अक्सर मान्छेहरु भन्छन्, जीन्दगी कर्कलाको पानी जस्तै हो । कतिबेला कहाँनेटरबाट जिप्टिने हो ? थाहा हुँदैन । अझ सोझो गरी भन्ने हो भने जीवन छ, मृत्यु पनि अवश्य छ । दिन मात्रै फरक हो ।
आखिर जे जसरी सम्बोधन गरे पनि मृत्यु स्वभाविक हो । अस्वभाविक मृत्युलाई पत्याउन दाग बत्ती दिएर आएका हातहरुले पनि विश्वास गर्दैनन् । मलाई पनि यस्तै महसुस भएको छ ।
दिदीको दैनिक पूजा गर्ने तुलसीको मठ, हिड्ने बाटो, आँगन, छत, भान्साकोठा सुनसान छन् । लाग्छ, नेपालगञ्जको पुष्पलाल चोक र कारकाँदो चोकतिर अहिले पनि टहलिदैँ हुनुहुन्छ । दिदीको भौतिक शरिर हामीमाझ छैन भन्दा पत्यार लाग्दैन । कान्छु घरबाट कहिले आयौँ भन्ने शब्दबाट मलाई बोलाउँदै हुनुहुन्छ ? जस्तो लाग्छ ।
दिदीसँग केही दिन पहिले अनलाइनमा भिडियो कल भएको थियो । जतिबेला उहाँ ओछ्याउनमा हुनुहुन्थ्यो । भन्नुभयो, कान्छा मलाई कोरोना लाग्यो । मन आत्तियो । सोधे, अहिले कस्तो छ, दिदी ? जवाफमा भन्नुभयो, अहिले त खासै अप्ठेरो छैन, ठिकै छु । मैले फेरि भने, म नेपालगञ्ज आउँछु नि । तर दिदीले पर्दैन भन्नुभयो । गत साल पनि कोरोना पोजेटिभ थियो भन्नुभयो ।
मलाई पनि कोरोना लागेको थियो । गलायो पनि । तर हिम्मत हारिन । अन्ततः जिते । केही समय गाह्रो भएपनि जितेरै छाडे । आँफुलाई जस्तै ठानेर भने , दिदी आत्तिनु पर्दैन ठिक दिदीलाई आत्तिनुपर्दैन भने । निको भइहाल्छ भन्ने विश्वास थियो ।
काँचो बेसार, गुर्जो, अदुवा, तातोपानी खानुहोला भनेर सुझाए । त्यो भन्दा बढी सञ्चो हुन्छ, केही हुँदैन भने । तर सोचेजस्तो कहाँ हुन्छ र रु दिदी सञ्चो भइहाल्छु भन्ने विश्वास थियो ।
तीन दिनपछि फोन गरे । तर उठाउनु भएन । अक्सिजन लगाएको छु । बोल्न अलि मिलेको छैन । मोबाइलमा एसएमएस पठाउनु भयो । दिदीलाई गाह्रो भयो सम्झे ।
अघिपछि लामो कुरा गर्ने दिदी । यसपटक फोन काटिरहनु भएको थियो । कतिबेला लाग्थ्यो, दिदी रिसाउनुभयो । अब सञ्चो भएपछि कल गर्छु सम्झे । दुई दिन बित्यो मन आत्तियो ।
भोलिपल्ट दिउँसो सुतिरहेको थिएँ । अचानक गतसाल आफ्नै कालगतिले बित्नु भएकी ठुली आमालाई सपनामा देखेँ । बिहान घर परिवारले खसीको मासुभात खाएका थियौँ सपनामा ।
फेरि साझँ चार बजेर तिर माथिल्लो घरको आगनमा अर्थात ठुली आमाकै घरको आगनमा दुइवटा खसी काटिएका थिए । ठुली आमा केही नबोली काटिएका कालो र सेतो खसी मध्ये सेतो खसीका रौँलाई तातो पानी लगाएर रौँ निकाल्दै हुनु हुन्थ्यो। आँगन रातो रगतले भिजेको थियोे ।
