कर्णाली : कर्णाली विकट छ । तर पर्यटकका लागि स्वीट्जरल्याण्ड हो । त्यो रारा जाँदा होस वा डोल्पाको फोक्सुन्डो ताल जाँदा राम्रोसँग महसुस गरिन्छ । मानसरोवर जानेहरु पनि स्वर्गको अनुभूति गर्छन । जुन तिब्बतमा पर्छ । तर नेपालकै कर्णाली र हुम्लाको बाटो भएर जानुपर्छ ।
भौगोलिक विकटता, अभाव र गरीबीले गाँजिएको कर्णाली पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र हो । जलस्रोतका हिसाबले नेपालकै माग धानेर एसियालाई समेत बिजुली दिन सक्ने कर्णाली नदीको आसपासमा अहिले पनि धेरै पर्यटकीय गन्तव्य छन् ।
जो पर्याप्त प्रचार प्रसार नभएर पर्यटकको मनसम्म पुग्न सकेका छैनन् । कर्णालीमा जति पर्यटकीय क्षेत्रको बारेमा प्रचार प्रसार र चाँसो छ । ती साच्चिकै स्वर्ग जस्ता छन् । अति नै विकट मानिने कर्णालीको सबै समस्या ढाकेर पर्यटकलाई स्वर्गमा पुगेको भान गराउँछन् ।
कर्णाली साच्चिकै पर्यटकीय सम्भावनाले भरिएको ठाउँ पनि हो । जहाँ धेरै सम्भावना छन् । त्यसमध्ये आज हामी कर्णालीका उत्कृष्ट १० पर्यटकीय गन्तव्य, क्षेत्र, जिल्लाका बारेमा चर्चा गर्दैछौँ :
१. मुगुको रारा ताल
रारा ताल कर्णालीको नम्बर एक पर्यटकीय गन्तव्य हो । जुन नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । मुगुको छायानाथ रारा गाउँपालिकामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो ताल पनि हो । रारा ताल मुगु र कर्णाली मात्रै होइन विश्वमा नेपाललाई चिनाउने पर्यटकीय क्षेत्र पनि हो ।
समुन्द्र सतहदेखि दुई हजार नौ सय ७२ मीटर उचाईमा रहेको राराताल हेर्न नेपालदेखि विदेशी पर्यटक समेत पुग्ने गरेका छन् । सडक मार्ग भएर पनि रारा पुग्न सकिन्छ । यसका लागि सुर्खेतबाट दुई देखि तीन दिन लाग्छ ।
काठमाडौँ वा नेपालगञ्जदेखि विमान चढेर सिधै रारा पुग्न सकिन्छ । विमान चढेर रारा जानेलाई ताल्चा विमानस्थलबाट झण्डै ६ किलोमीटरको यात्रा गर्नुपर्छ । हिडेर जानलाई दुई घण्टा भन्दा बढी समय लाग्छ ।
रारालाई ‘स्वर्गकी अप्सरा’ भन्ने व्यक्ति राजा महेन्द्र हुन् । २०२० सालमा रारा पुगेपछि तालको सुन्दरताबाट मोहित भएर महेन्द्रले ‘स्वर्गकी अप्सरा’ शीर्षकमा कविता नै लेखेर राराको बयान गरेका थिए । त्यसयता रारालाई हरेकले ‘स्वर्गकी अप्सरा’ भन्छन् । १० वर्गकिलोमीटर भन्दा धेरै क्षेत्रफलमा फैलिएको राराताल पाँच किलोमीटर लम्बाई र तीन किलोमीटर चौडाईमा फैलिएको छ । जसको गहिराइ १६७ मीटर छ ।
२. डोल्पाको शे-फोक्सुण्डो ताल
शे-फोक्सुण्डो ताल नेपालको चर्चित पर्यटकीय तालमध्ये एक हो । जसलाई नेपालको सबैभन्दा गहिरो ताल भनिन्छ । यस ताललाई स्थानीय तहमा रिग्म ताल पनि भनिन्छ ।
यो ताल शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने हिमाली सफापानीको ताल हो । यो ताल समुद्री सतह भन्दा करिब ३ हजार ९०० मिटरको उचाइमा छ । तालको लम्वाइ ४ दशमलव ५ किलोमीटर र चौडाइ १ दशमलव ६ किलोमीटर छ ।
नेपालको सबैभन्दा गहिरो मानिने यो तालको गहिराई ६५० मीटर छ । यो तालबाट कान्जिरोवा हिमाल देख्न सकिन्छ । फोक्सुण्डो तालमा सुलिगाँड झरना बगेको देखिन्छ ।
