नाम सुनेको । जाने मन पनि भएको । तर जाने साइत नजुरेको । ठाउँको नाम, रानीखर्क । हुम्लाको रानीसैना नाम्खा गाउँपालिकाकामा यो ठाउँ छ । चर्चा धेरैले उहिल्यदेखि गर्थे । राम्रो छ । असाध्यै राम्रो छ भन्थे । आफूलाई जाने मौका जुरेको थिएन ।
जाने दुई वटा मात्रै विकल्प छन् । एउटा पैदल र अर्को हेलिकोप्ट । दुवै विकल्प मेरा लागि उपयुक्त थिएनन् । यसका लागि समय मिलाउन र अवसर मिल्न ठुलै पहल र जमघट हुनुपथ्र्यो । त्यो समय सित्तिमित्ती आएन । पैदल मार्गबाट गए सिमकोटबाट तीन दिन लाग्छ । हेलिकप्टरबाट गए ९ मिनेट । कहाँ पैदल, कहाँ हेलिकप्टर । सपना थियो ।
सपनामा रहन्छ कि ? भन्ने डर पनि । एक दिन मौका मिल्यो, त्यो पनि हेलिकोप्टरमा । जाने दिन हल्का बादल पनि लागेको थियो । सिमकोटबाट रानीखर्कको हेलिकोप्टर यात्रा एउटा दुर्लभ अवसर थियो । त्यो मलाई मिल्यो । जुन नसोचेको कुरा हो । हुम्लामा यस्तो अवसर कहिलेकाँही जुर्छ । हेलिकोप्टर उड्यो । कालो बादल लागेकाले हेलिकोप्टरले सेतो बादलमाथि उड्ने हिम्मत गरेन ।
हुम्लामा हिउँ सदाबहार । अग्ला हिमालका बीचमा घुस्यो हेलिकोप्टर । हामी केही थियौँ । म झ्यालको छेउमा थिए । काँचको सिसाबाट दुरुस्तै देखिने । ओल्लो घरदेखि पल्लो घर हेरेजसरी । साना ठुला हिमताल । नदी, हिउँ जमेर सेताम्मे हिमालका बिच लामा र फराकिला हिमाली पाटनको दृश्य हाम्रा अगाडि आए । ओहो ! खोई कसरी बयान गर्नु ? हेलिकोप्टर उड्दै गयो ।
हाम्रा आँखामा आएका दृश्य मनभित्र छिर्न थाले । केही मिनेटमा आयपुग्यो रानीखर्क । सुन्दर फाँट । हरियाली । पाटन मात्रै होइन, घास ओछ्याएर स्वागत गरेको जस्तो । जता हेर्यो । उतै राम्रो । रमाइलो के बयान गर्नु ? हेलिकोप्टरबाट हाम फालेर सुतिहालौ लाग्ने । प्रकृतिको त्यो मज्जा सँधै कहाँ लिनु पाउनु ? पर्यटकीय सम्भावना बोकेको भएपनि ओझेलमा परेको ठाउँ हो, रानीखर्क ।
जो तीन जिल्लाको मिलन बिन्दु हो । हुम्ला, बाजुरा र बझाङको सीमास्थल । करिब चार हजार मिटर उचाईमा छ । हिमाली उपत्यकाको स्वरुप पाएको रानी खर्क पुग्दा अर्कै अनुभुति हुन्छ । कतै स्वर्गमा पुगेको जस्तो । स्वर्गीय आनन्द भएजस्तो छ ।
रानीखर्क धेरै कुराबाट मनोरञ्जन लिन सकिन्छ । तर यो मौका थोरैले पाउँछन् । प्रकृतिले दिएका यस्ता उपहार पनि मान्नै पर्छ । न कसैले संरक्षण गरेरका हुन्, न त उत्पादन नै । मात्रै प्रकृतिको उपहार । जो छन् सब आफै प्रकृतिका वरदान हुन ।
बर्षमा ६ महिना मात्र मानिसहरु आवतजावत हुन्छ रानीखर्कमा । अहिले विशेष गरेर खर्ककै रुपमा यो ठाउँ परिचित छ । अरुका लागि होइन, त्यही गाउँका स्थानीय र किसानका लागि । हाम्रा लागि त त्यो ठाउँ स्वर्ग भैगो । तर पुग्न पो कठिन ।
त्यस्तो के छ रानीखर्कमा ?
पर्यटकीय क्षेत्र भएर पनि पहिचान छैन् । मुख्य समस्या यही हो । हुम्ला पट्टीको सैपाल हिमाल ।हिमालको एकातिर तीन सय बर्ष पुरानो गुम्बा । ,खर्क । झरना, हिमनदी, हिम ताल, पाटन, जंगली जनावर नाउर कस्तुरी, मृग, डाँफे, च्याखुरा लगाएतका पंछीहरु पनि छन् ।
सयौको संख्यामा रहेका खर्क, त्यहाँ भेडा, बाख्रा, याक, चौरी, जुमा, झोपा, घोडाको बथान पनि बाक्लै देखिने गरेको छ । त्यो संगै सयौ किसिमका जडिबुटीको बास्नाले पनि त्यहाँ पुग्ने जो कोहीलाई मोहित नपार्ने त कुरै भएन । उ च्च हिमाली क्षेत्रमा पाईने बिभिन्न प्रजातिका फुलहरु फुलेर पनि रंगि बिरंगी देखिने पाटनको मनोरम दृश्य पनि कम्ती लोभ लाग्दो छैन ।
यतै बसौ बसौ जस्तो लाग्ने । छ महिना भने हिउँसंगै सुत्ने रानी खर्कमा त्यो समयमा कसैको पनि आवत जावत हुदैन । कसरी जाने ? छ महिना मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने सिजन भएको कारण हेलिकप्टरबाट पनि यात्रा गर्न सकिने अबस्था छ । तर, पैदलै जान पनि खासै कठिन भने छैन ।
नाम्खा गाउँपालिकाको वडा नम्बर तीनको खगालगाउँबाट बिस्तारै गए तीन दिन र अलि छिटै हिडे दुई दिनमा रानी खर्क पुग्न सकिने अबस्था छ । बाटोमा पनि अनेक रमणीय दृश्यकहरु अबलोकन गर्दै दुई वटा पहाडहरु काट्नु पर्छ ।
रानी खर्कमा अन्य केही पनि ब्यबस्था नभएको हुँदा सबै चिब बोक्नु पर्ने हुन्छ । या त खर्कालुहरुसंग बास बस्नु पर्ने अबस्था छ । यो कुरा भने यात्रा गर्नेले पहिले नै निधो गर्नु आवश्यक छ।
(रावत, नेपाल पत्रकार महासंघ, हुम्ला शाखाका अध्यक्ष हुन् ।)