त्यसपछि म सपनाबाट झसङ्ग बिउँझिएँ । मुटु ढुकढुक हुँदै शरीर फुल्यो । बाथरुममा गएर हात मुख धोएँ । मुटु ठेगानमा आउन सकिरहेको थिएन। पछिसम्म मुटु धड्किरह्यो । कतै अनिष्ट त हुँदैन यही सोचिरहेँ । नराम्रो सपना देखिएछ भने तुरुन्तै भन्नु हुँदैन । आमा बुवा घरमा यस्तै भन्नुहुन्थ्यो । म सानो छँदा, मैले पनि तुरुन्तै कसैलाई भनिन ।
मनमै गुपचुपसँग सँगालेर राखेँ सपना । कोरोना संक्रमित भएर बिरामीहरु मरिरहेका समाचारहरुले मन आतंकित बनाउँथ्यो बेलाबखत । कहिले दिदी माथी अनिष्ट आई लाग्ने त होइन ? मनमा यस्ता तर्कनाहरु पनि खै कताबाट उत्पन्न भइरहन्थे ।
अर्को दिन दिदीलाई फोन गरेँ फोन रिसिभ भएन । भिनाजुलाई गरेँ फोन रिसभ भएन। मनमा हुने नहुने शंका उपशंकाले घर जमायो । त्यस पछि ठुलो दाजुलाई फोन गरेँ। ठुलो दाजुले दिदिको उपचार नेपालगन्ज भेरी अस्पतालमा भई रहेको कुरा गर्नु भयो ।
मन केही शान्त भयो। अब सन्चो हुन्छ भन्ने कुरामा म ढुक्क थिएँ। दिदीलाई भेट्न भोलि नेपालगन्ज जाने तयारी गर्दै थिएँ । नगद रुपैयाँ खल्तिमा थिएन। बैंकहरु सबै बन्द । एटिएम लिएर यरीचौक बैंक नजिक पुगे। यस्तै साढे पाँच बजेको हुनु पर्छ । ठुलो दाजुको फोन आयो नेपालगन्जबाट । तुरुन्त दिदीको जिउँदो मुख हेर्न आजैं आइजा भन्ने कुरा गर्नु भयो ।
पत्याउँनै सकिन केही बोल्न सकिन । रिङ्गटा लाग्यो थुचुक्क बसे । निधारबाट छिरछिरे पसिना निक्ले । बाईक स्टाट गरेँ कोठामा पुगे । जताततै दिदीको तस्बिर घुम्न थाल्यो । घरबाट माईला दाजुले पनि कल गर्नुभयो । कहाँ छस कान्छा र? म सुर्खेत नेपालगन्ज जाँदैछु । माल्दाई पनि बिरामी नै हुनुहुन्थ्यो ।
अहिले त रात पर्न थालिसक्यो । बाटोमा आरक्ष पर्छ । बाघ भालुको डर हुन्छ । भोलि बिहानै जा भन्नुभयो । बाघभालु भने पछि केही महिना अगाडि चिसापानी आरक्षमा बाघले मान्छे मारेको घटनाको सम्झना भयो । फेरि जिउ तर्सियो ।
बबई देउराली खण्डमा बाघ देखा पर्ने भएकोले मेरो पनि मनमा डर पलायो। उताबाट दिदी सिरियस भएको खबरले मनमा ढुकढुकीको गति घटेकै थिएन । खाना खान मनै लागेन एक गिलास पानी पिएर सुत्ने कोसिस गरे ।
तर निद आउँदै आएन । हे भगवान मेरो दिदीलाई केही नहोस । तुरुन्तै निको होस भन्ने कामना सहित कुलदेवता,भगवानहरु पुकारे । रातभरी पानी वर्षिरह्यो ।
जोडले भोलि नेपालगन्ज पुग्ने कल्पना गर्दागदै आँखा लाग्न लागेका थिए । साढे एक बजे भिनाजुको फोन आयो । मनमा फेरि चिसो पस्यो । मध्यराती थियो । घडीमा १ बजेर ३२ मिनेट गएको थियो ।
भिनाजुले एकसासमा भने, कान्छा दिदीले छाडेर गइसकी । त्यतिबेला मैले के सोचे । कति भक्कानिए । यहाँ लेख्न सक्दिन । बस यति लेख्छु, दिदीको जिउँदो मुख देख्ने सपना अधुरै रह्यो।
