सुर्खेत : कर्णाली प्रदेश सभाको आठौं अधिवेशन बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालले तीन दिनदेखि बैठक अवरोध गर्दै आएको छ । अदालतले कसुर ठहर गरेको भौतिक पूर्वाधार मन्त्रीको बर्खास्तको माग राख्दै कर्णालीमा एमालेले बैठक अवरोध गरेको थियो । मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गरेर एमालेको माग सम्बोधन गरे कर्णाली प्रदेश सभाको बैठक सुरु हुने भएको छ ।
सत्तापक्ष र प्रतिपक्षबीच विहिवार लिखित सहमति हुने स्रोतले जनाएको छ । स्रोतकानुसार मन्त्री थापाको बर्खास्तीको माग गरी एमालेले प्रदेश सभाको अधिवेशन सुरु भएकै दिनदेखि अवरुद्ध गर्दै आएको थियो । जेठ २४ गतेबाट सुरु संसद अधिवेशन हिजो बुधबार तेस्रो दिन पनि अवरुद्ध गरिरहेको थियो ।
‘एमालेले राखेको माग सर्वोच्चमा विचाराधीन भएका कारण सदन अवरुद्ध गर्न उचित थिएन । तर सदन सञ्चालन गर्नु सरकारको दायित्व हो,’ निरन्तरको छलफलमा सहभागी सत्ता पक्षीय एक नेताले भने, ‘सरकारले आजबाट प्रमुख प्रतिपक्षी दलको माग सम्वोधन गर्छ र सदन पनि सुरु हुन्छ ।’
जेठ २४ गते बसेको सर्वदलीय बैठकमा सत्तापक्षले जेठ ३० गतेसम्म मन्त्री थापालाई सदनमा उपस्थित नगराउने मौखिक प्रतिबद्धता जनाएको थियो । जेठ २५ को बैठकमा लिखित रुपमा सहमति गर्नुपर्ने एमालेको माग सत्तापक्षले अस्विकार गर्दा सहमति भएको हो ।
जेठ २६ गते बसेको बैठकमा पनि सत्तापक्ष सहमति गर्न इच्छुक नदेखिएको बताउँदै एमालेले सदन चल्न दिएको थिएन । दैनिक सदन अवरुद्ध भएसँगै सत्तापक्ष लचिलो भएको छ । आज दिउँसो १२ बजे सर्वदलीय बैठक बस्ने छ । भने बैठकमा लिखित सहमति हुने एमाले स्रोतको भनाइ छ । यो सहमति हुनुपूर्व कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहबीच सहमति भएको बताइएको छ ।
आज लिखित सहमति भएपछि सदनमा सरकारले प्री–बजेट छलफल गराउने छ । उक्त छलफल भोलि सकिनेछ र पर्सि शनिबार सरकारले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ते तयारी गरेको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाएको छ ।