शे–फोक्सुन्डो ताल समुन्द्री सतहबाट करिब ३ हजार ६२१ मिटरको उचाईमा छ । ताल ५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । तालाको वरपर दुई दर्जन घर मिलेर फोक्सोन्डो गाउँ बनेको छ । यो तालमा घुम्नेको ठूलो लर्को छ । तर होटल लगायत विकास भने विस्तारै हुँदै गएको छ ।
३. सुर्खेतको काँक्रेबिहार, बुलबुले, देउती बज्यै र घण्टाघर
कर्णाली जाने जो कोही सुर्खेत पुग्नुपर्छ । कर्णाली प्रदेशको राजधानी भएकाले पनि सुर्खेतका पर्यटकीय गन्तव्यले चर्चा पाउँछन् । दोस्रो लुम्बिनीका रुपमा चिनिएको काँक्रेबिहारको गुम्बा निकै आश्चर्यको छ । जहाँ ठूला ठूला ढुंगा परापूर्व कालमा गुम्बा बनाउन कसरी प्रयोग गरिएका थिए ? भन्ने चाँसो बढी छ । सुर्खेत बजारबाट दक्षिणतिर पर्ने यो गुम्बा पुगेपछि धेरैले आश्चर्य ठान्छन् ।
लुम्बिनीमा मायादेवी मन्दिर छ । शान्त ठाउँ र पार्क छ । त्यो बाहेक अरु आश्चर्य देखिदैन । बुद्धको जन्मथल सामान्य र ऐतिहासिक मात्रै होइन, विश्व चर्चित छ । तर काँक्रेविहार पर्यटकका लागि आश्चर्यजनक हो । कारण, यसको ढुंगाको आकृति फरक फरक छ । भूकम्पले भत्केपछि भने काँक्रेविहार उसैगरी पुनर्निर्माण गरिएको छ । घना जंगलको बीचमा रहेको काँक्रविहार बौद्ध र हिन्दु धर्मावलम्बीको साझा धार्मिकस्थल हो ।
सुर्खेत पुग्ने जो कोहीलाई बुलबुले ताल घुम्ने रहर लाग्छ । विभिन्न गीत संगीतका कारण सुर्खेतको सबैभन्दा चर्चित ठाउँ बुलबुले ताल हो । चर्चा ठूलो भएपनि यो वास्तविक ताल भने निकै सानो छ ।
तालबाट जम्मा भएको अर्को तालले पर्यटकको थोरै भएपनि जिज्ञासा मेट्ने गर्छ । तर यो ताल तीन वर्ष यता निर्माण हुन सकेको छैन । पानी सुकेको छ । बुलबुले गएका हरेक पर्यटक सानो ताल र बँगैचा घुमेर फर्किने गरेका छन् ।
सुर्खेतमा चर्चित धार्मिकस्थल देउती बज्यै हो । जहाँ कर्णालीका सबैजसो जिल्लाका मानिस पूजाका लागि पुग्ने गर्छन । यस्तै सुर्खेत पुगेका हरेकले घण्टाघर देख्छन् । घण्टाघर चढेर सुर्खेत उपत्यका नियाल्छन् । सुर्खेत हेर्ने भ्युटावर जस्तै यसको महत्व र आकर्षकपना छ ।
तर घण्टाघरलाई थोरैले पर्यटकीय गन्तव्य मान्छन् । किनकी यो सजिलै सबैले देख्ने ठाउँमा छ । यो जति आकर्षक छ । घण्टाघरको टुप्पोमा चढेर हेर्दा यसको मज्जा पनि धेरै छ । तर सुर्खेत बजारमा रहेको यो क्षेत्र सबैले घुम्छन् ।
सम्भवतः सुर्खेत पुगेका हरेक व्यक्ति देउती, बज्यै, बुलेबुले तालपछि घण्टाघर हेर्न पुग्छन् । त्यसपछि मात्रै काँक्रेविहार । तर काँक्रेविहारको पर्यटकीय गन्तव्य अरुभन्दा भिन्न र ऐतिहासिक महत्वको छ ।
४. दैलेखको ज्वाला र पञ्चदेवल
दैलेखको ज्वाला सबैभन्दा चर्चित र सम्भावनाको क्षेत्र हो । दैलेख पुग्ने हरेक व्यक्ति ज्वाला हेर्न पुग्छन् । जहाँ पुग्न शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका लगायतका क्षेत्र हुँदै जानुपर्छ ।
ज्वाला भने पेट्रोलियम पदार्थ भएको ठाउँ हो । यो प्राकृतिक ग्यास हो । शीरस्थान र नाभिस्थानमा बल्ने ज्वाला अनुसन्धानको विषय छ । तर आगो बल्ने भनेपछि धेरै मानिसहरु दैलेख पुग्ने गरेका छन् ।
