काठमाडौँ : पछिल्लो समय धेरै जसो युवाहरु समाजसेवाको नाममा राजनीति गर्छन् । थोरै सहयोग गर्छन् । धेरै स्वार्थ लुट्छन् । जसले गर्दा उनीहरु समाजसेवी होइन, व्यापारी बन्दै गएका छन् । यसको उदाहरण कर्णालीमा झन् धेरै छ ।
समाजसेवा गर्ने भावना कमै व्यक्तिमा छ । जो अर्काको देशमा चियाखाने पैसा बचाएर आफ्नो देशका गरिब तथा विपन्न परिवारलाई गाँसबाँसको जोहो गरिरहेका छन । त्यसैले भन्छन्, मन्दिर खोज्न कतै टाढा जानुपर्दैन् ।
यो समाजमा भएका वृद्धावृद्ध गरिब तथा विपन्न परिवारको मुखमा अलिकति माड लगाउने सहयोग गरे भगवान भनेर पुकारिन्छ । उनीहरुको दुःख, सुख, आश र भरोसामा साथ दिए धर्म पाइन्छ । सबैको सहारा बन्न सकिन्छ । जसको ज्वलन्त उदाहरण हुन्, जयन्ती थापा ।
दैलेख, सुर्खेत हुँदै रुकुमदेखि अमेरिका
कर्णाली र सुदुरपश्चिमका सबै जिल्लाहरुमा उनको नाम धैरैलाई कण्ठस्थ नै छ । उनको घर रुकुम पश्चिम हो । माइतीघर दैलेखको नारायण नगरपालिका – २ जारकोटमा हो । जयन्ती अहिले भने सात समुन्द्र पारी अमेरिकामा छिन् । उनी त्यहाँको भर्जिनिया शहरमा बस्छिन् ।
सात समुन्द्र पारीबाट पनि उनी नेपालीका लागि एउटै काम गर्छिन । त्यो हो, समाजसेवा । जसकारण उनी गरिब तथा विपन्नको मनमनमा बसेकी छन । मुटुमा सजिएकी छन् । जयन्तीले कर्णाली जस्ता नेपालका दुर्गम ठाउँहरुलाई कैयौँ राहत तथा उद्धारका काम गरेकी छिन् ।
२०६४ सालबमा समाजसेवामा प्रवेश गरेकी जयन्तीले आफु भोको रहेर पनि समाजमा रहेका गरिब तथा विपन्नहरुलाई राहत दिने काम गरेकी थिइन् ।
‘पछिल्लो समय समाजसेवाको नाममा कैयौँ व्यापारीहरु जन्मिए । जो समाजसेवी होइनन् । जसका कारण साच्चिकै देश तथा विदेशबाट समाजसेवामा हुमिएका साथीहरुलाई प्रत्यक्ष असर परिरहेको छ’ उनी भन्छिन्, ‘यसले गर्दा सेवा नगरौं भन्न लागिरहेका छन् ।’
विदेशी भुमिका नेपालीहरुको कथा व्यथा फरक छ । केही कथा रोचक भएपनि केही डर लाग्दा छन् । अनि केही कहालीलाग्दा पनि । यसबीच पनि आफुले चियाखाजाबाट बचाएर आफ्नो गाउँठाउँमा समस्या परेकाहरुलाई सहयोग गर्न पाउँदा जयन्ती गर्विलो महसुस गर्छिन् ।
सात समुन्द्र पारीबाटै समाजसेवा
पछिल्लो केही महिनादेखि कोरोना भाइरसको महामारीले देश आक्रान्त बनाएको छ । अमेरिकामा पनि झन् यसले लाखौँको ज्यान लिएको छ । यस बीच कर्णाली जस्ता दुर्गम गाउँमा गरिब तथा विपन्नहरुले अस्पतालमा सिटामोल नपाएर अकालमै जान गुमाउनु परेको छ ।
विपन्नहरुका लागि उपचार गर्ने वेड छैन । अझै धेरै जसो कर्णालीमा यो समस्या देखिएको छ । यसलाई मध्यनजर गर्दे जयन्तीले कर्णालीका हरेक जिल्लाहरुमा , अक्सिजन कन्सन्ट्रेटर लगायत समुदायस्तरमै स्वास्थ्य सामग्रीहरु पुर्याएकी छिन । विपन्नहरुलाई खाद्यान्न पठाएकी छिन ।
जयन्ती थापा अहिले ३८ वर्षकी भइन् । स्कुल पढ्दादेखि नै सामाजिक काममा सक्रिय रुपमा लागेकी जयन्तीले कक्षा दश पास गरेपछि समाजसेवामा होमिएकी हुन् ।
उनले गरीबी र अभाव नजिकबाट झेलेकी छन् । पढ्ने रहर भएपनि पढ्न नपाउँदाको बाध्यता बुझेकी छिन् । जबकी एसएसली पास गर्नेवित्तिकै उनले रुकुममा विहे गरेकी थिइन् । जुन उनको रहर जस्तै थियो ।
तर उनले आफ्नो योजना र सपनालाई भने छाडिनन् । बिहे गरेपनि उनले आफ्नो शिक्षा र सामाजिक कार्यलाई निरन्तरता दिइरहिन । उसो त उनको बाल्यकाल दैलेखमा बितेको थियो । उनी दश वर्षको हुँदा परिवार दैलेखबाट सुर्खेत बसाइ सर्यो ।
