दैलेख : चर्चित धार्मिक महत्व बोकेको दैलेखको नाभिस्थान मन्दिरको पुनःनिमार्ण शुरु भएको छ । पुष्प निमार्ण सेवा कालिकोटले सोमबारदेखि काम सुरु गरेको हो । मन्दिर पुनर्निर्माणका लागि ४० लाख बजेट छुट्याइएको छ । निर्माण कम्पनीले ३४ लाखको टेन्डर हात पारेको हो ।
नाभिस्थान मन्दिर व्यवस्थान समितिले पहिलो पटक डिपिआरमार्फत काम सुरु गरेको हो । बजेट पुरातत्व विभागबाट आएको समितिले जनाएको छ । एक महिनाभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने समितिको भनाई छ । निर्माण कम्पनीका ठेकेदार मथुरा प्रसाद जैसीले मन्दिरको गादीघर र धुनिघर ज्वालाबाट काम सुरु गरेको बताए ।
पुनर्निर्माणको काममा दुल्लु नगरपालिका वडा नम्वर १० का स्थानीय २५ जना युवाहरु छन् । पुरानो झिगौटी भएको ठाउँमा झिगौटी राखिनेछ । काठको मन्दिरमा ढुंगा हालेर समेत पुनर्निर्माण गर्ने तयारी छ ।
ठेगेदार जैसीका अनुसार अनुसार सामाजिक दूरी र स्वास्थ्यलाई ध्यानमा राख्दै मर्मत कार्य सञ्चालन गरिएको हो । पुराना काठ, झिगौटी, काम ३ दिन सम्म जारी रहने पनि उनले जानकारी दिए । ‘बिहानदेखि बेलूकीसम्म काम हुन्छ’ उनले भने, ‘कामदारलाई मास्क, पञ्जा, स्यानिटाइजर र ढोकामा साबुन पानी व्यवस्था पनि गरिएको छ ।’
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले मन्दिरको अस्तव्यस्त समस्यालाई सुधार गर्नका लागी पुनर्निर्माणको काम सुरु गरिएको बताए ।
आफनो पहलमा डिपिआरबाट काम शुरु भएको दानपेटिकामा रहेको रकम बैक खातामा जम्मा गर्ने गरेको पनि उनले बताए । कर्णाली प्रदेशसभाका सभामुख राज बहादुर शाहीको पहलमा मन्दिरको पुनर्निर्माणका लागि बजेट विनियोजन गरिएको पनि उनले बताए ।
मन्दिर मर्मतका लागी लागेका श्रमीक १८ देखी ३५ वर्ष उमेर समूहका छन् । कोरोना भाइरसले मजदुरीका लागी भारत गएका र हालै फर्किएका मजदुर धेरै छन् । आफ्नो धार्मिक एवम पवित्र स्थान नाभिस्थान जीर्ण अवस्थामा रहेको र अहिले मर्मत कार्य हुन लागेकोमा आफुलाई खुसी लागेको स्थानीय युवा धर्म नाथ योगीले बताए ।