कर्णालीमा पर्यटकको रोजाईमा पर्ने ठाउँ हुन, दैलेखका पञ्चशीला । जसलाई पञ्चदेवल भन्ने गरिएको छ । शिखरशैलीका शिलाहरु निकै आश्चर्य जनक रुपमा ठड्याइएको छ । महाभारतका पाण्डवहरूले पञ्चदेवल बनाएको विश्वास छ । तर प्रमाण छैन ।
भारत र नेपालमा पनि प्रचलित शिखर शैलीका मन्दिरजस्तो देखिए पनि पञ्चदेवलहरूको बनावट फरक छ । वर्गाकारमा माथि गुम्बज आकारमा चुच्चो पारेर शीर्षभागमा चक्राकार आमलक शिला राखेको हेर्दा यसको चर्चा बढ्दो छ ।
यसका बारेमा पर्याप्त अनुसन्धान भएको छैन् । केही विश्वास र हेर्दा आकर्षक लाग्ने पञ्चदेवल घुम्न पर्यटक पुग्ने गरेका छन् ।
५ सल्यानको कुपिन्डे दह
सल्यानको कुपिन्ड दह कर्णालीको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यो दह जति सफा छ । त्यति मनमोहक पनि छ । यसले मौसम अनुसार रंग बदल्ने गरेको पर्यटकको भनाई छ । सुर्खेतबाट सल्यान जाँदा बालुवाखानीबाट १४ किलोमीटर उत्तरतर्फ यो दह पर्छ ।
यो त्यति ठूलो छैन । तर अत्यन्तै रोचक छ । तालमा जस्तै गरी यो दहमा हिजोआज डुंगा चलाइन्छ । पर्यटकलाई घुमाइन्छ । कुपिन्ड दह पहिलेभन्दा चर्चित छ । तर यो ठाउसम्म पुग्ने पर्यटकले जति चर्चा र यसको विकास देख्नुपर्ने हो, त्यो देख्न सकेका छैनन् ।
६. रुकुम पश्चिको स्यार्पु ताल
रुकुम पश्चिमको स्यार्पु ताल पनि पछिल्लो समय चर्चित ताल मानिन्छ । रुकुम पश्चिमको बााफिकोट गाउापालिका वडा नं. ३ र ४ मा पर्ने यो तालको सुन्दरताको चर्चा बढ्दै गएको छ ।
अग्ला पहाडको बीचमा रहेको यो ताल पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । तर पनि प्रचार प्रसार पर्याप्त छैन । स्यार्पु ताल संरक्षण गर्न कर्णाली प्रदेश सरकारले एक करोड बजेट छुट्याएको छ ।
तर यो बजेटले ताल वरपर सडक बनाउन थालिएको छ । जसले गर्दा यो ताल पुरिने जोखिम छ । ताल घुम्न जाने पर्यटकले बाटो र होलट रनाम्रो नभएको गुनासो गर्दै आएका छन् ।
७. कालिकोटको पचाल झरना
कर्णालीको एक नयाँ र पृथक पर्यटकीय गन्तव्यमा कालिकोटको पचाल झरना पर्छ । पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना पनि हो । ठूलो ताल रारा भएजस्तै सबैभन्दा अग्लो झरना पचाल झरना हो ।
यसलाई दक्षिण एसियाकै अग्लो झरना बनाउने कोसिस भइरहेको छ । तर पर्याप्त अध्ययन अनुसन्धान भएको छैन । कारण यसको अहिलेसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाप लिइएको छैन । यसको प्रचार प्रसारका लागि स्थानीय तहको नाम नै पचालझरना गाउँपालिका राखिएको छ ।
गाउँपालिका अध्यक्ष खड्गबहादुर सेजुवालका अनुसार पचाल झरनाको उचाई ३८१ मिटर छ । जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, र्याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीले यसको नाप लिँदा ३८१ मीटर रहेको पाइएको हो ।
यस अघि नेपालको सबैभन्दा अग्लो झरना तेह्रथुमको हृयातुङ झरना मानिन्थ्यो । जसको उचाई ३६५ मिटर छ । तर नाप लिएपछि पचाल झरना सबैभन्दा अग्लो झरना मानिएको हो । तर भौगोलिक विकटता र पर्याप्त प्रचार प्रसार नहुँदा यो झरना ओझेलमा छ ।
८. तातोपानी कुण्ड र पाटन
जुम्लाको तातोपानी कुण्ड पनि पछिल्लो समयको प्रमुख पर्यटकीय गन्तव्य बन्न थालेको छ । तातोपानीमा नुहाउँदा बाथ, एलर्जी माइग्रेन लगायतका रोग निको हुने विश्वास छ । जुन सबैभन्दा बढी जुम्लाको तातोपानीको चर्चा हुन्छ ।
