काठमाडौ । सुर्खेत र कैलाली जोड्ने तीन वटा पक्की पुल निर्माणको काम रोकिएको छ । कोरोनाका कारण नेपाल लकडाउन भएर सामग्री आउन नसकेपछि भेरी र कर्णाली नदीमाथिका तीनवटा पक्की पुल निर्माणको काम रोकिएको हो । पछिल्लो दुई बर्ष यता सुर्खेतको कुइने, घाटगाउँ र कैलालीको सुगरखाल जोड्ने पक्की पुल निर्माणको काम धमाधम भइरहेको थियो ।
सुर्खेत घाटगाउँको काचुली फेर्ने विकासका रुपमा हेरिएको पुल निर्माण आउँदो बर्षको असारसम्ममा मोटामोटी काम सक्ने योजना थियो । सुर्खेतको कुइने र घाटगाउँ जोड्ने पक्की पुलको आधा भन्दा बढी काम भइसकेको छ ।
यदि लकडाउनपछि रफ्तारमा काम भए आउँदो असारसम्ममा सबै काम सक्ने र असोजपछि पुल सञ्चालनमा ल्याउने तयारी थियो । तर लकडाउनका कारण पुल निर्माणको काम समयमै सकिनेमा अन्यौल थपिएको छ ।
यो पुल बनेमा घाटगाउँसम्मै बस, ट्रक र कार चल्नेछन । अहिले ढुंगीबजारसम्म बस आउने भएपनि भेरी नदिमाथि पुल नभएका कारण घाटगाउँका मानिसहरु झोलुंगे पुल तरेर गाडी चढ्नुपर्ने बाध्यता छ । यो पुल निर्माण भएमा सोझै घाटगाउँबाटै बस चढेर सुर्खेत पुग्न सकिनेछ ।
सुर्खेतको घाटगाँउ र कुइने जोड्ने भेरीनदिमाथिको निर्माणाधीन पक्की पुल फोटो : टीकाराम सन्ज्याल/फेसबुक
यस्तै धनगढी चिसापानी घाटगाउँ हुदै मध्यपहाडी जोकमार्ग जोड्ने कर्णाली नदीमाथिको पुललाई पनि दिगो र गेम चेन्जर सडक परियोजनाका रुपमा हेरिएको छ । यो पूललाई धनगढीबाट कर्णाली चिसापानी, कोहलपुर, सुर्खेत हुदैँ जुम्ला हुम्ला जानुपर्ने बाध्यताको अन्त्य गर्ने वैकल्पिक बाटोका रुपमा हेरिएको छ ।
यो पुल सञ्चालनमा आएमा कर्णाली चिसापानीबाट घाटगाउँ हुदैँ सोझै सुर्खेत पुग्न सकिनेछ । यो बाटो छोटो र कम खर्चिलो छ ।