जयन्तीको अध्ययन पनि सुर्खेतमै भयो । सुर्खेतको अमरज्योती माध्यामिक विद्यालय नेवारेमा उनले एसएलसीसम्म पढिन् । त्यसपछि उनी सुर्खेत शिक्षा क्याम्पसमा भर्ना भइन् । जहाँ उनले स्नातक सम्म अध्ययन गरिन् । स्नातक गरे लगत्तै त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन् ।
जयन्तीले स्नातकोत्तर सकेलगत्तै रुकुममा गएर अध्यापन गराइन् । अध्यापन गराउँदै जयन्तीले सामाजिक कार्यममा पनि भुमिका बढाइन् । रुकुममा महिला र बालबालिकाका क्षेत्रमा उनले थुप्रै काम गरिन ।
एक्कासी उनी र उनको परिवारलाई डाइभर्सिटी भिसा (डिभी) परिदियो । डिभी परेपछि सन् २०१० मा उनी अमेरिकामा पुगिन । जयन्तीका श्रीमान सुशिल चन्द र छोरीसँगै अमेरिका हानिए ।
अमेरिका पुगेपनि उनले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिदै गएकी थिइन् । अमेरिका पुगेपछि उनले झन् गरिब तथा विपन्नलाई आर्थिक सहयोग गरिन् । सहयोग गर्ने उनको हैसियत पनि बन्यो ।
आफुले कमाएको आधा हिस्सा उनले समाजसेवामा लगाइन् । समाजसेवा गर्नु सबैको धर्म भएको उनको बुझाई छ । कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लाहरुमा जयन्तीको सहयोगबाट कयौंले नयाँ जीवन पाएका छन । त्यतिमात्रै होइन् । कैयौँ बालबालिकाहरु शिक्षाको पहुँचमा जोडिएका छन् ।
शिक्षाको ज्योती छर्ने जयन्ती
उनले पछिल्लो समय अन्य सेवाहरुसँगै शिक्षाको पहुँचबाट टाढा रहेका टुहुरा गरिब तथा विपन्न बालबालिकालाई शिक्षाको काम गरेकी छन् ।
अहिले पनि जयन्तीको सहयोगमा कर्णालीका तीन जिल्लामा २१ जना विपन्न बालबालिकाहरु स्कुल गइरहेका छन् । उनीहरुलाई पुर्ण रुपमा सहयोग जयन्ती आफैँले गर्दै आएकी छन् ।
जसमा रुकुममा ६ जना, जाजरकोटमा ४ जना, सुर्खेतमा ११ जना गरी २१ जना गरिब तथा विपन्न बालबालिकाहरु पढिरहेका छन । यी देखिएका मात्रै हुन । जयन्तीले सुदुरपश्चिमका बालबालिकाहरुलाई पनि शिक्षाको ज्योती छर्ने काम गरिरहेकी छन् ।
सेवा नै धर्मको अर्ती बोकेर सामाजिक कार्यमा लागेकी जयन्तीले स्वास्थ्य, शिक्षा, रोजगार गुमाएका कैयौँलाई आर्थिक भौतिक सहयोग गरिरहेकी छन् । यसले गर्दा समाजसेवाको नाममा व्यापार गर्दै आएका कैयौँलाई उनले झापड दिएकी छन् ।
जयन्तीले आइतबार मात्रै जिल्ला अस्पताल दैलेखलाई ६ थान अक्सिजन फ्लोमीटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरेकी छन् । अमेरिका बसेपनि नेपालीहरुको हरेक सुख, दुःखमा साथ सहयोग गर्ने जयन्तीको बचन छ ।
‘ज्यान अमेरिकामा भएपनि मन नेपालका ग्रामीण बस्तीहरुमा छ’ उनले भर्जिनियाबाट अनलाइनमा भनिन्, ‘मेरो अभिभावकत्वमा पढिरहेका बालबालिकाहरुको विषयमा चाँसो चिन्ता छ । गरिब तथा विपन्नको घरदैलोमा म सँधै शिक्षाको ज्योती छर्न चाहन्छु ।’
कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त बनाएको छ । यस बीचमा ज्याला मजदुरी गरेर जीवन चलाउँदै आएका कर्णालीका विपन्नहरुलाई छाक-टार्न धौ धौ छ । यसभन्दा अघि विपन्नलाई जयन्तीले खाद्यान्न सहयोग गरेकी छन्
आफ्नो कामको बारेमा प्रशंसा नखोज्ने जयन्तीका कामले गरिब तथा विपन्नहरुको मुखमा खुशी ल्याएको छ । गरिब बालबालिकाहरु शिक्षाको पहुँचमा पुगेका छन् । रात दिन मजदुरी गरेर छाक टार्नेहरुलाई खाद्यान्न पुर्याएकी छन । जसकारण कर्णालीकी चेलीको चौतर्फी जयजयकार छ ।
‘सहयोग कसैले गर भनेर हुँदैन । सहयोग गर्ने भावना मनबाट आउनुपर्छ’ समाजसेवाको सारमा जयन्तीले भनिन्, ‘नाम जस्तै सँधै विपन्नको सहारा बन्न सकुँ । जसले गर्दा म होइन, मैले सहयोग गरेका मान्छेहरु चिनिन सकून । एक नेपालीलाई समस्या परेको बेला अर्को नेपालीले सहयोग गर्नु मानवीय धर्म पनि हो ।’