जुम्लाको तातोपानीको चर्चा हुँदा यसको गाउँपालिकाको नाम राखिएको छ । जुम्लाको तातोपानी गाउँपालिका वडा नं २ जर्मि गाउँमा रहेको तातोपानी यसको प्रमुख चर्चा हुने ठाउँ हो । जुम्ला पुगेका जोकोही तातोपानी कुण्ड पुग्ने गरेका छन् ।
जो म्याग्दीको तातोपानी जस्तै यसको महत्व पनि बढ्दो छ । तातोपानी कुण्ड मुगुको सोरु गाउँपालिकाको वडा नं ८ जिमा, छायाँनाथ रारा नगरपालिकाको १३ तातोपानी र हुम्लाको खार्पुनाथ गाउँपालिकामा वडा नं ४ मा रहेको खार्पु तातोपानी कुण्ड पनि चर्चित छ्न । तर यी तातोपानी कुण्ड प्रचार प्रसारका कारण ओझेलमा छन् ।
९. मानसरोवर जाने हुम्ला बाटो
तिब्बतको मानसरोवर विश्वकै चर्चित पर्यटकीय गन्तव्य हो । खासगरी भारतीय पर्यटक मानसरोवर जाने गर्छन् । भारतीय पर्यटक मानसरोवर जाँदा नेपालको हुम्लाको बाटो भएर जाने गर्छन । हुम्लामा त्यस्तो ठूलो पर्यटकीय गन्तव्य छैन ।
तर हुम्ला आफैमा पर्यटकका लागि ठूलो गन्तव्य हो । जहाँ अहिलेसम्म गाडी पुगेको छैन । हुम्ला मुश्किलले पर्यटक पुग्छन् । कुनै काम विशेषले हुम्ला पुग्नेहरु जहाज उडेर जान्छन् । सडक नभएका कारण हुम्ला विरलै मान्छे पुग्छन् ।
तर मानसरोवर जानेहरु हुम्ला बाटो भएरै जाने भएकाले पनि हुम्ला एक फरक खालको गन्तव्य हो । जो कर्णाली प्रदेश र केन्द्र सरकारको योजनामा छैन । हुम्लाको विकटता आफैमा गन्तव्य मानेर धेरैजसो मान्छे हुम्ला पुगेर नयाँ नयाँ अनुभव साट्ने गर्छन ।
खासगरी भारतीय र नेपाली पर्यटक हुम्लाको सिमीकोट विमानस्थल झरेर त्यहाँबाट हिल्सा हुँदै मानसरोवर जाने गर्छन् । हुम्लाको लाप्चा र लिमी भ्यालीबाट मानसरोवरको दर्शन गर्न सकिन्छ । धेरैजसो हुम्लाका मानिसहरु लिमीबाटै मानसरोवरको मज्जा लिने गर्छन ।
१०. भेरी र कर्णाली नदीमा र्याफ्टिङ
कर्णाली भन्ने बित्तिकै मानिसहरु कर्णाली नदी सम्झिन्छन् । हुम्लाबाट कालिकोट, दैलेख, सुर्खेत, कैलाली, बर्दिया हुँदै कर्णाली नदी भारतको गंगामा मिसिन्छ । तर जहाँ जहाँ कर्णाली बग्छ, त्यहाँ कथा छ । दुःख छ । सुन्दरता छ । र पर्यटन पनि । नेपालकै सबैभन्दा लामो कर्णाली नदीमा र्याफ्टिङ सबैभन्दा महत्वपूर्ण मानिन्छ । प्राय विदेशी पर्यटक हुम्लाबाट र्याफ्टिङ गरेर कर्णाली चिसापानीसम्म पुग्छन् ।
नेपालका धेरै र्याफ्टिङ व्यवसायी कर्णालीमा पर्यटकलाई घुमाउने गरेका छन् । कर्णाली नदीसँगै र्याफ्टिङ भेरी नदीमा पनि गरिन्छ । डोल्पाबाट बग्ने भेरी नदी रुकुम, जाजरकोट, सल्यान, सुर्खेत हुँदै बगेर कर्णाली नदीमा मिसिन्छ ।
भेरी र कर्णालीमा र्याफ्टिङ गर्ने पर्यटक सुर्खेतको घाटगाउँमा रहेको दोभानमा भेटिन्छन् । त्यसपछि कर्णाली चिसापानीमा पुगेर यात्रा टुंग्याउँछन ।
यसबाहेक जाजरकोटको जाजरकोट दरबार, बारेकोट, सुर्खेतको दोभान, जाजुरा दह, बराहताल, चमेरो गुफा, जुम्लाको चन्दननाथ मन्दिर, रुकुमको मुशिकोट, जुम्लाको पाटन, सिँजा, सुर्खेतको गुँरासे, गढी लगयातका क्षेत्रहरु पनि उत्कृष्ट छन् । तर प्रचार प्रसारको अभावमा ओझेलमा परिरहेका छन् ।
(समाचारमा प्रयोग भएका केही फोटोहरु गुगलबाट लिइएको हो -सम्पादक)