काठमाडौँ, १४ चैत । गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु¥याउने भएको छ ।
कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लकडाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द गर्नुपर्ने भयो भन्दै फोनबाट गुनासो गरेपछि शनिबारदेखि नै नगरपालिकाले यो सेवा दिन लागेको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो ।
“पाँच सातजनाको समूह बनाएर अभाव हुनेका घरमा आवश्यक सामान ढुवानीको व्यवस्था मिलाउन लागेका छौँ, उपभोक्ताले बजारकै भाउमा घरमै सामान पाउँछन्, ढुवानी खर्च नगरपालिकाले व्यहोर्छ, यसरी सामान ढुवानी गर्नेको फोन नं समेत सार्वजनिक गछौँ”, उहाँले भन्नुभयो ।
यसरी आउने सामानमा उपभोक्ताले अधिकतम् मूल्यभन्दा बढी तिर्नुनपर्ने जानकारी पनि नगरप्रमुख चालिसेले दिनुभयो । साता दिनका लागि घोषणा गरिएको लक डाउनको चौथो दिनसम्म राजधानीकै काठ क्षेत्रका अधिकांश पसल खुलेका छैनन् ।
लक डाउनको पहिलो दिन मङ्गलबार केही पसल खुले पनि प्रहरीले नै बन्द गर्न लगाएको कागेश्वरी मनोहरा नगरपालिकाका ज्ञानप्रसाद सिम्खडाले बताउनुभयो । सरकारले अत्यावश्यक सेवाका खाद्य सामग्रीका पसलमा भीडभाड नगरी सेवा दिने भनी सूचना जारी गरे पनि प्रहरीले सही रुपमा नबुझेजस्तो देखिएको उहाँको दुःखेसो छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले ग्यास, पानीलगायत सामग्री राखिएका पसल बन्द गराउने नीति सरकारको नरहेकाले कतै त्यस्तो भएको भए खुलाउन लगाउने बताउनुभयो ।