दैलेख : एउटा पुरानो घर छ । घरभन्दा पनि कटेरो । न छानो राम्रो छ । न त छानोभित्रकै मानो । वर्षभरी खानलाई उनीहरुको संघर्ष सानो छैन ।
वर्षा यामको झरीसँगै उनीहरु खुल्ला आकाशमूनि रात कटाउँछन् । ६ जनाको परिवार छ । न त गाँसको ग्यारेन्टी छ । न त बासकै । रोजगारी त उनीहरुका लागि धेरै परको सपना हो ।
जो नेपालमा चाहना पनि छैन । दैलेखको दुल्लु नगरपालिका १० घर भएकी रक्षा विश्वकर्माका यस्ता गुनासाका पोका कति छन कति ?
उनी घर नभएको होइन । बारी पनि नभएको होइन । तर भएर लंकामा सुन छ, कान मेरो बुच्चै जस्तो उखान उनीहरुको जीवनमा खेतबारीको वास्तविकतासँग मेल खान्छ ।
बारीमा लगाएको अन्नबालीले दुई महिना पनि खान पुग्दैन । ६ जनाको परिवार पाल्न अर्को कुनै आयस्रोत पनि छैन । परिवार पाल्न धौ धौ छ । घर कहिले बनाउने कुनै ठेगान छैन ।
वर्षा याममा पानी पर्दा रातभर जाग्राम बस्नु उनीहरुको एउटै मात्र विकल्प हो । कतिबेला त लाग्छ, हावाहुरीले उडाएर पौ लैजान्छ कि ? चट्याङ पो पर्छ कि ? सबै परिवार एकै चिहान पो हुने हो कि ? उनीहरुलाई यस्तै समस्याले पिरोल्छ।
आफ्नो झुपडीको ढोका बनाउने काठ किन्ने हैसियत पनि आmूसँग नभएको रक्षाको गुनासो छ । पहिले रोजगारीका लागि भारत जाने उनीहरु अहिले घर फर्किएका हुन् । तर सोचेजस्तो न राम्रो नौकरी थियो । न त प्रशस्त पैसा कमाई नै ।
भारतमा जुनी बिताएका उनीहरुले एउटा गतिलो घर बनाउन नसक्दा छोराछोरी पनि दुःख पाइरहेका छन् । तर यो दुःख कसलाई सुनाउनु ? उनीहरुभित्रको पीडा यस्तै छ ।
‘वडा कार्यालयमा आफना समस्या बतायौँ । हुन्छ समस्या समाधान हुन्छ भन्छन्’ उनले भनिन्, ‘तर कसैले केहि सहयोग गर्दैनन् । सबै जना आउछन् । फोटो खिच्छन् । दुःख रैछ भन्छन् जान्छन् । हामी गरिबलाई कसले हेर्ने ?’
बस्ने झुपडी राम्रो नहुँदा उनीहरुलाई पालको खोजीमा छन् । झुपडीभन्दा पालमै ठीक होला भनेर उनीहरु खुल्ला आकाशमुनि बस्न तयार छन् । तर त्यो जोहो गर्ने मनकारी व्यक्ति पनि उनीहरुका लागि भेटिएको छैन ।
श्रीमान दीर्घ रोगी भएकाले अर्को समस्या बल्झिएको उनीहरुको गुनासो छ । स साना छोराछोरीको भविष्य देखेर उनीहरु डराउँछन् ।
तर के गर्नु ? प्रकृति र जीवनका अनेक परिस्थितीसँग लड्दै आएका उनीहरु सुस्ताउने ठाउँ अन्त छैन । साँझ बिहान के खाने भन्ने समस्याले पनि उनीहरुको पीडाको पहाड झन झन बढ्दै गएको छ ।