भगवान पुकार्न पनि छोडेँ । धेरै रोएँ । आँसुहरु बगी रहेँ । घर आफ्नो थिएन, भाडाको । म रुँदा अरुलाई डिष्ट्रब नहोस पनि सोचेको थिएँ । तर भने जस्तो नहुँदो रहेछ । मुटुमा भक्कानो फुट्यो भनेँ दिलबाट फुटेको बेदनाको रिदमलाई थाम्न नसकिदो रहेछ खुब रोएँ ।
मध्यरातमा रोएको आवाज सुने पछि दिदीकै मितेरी साइनोबाट भान्जी नाता पर्ने धनु पनि मलाई सम्झाउन मेरो कोठामा आएकी थिइन । भालेको डाकोमै म बिहानै नेपालगन्ज लागेँ । राति पानी परेकाले धुलियाबिटको धुलाम्य बाटो हिलाम्य थियोे। सुब्बाकुना पुग्न निकै सकस भयो । यसरी जीवनमा कहिल्यै रोएको पनि थिएन । दिदीलाई सम्झँदै हावाको बेगमा म भेरी अस्पताल पुगेँ । भिनाजु भेरी अस्पतालको पर कुनातिर सिमेन्टको अग्लो ढिस्को जस्तो भागमा बस्नु भएको थियोे ।
भिनाजु पनि कोभिड संक्रमित हुनु भएको कुरा ठुलो दाजुको छोरा धर्मले सुनायो। उहाँको पनि अवस्था राम्रो थिएन । बिरामी मान्छे आफै दिदीको कुरुवा बस्नु भएको रहेछ । मैले सोधेँ भिनाजु के खान मन छ जे भए पनि हुन्छ भन्नुभयो ।
बाहिरबाट स्याउ किनेर एकदाना पखालेर दिएँ। उहाँले पुरै स्याउ मजाले खानु भयो । सायद गए राती देखि भोकै भएर होला भन्ने लाग्यो । दिदीलाई अन्तिम दाहसंस्कारको लागि राप्ती नदी तिर लिने तयारी हुँदै थियोे ।
आफन्तहरु सबै जुटिसकेका थिए।आफन्तहरु जुटेर मात्रै हुँदैन थियो । लासलाई घाटसम्म लिएर चितामा राखी दिने सम्मको जिम्मा नेपाली सेनाको रहेछ । नेपाली सेना ११ देखि १२ बजे मात्रै भेरी अस्पतालको प्राङ्गणमा पुगेको थियोे । केही बेरपछि डेथ सर्टिफिकेटसहित लास बुझ्ने काम भयो ।
दिदीको डेथ सर्टिफिकेट अस्पतालको सम्बन्धित ठाउँबाट धर्मले बुझेर ल्यायो । भिनाजुको अवस्था पनि त्यति राम्रो नभएकोले हामीले उहाँलाई दिदीको अन्तिम संस्कार हुने ठाउँ राप्ती नदीमा जानबाट रोकेर घर तिर रिक्सामा राखेर साईली दिदीसँग पठायौँ ।
भिनाजुले सँधै पैसा मलाई दिनु हुन्थ्यो तर आज भिनाजुलाई मैले घरमा केही किनमेल गर्नुपर्छ भनेर एक हजारको नोट हातमा थमाएको थिएँ । भिनाजु भन्दै हुनुहुन्थ्यो मलाई चाहिँदैन त्यतै घाट तिर चाहिएला । मैले मसँग छ भन्दै घरमा सामान किन्नु पर्छ भनेर कुरा टुङ्गयाएको थिएँ ।
केही छिन पछि सेनाको शव बहान आयो । सेतो प्लाष्टिकले ढाकिएका लासहरु रोलक्रम अनुसार अस्पतालको डिलमा एक, दुई, तीन गरि नौंवटा जति लास लाइनमा थिएँ ।
यसो लाग्दै थियो, यो पापी संसारबाट राम्रा मान्छेहरु नयाँ जीवन शुरुवात गर्नको लागि राप्ती नदीको किनारबाट ब्रह्म लिन हुँदै स्वर्गको बाटो तय गर्दैछन्। गए राति नै दाजु भाउजूले दिदीलाई रामनाम सत्य हो लेखिएको कफन ओढाउनु भएको रहेछ। हामीहरुलाई दिदीको ब्रह्म लिन भएको शरीर चिन्न गार्हो भएन ।
