछि जेठ महिनामा त्यहाँका स्थानीयलाई पानीको जोहो गर्न धौ धौ पर्ने भएको तिथाले भनिन् ।
गाग्रीमा पानी भर्दै - फोटो : रजनी/कर्णालीखबर
यो बस्ती नमुना मात्रै हो । यस्तो पानीको अभाव झेल्ने आएका दैलेख दुल्लुका कयौं बस्तीहरु छन । प्रकृतिनुसार समय बद्लिन्छ । ऋतु बद्लिन्छ । तर थामीधाराबासीको खानेपानी पर्याप्त रुपमा पाउने सपना बद्लिदैन । उनीहरुका समस्या ज्युँका त्युँ रहन्छ । त्यहाँका स्थानीय भन्छन् यो बैशाख र जेठ महिना पानीको निकै हाहाकार हुने गरेको छ ।
धेरै घरधुरी संख्या हुने भएकोले शौचालय जानेपानी, पशुबस्तुलाई खुवाउने पानी, आफुले पिउँनको लागि राती ८–९ बजेसम्म पानी बोक्ने गरेको अर्का स्थानीय तेजबहादुर थापा बताए । थापा र तिथा जस्तै सबै गाउँलेको समस्या छ ।
यी दैलेखमा पानीको अभावमा रहेका नमुना टोलहरु हुन । नगरपालिका भरी खानेपानीको समस्या झेल्दै आएका छन । कतै योजना नै छैनन् । कतै भएका योजनाहरु पनि अलपत्र छन । मर्मत कार्य भएको छैन । त्यसले गर्दा दैलेखको दुल्लु नगरपालिका लगायत आसपासका ठाउँहरुमा खानेपानीको हाहाकार भएको हो ।