अहिले कर्णाली प्रदेश सरकार बजेट ल्याउने तयारीमा छ । यसका लागि विभिन्न चरणमा छलफल पनि भइरहेका छन् । तर आगामी आर्थिक वर्षको बजेट ल्याउँदा पहिलो कुरा त कोरोना महामारीलाई नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्छ ।
जनतालाई आक्रान्त पारेको यो महामारी नियन्त्रणका लागि बजेट केन्द्रित गर्नुपर्ने हुन सक्छ । महामारी नियन्त्रण, त्यही अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन र उनीहरुलाई प्रोत्साहन दिने कुरामा पनि बजेट केन्द्रित गर्नुपर्छ ।
कोभिडपछि बजेटलाई शिक्षामा केन्द्रित गर्नुपर्छ । कर्णालीको विकासका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । शिक्षालाई रोजगारी, विकास र गाउँकै स्रोत साधनलाई गाउँमै रोजगारी सिर्जना गर्न सक्ने गरी उत्पादनमुखी बनाउनुपर्छ । कर्णालीमा वैकल्पिक शिक्षा पनि बहस र प्राथमिकताको विषय हो । यसतर्फ पनि बजेटले ध्यान दिनुपर्छ ।
कर्णालीमा छुटाउने नहुने कुरा उत्पादन हो । स्रोत साधनको कमी कर्णालीमा छैन । तर त्यसबाट उत्पादन हुन सकेको छैन । त्यसैले उत्पादनमा धेरै ध्यान दिन आवश्यक छ । कर्णाली जडीबुटीले भरिएको प्रदेश हो । नेपालमा पाइने ७०० प्रकारका जडीबुटीमध्ये कर्णालीमा मात्रै ५०० प्रकारकार जडीबुटी पाइन्छन् ।
त्यो जडीबुटिको संरक्षण, त्यसको प्रशोधन, त्यसबाट उत्पादन र निर्यात गर्ने गरी बजेटमा कार्यक्रम ल्याउन आवश्यक छ । जडीबुटीको संरक्षण र उत्पादन बढाउने गरी बजेट छुट्याउनुपर्छ ।
कर्णालीको बजेट ल्याउँदा ध्यान दिनुपर्ने अर्को विषय हो, रोजगारी । कर्णालीमा रोजगारीको सबैभन्दा ठूलो समस्या छ । कर्णालीका धेरै मानिस अहिले पनि रोजगारीका लागि भारत जान्छन् । बालबालिका तथा युवाहरु पढाई छाडेर भारत जाने गरेका छन् ।
पछिल्लो समय विदेश जाने गरेका छन् । कर्णालीमा रोजगारी सिर्जना गर्ने विषयमा प्रदेश सरकार गम्भीर बन्नुपर्छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा भर पर्नु हुँदैन । रोजगारी बढाएर भारत जाने समस्यालाई विस्तारै अन्त्य गर्न बजेट ल्याउनुपर्छ ।
युवाहरुले आफ्नो गाउँको विकास आफै गर्ने खालको कुरा बजेटमा आउनुपर्छ । कर्णालीको अर्को समस्या बजेट मात्रै होइन, बजेट यसअघि पनि नराम्रो थिएन । आगामी वर्ष पनि नराम्रो आउँदैन । तर कार्यान्वयन हुन सकिरहेको छैन ।
बजेट आएपछि सबै दलले कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ । बजेट सत्तापक्ष वा प्रतिपक्षको हुँदैन । त्यो जनताको कर हो । जनताले पसिना बगाएर सरकारलाई तिरेको करको भकारी हो । त्यसलाई प्रयोग गर्न सक्नुपर्छ ।
बजेट कार्यान्वयनमा सबै लाग्नुपर्छ । कर्णालीमा ध्यान दिनुपर्ने अर्को पक्ष मानव संशोधनको विकास हो । जनशक्तिको अभाव छ । दक्ष जनशक्तिको अभाव झन् धेरै छ । अहिलेसम्म भएका जनशक्तिको क्षमता प्रयोगमा आएको देखिदैन । उनीहरुलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याउनुपर्छ ।
कर्णालीको अर्को प्रमुख पाटो पर्यटन हो । पर्यटनलाई केन्द्रित गरेर बजेट ल्यायो भने कर्णालीले मुहार फेर्न सक्छ । यसै पनि कर्णाली गरीब र अभावले पिछडिएको प्रदेश भनिन्छ । तर कर्णाली सम्भावना र प्राकृतिक स्रोत साधनले भरिएको प्रदेश हो भनेर सरकारले बजेट ल्याउनुपर्छ ।
यसका लागि सबैभन्दा पहिले कर्मचारीलाई प्रोत्साहन गर्नुपर्छ । आफ्नो जिल्लाका कर्मचारीलाई अरु जिल्लामा पठाउने । अनि अर्को जिल्लाका कर्मचारीलाई आफ्नो जिल्लामा बोलाउने र घुम्न पठाउनुपर्छ । यसका लागि प्रदेश सरकारले नै विशेष व्यवस्था गर्नुपर्छ ।
अनि त्यसको प्रचार पनि गर्नुपर्छ । संघीय सरकारले कर्मचारीलाई १२ दिनको पर्यटन बिदा दिने व्यवस्था बजेटमा ल्याएको छ । पर्यटन क्षेत्र बढाउन संरचना विकास गर्नुपर्छ । संरचना विकास गर्न सरकारले बजेटमा ध्यान दिन आवश्यक छ ।
एक जिल्ला, एक पर्यटन क्षेत्र भनेर सरकारले कार्यक्रम नै ल्याउनुपर्छ । हरेक स्थानीय तहमा पर्यटन क्षेत्र तोकेरै काम अघि बढाउनुपर्छ । पर्यटन क्षेत्रमा आकर्षण बढाउनुपर्छ ।
पर्यटनसँगै अध्ययन भएका आयोजनालाई पनि बजेटले सम्बोधन गर्नुपर्छ । अब आयोजनालाई विकास गर्नका लागि बजेट अनुसार कार्यान्वयनमै जानुपर्छ । अनि नयाँ नयाँ अध्ययन पनि गर्नुपर्छ । यसअघि कर्णालीमा खासै अध्ययन भएको छैन । त्यसका लागि जनशक्ति परिचालन गर्नुपर्छ ।
निजी क्षेत्रलाई पनि बजेटले ठूलो समस्या पारेको छ । प्रदेशका निजी क्षेत्रलाई सरकारले हेर्छ भन्ने आभास दिलाउने गरी बजेट ल्याउनुपर्छ । उनीहरुलाई पनि कोभिडमा तंग्रिने गरी बजेटले सम्बोधन गर्न आवश्यक छ ।
(हुम्लामा जन्मिएका रोकाया कर्णाली प्रदेश योजना आयोगका सदस्य हुन् । शनिबार बिहान १० बजे कर्णाली खबरले गरेको कुराकानीमा आधारित)