सजिवबाट निर्जीव आकार लिएको दिदीको भौतिक शरीर शव बाहानको पर्खाइमा एक नम्बरमै थियो । सेनाका जवानहरुले चारवटा लास शव बहानमा एकएक गर्दै राखे ।
ठुलो दाजुका छोराहरु बिरु र युवराजले राप्ती नदीमा चिताको बन्दोबस्त पहिलेनै गरि राखेका रहेछन्। हामीलाई दाउराको जोहो गर्न समस्या भएन । कसैलाई भने हम्मे हम्मे नै थियोे । पैसा हुनेले लास राम्रैसँग जलाएर अन्तिम सतिगति रामैसँग गर्न सक्थे ।
पैसा नहुनेहरुले लासलाई आलो काँचो जलाएर राप्ती नदीमा बगाउनुको विकल्प थिएन। औषधि मुलोको निःशुल्क व्यवस्था गर्न नसके पनि कमसेकम मरेका लासहरुलाई सरकारले जलाउने व्यवस्था गर्नु पथ्र्यो । मन अमिलो भयो । सरकार सम्झेर । राप्ती नदिको वारि र पारी धेरै लासहरु थिए । यसो लाग्थ्यो, दिदीको साथी भएर स्वर्ग जान धेरै मृत शरीरहरु आफ्नो जिवनको अन्तिम शाश्वत अनुष्ठानमा जम्मा भएका छन् ।
केही छिन पछि एउटै स्वरमा उराठिलो लयमा शङ्ख बज्यो । मन झसंग भयो । अहिलेसम्म मृत शरीर भए पनि दिदी हामीसँगै हुनुहुन्छ । अब देखि हुनुहुने छैन । दिदीको भौतिक शरीर अब देखि कहिल्यै देख्न पाइने छैन । राप्ती नदीका उर्लिरहेका छालहरुझैँ मनमा कुराहरु खेल्न थाले।
चितामा दिदीको लास राख्दै सेनाका जवानहरुले सलामी चढाए । गर्वले छाति फुल्यो । हामीहरूले फूलका गुच्छा चढाएर सबैले दिदीको अन्तिम दर्शन गर्यौं । दिदीको मृत्यु बारे केही समय अघिसम्म बेखबर भान्जा दिवसले बाह्मणको निर्देशन बमोजिम चितामा दाग बत्ती दियो ।
हामी सबैले पालैपालो आगो चढायौ चितामा । घरपरिवार र दिदीलाई चिन्नेहरु सबै रुन थाले । ठुलो दाजुलाई यस अघि रोएको कहिल्यै देखेको थिएन । आज भने ठुलो दाजु निकै रुनु भएको थियोे ।
साथमा भाउजू, साइली दिदी, ममता, हिमा, राधिका सबैले आँसु बगाए । दाजु भन्दै हुनुहुन्थ्यो, मेरो आस्थाको मियो ढल्यो । मेरो टेक्ने लठ्ठी भाँचियो । मेरो अभिभावक माइली बहिनी मलाई छोडेर गई ।
सब खतम भयो । बर्बाद भयो हे भगवान भन्दै बर्बराउँदै निकै बेर रुनुभयो । पर खेतको आलीमा बसेर रुनुभयो । दिदीको शोकमा हिजोबाट मेरा आँखाबाट अविरल आँसु झरिरहेका थिए । आज पनि मेरा आँखाबाट आँसु साउने झरी बनेर बगिरहेका थिए ।
मलामीहरुलाई बोकेर लिएको गाडीको पछाडी छेलिएर म धेरैबेर रोएँ । एक जना डाँगी थरका दाइ आएर सम्झाउनु भयो । भाइ अब रोएर हुँदैन भान्जाको भविष्यलाई हेर्नु भिनाजुलाई पनि सन्चो छैन । उहाँलाई सन्चो बनाउन पट्टि लाग्नुहोस ।
दाइले भनेका कुरा ठिकै लाग्यो । आफैले आफैलाइ समाल्ने कोसिस गर्दै मन ढुङ्गो बनाउन खोजेँ । तर नहुँदो रहेछ । मन ढुङ्गा बनाएपछि हामी सजिव मान्छे हुनुको के अर्थ हुक्क हुक्क गर्दै अबेर पछि मन समालेँ ।
चितामा आगो दनदनी बल्यो । केही समयपछि दिदी आगोमा खरानी हुनु भयो दिदीको भौतिक शरीर भने धुवाँको मुस्लो भएर माथि आकाश तिर उड्दै थियोे म निरीह बनेर हेरी रहेको थिएँ ।
त्यही धुवाको मुस्लो नदी किनारमा बसेर हेरिरहे । मसँग हेर्नुको विकल्प थिएन । यदि बचाउन सकिने भए आफैलाई बेच्न तयार थिए । दिदीले हिम्मत नहारेको भए म आफ्नो शरिरहेको सबै हिम्मत उहाँसामु राखिदिन्थे । तर के गर्नु महामारी नै निठुरी ।
धुवाको मुस्लोबाट उडी आउने खरानीका कणहरुमा दिदी देख्थे । यति माया लागेर आयो । दिदी खरानी बनेर मलाई खोज्दै आउनु भएको छ । मबाट टाढा जान मानिरहनु भएको छैन । यति सोचेर खरानीको कणलाई पनि मैले संगालेर राखे
आज फराकिलो फाँट साघुरो लागेको थियोे भने निलो आकाश मलिन देखिन्थ्यो । दक्षिण दिशा तिर बगिरहेको राप्ती नदीलाई हेर्दै हामी स्तब्ध थियौँ । अनि मौन प्राय । बबुरको रुखमुनी हामी सबैलाई आँशु मात्रै वास्तविकता थियो । जतिबेलासम्सम दिदी खरानी भइसक्नु भयो ।
बाँके जिल्ला नेपालको सबै भन्दा बढी गर्मी हुने जिल्ला हो । आज भने गर्मी थिएन । हावा चलिरहेको थियोे । बादलले पुरै आकाश टम्मै ढाकेको थियोे । दिदीको स्वभाव बोली चाली शितल थियो । सबैसँग मिलनसार र सहयोगी पनि उत्तिकै । नदी किनारमा ठिङ्ग उभिएर जलिरहेको चिता हेरिरहेका मलामीहरु भन्दै थिए। दिदीको जस्तो शितल व्यवहार थियो । आज मौसम पनि त्यस्तै भईदियो ।
मलामीले यसो भनिरहँदा दिदी स्वर्ग जाँदा यमदुतले पनि सहयोग गर्नेछन । दिदीलाई स्वर्गको ढोकामा रोकठोक हुने छैन भन्ने लाग्यो। मलामीहरुले दुःख पाउनु हुँदैन मलामीलाई खुसी पार्नु पर्छ।
मलामी खुसी भए भने मरेका मान्छेले छिटो बैत्रणी तर्छन् भन्ने हाम्रो समाजमा आदिम मान्यता पनि छ । तर कोरोनाको असरले अचेल मान्छेहरु कसैले छोएको खानेकुरा खान उचित ठान्दैनन् । मलामीहरुलाई स्याउ र केरा खुवाउने कुरा भयो तर मलामीहरुले नकारी दिए, हामीलाई केही गुनासो छैन ।
दिदीको सतिगति राम्रोसँग भयो । यही हो, आजको प्रमुख कार्य भन्दै सबै आ आफ्नो घरतिर फर्किए । हामी पनि दिदीको बचेको अस्तुलाई पानीमा बगाएर घर तिर फर्कियौँ ।
शरिर लिएर हामी फर्कियौँ । मन त अझै पनि दिदीसँगै छ । त्यो खरानीको कणसँग । चिताको सम्झनासँग । दिदीको अस्तुसँग । अचेल हरेक पल म दिदीलाई सम्झिन्छु । कोरोनाले दिदीलाई चुडेर लियो, मेरो मनलाई लिने हिम्मत त उसले यसअघि नै हारिसकेको छ ।
जबसम्म म छु । मेरो मन छ । दिदी सधै मेरो केन्द्रीय मष्तिष्कमा सुरक्षित रहिरहनु हुनेछ । हार्दिक श्रद्धाञ्जली दिदी । स्वर्गमा बास होस ।
(चर्चित गजलकार अनुपम मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।)