विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरले विश्व नै आक्रान्त पारिरहेको छ । यो आक्रान्तपन कर्णालीमा पनि छ । यसबाट हिमाली जिल्ला मुगु पनि अछुतो छैन । हुम्ला र डोल्पामा पनि संक्रमण बढ्दो छ । मुगुमा पछिल्लो समय कोरोना भाइरस सदरमुकामबाट गाँउ गाँउ पुगिरहेको छ । अनि गाउँ गाउँमा पनि समुदायस्तरसम्म पनि फैलिसकेको छ । मुगुमा एक नगरपालिका र गाउपालिका छन् । यसकारण मुगु कर्णालीको सबैभन्दा सानो हिमाली जिल्ला हो ।
जिल्लाका चार स्थानीय तहमा कोरोना फैलिसकेको छ । त्यसमध्येको एक हो, छायाँनाथ रारा नगरपालिका । अहिले नगरपालिकामा दिनप्रतिदिन कोरोना संक्रमण पुष्टि भएका छन् । कोरोना संक्रमण फैलिदै गएपछि सुरक्षाकर्मी जोखिममा छन् । तर स्थानीय सरकारले जति अग्रसरता देखाउनुपर्ने हो, त्यो देखाएको पाइएको छैन । जसकारण कोरोना फैलिदो क्रममा छ ।
मुगुमा भरपर्दो स्वास्थ्य संस्था, अस्पतादेखि संक्रमितको उपचार गर्ने सामग्रीको कमी छ । भौगोलिक विकटताले समस्या बल्झिदो छ । मुगुमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था र नियन्त्रणका लागि भइरहेका प्रयासबारे कर्णालीखबरका संवाददाता खड्क सुनारले प्रमुख जिल्ला अधिकारी सीडीओ चन्द्रबहादुर शिवाकोटीसँग गरेको कुराकानीको सम्पादित अंश:
अहिले मुगुको कोरोना संक्रमणको लडाईमा कस्तो पाईला चालिरहनु भएको छ ?
मुगुमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रामक रोग पहिलो पटक गत बैशाख १३ गते एकै परिवारका ३ जनामा पुष्टि भएको थियो । त्यस पछि क्रमशः कोभिडका लक्षण देखिने बिरामीहरुमा परीक्षण गर्दै जाँदा सो संख्या दिन प्रतिदिन बढ्दै गयो ।
हालसम्म जिल्ला भरमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २ जनाको मृत्यु समेत भएको छ । हाल सम्म २०५ जना संक्रिय संक्रमित छन् । १६९ जना निको भइसकेका छन् ।
यस जिल्लाका चार वटै स्थानिय तहका गाउँ गाउँमा ज्वरो, रुघाखोकी, स्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएका बिरामीहरु रहेको सूचना प्राप्त भैरहेको छन् । मुगु जस्तो दूर्गम, जनचेतनाको अभाव, स्वास्थ्य संरचनाको न्यूनता र पहुँच नभएको जिल्लाका लागि वर्तमान अवस्थालाई जटिल रुपमा लिन सकिन्छ ।
दैनिक संक्रमित बढ्दै जाँदा संक्रमण रोक्ने उपायहरु के के लगाईरहनु भएको छ ?
यस जिल्लामा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको फैलावटलाई रोक्न गत वैशाख २२ गते राती १२ बजेबाटै लागु हुने गरी निषेधाज्ञा जारी गरी सोको कार्यान्वयन गर्न सबै सुरक्षा निकाय एवं स्थानिय तहहरुलाई अनुरोध गरिएको थियो । सो क्रम आगामी जेठ ३१ गतेसम्म नै निरन्तर लागु गरिने छ ।
अत्यावश्यक सेवा सञ्चालन र वस्तुहरुको ढुवानी एवं बिक्री वितरण तथा विकासका कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै कार्यान्वयन गर्न, अत्यावश्यक काममा बाहेक घर बाहिर नजान, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न, संक्रमितको परीक्षणको दायरा बढाउन, होम आइसोलेसनको पालना र कार्यान्वयन गर्न, बिरामीको उपचार व्यवस्था मिलाउन आम जिल्लावासी नागरिक, स्थानिय तह, स्वास्थ्य संस्था, राजनीतिक दल, संघसंस्था संचार जगत लगाएत सबै सरोकारवालाहरुसँग अनुरोध गर्दै निषेधाज्ञा पालना गर्न गराउन अनुरोध गरिएको छ ।
कोरोना परीक्षणको दायरा कत्तिको बढाइएको छ ?
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण पुष्टि हुँदा सोको परीक्षण गर्न आवश्यक पीसीआर ल्याब नभएकाले जिल्लामा उपलब्ध न्यून संख्यामा भएको एन्टिजिन किटबाटै परीक्षण शुरु गरेका थियौँ ।
सरकारको नीतिगत निर्णय बमोजिम नै डीसीसीएमसी बाट तत्काल थप एन्टिजीन किट खरीद गरी परीक्षणको दायरा बढाउन जिल्ला जनस्वास्थ्य कार्यालय, सबै स्थानीय तह एवं यससँग सम्बन्धित सरोकारवाला निकायहरुलाई पत्राचार गर्दै उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग र परिचालन गर्न बारम्बार अनुरोध र पत्राचार भएको छ ।
अहिले स्थानीय तहका वडा वडा सम्म लक्षण देखिएका बिरामीहरुको सूचना लिई परीक्षण गर्ने गरिएको छ । हाल सबै स्थानिय तहले एन्टिजीन किटको व्यवस्था गरी परीक्षण गर्दै आइरहेका छन् ।
कोरोनाले यार्सागुम्बा संकलनमा रोक लगाइयो ? अब कहिले खोल्ने तयारी छ ?
यार्सा संकलन रोक्ने काम डीसीसीएमसीको निर्णयबाटै भएको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको केही क्षेत्रमा पनि पर्ने र यस वर्ष निकुञ्जले आफ्नो क्षेत्र भित्र यार्सा संकलन निषेध गरेकाले आवश्यक सहयोग गर्न डोल्पा जिल्लाबाट अनुरोध भएको साथै यस जिल्लाको मुगुको कार्मारोङ गाउँपालिकामा कोभिड संक्रमण बढ्दै जाँदा सो गाउँपालिकाले समेत यार्सा संकलनलाई रोक्ने गरी निर्णय गरेकाले सो कार्यलाई रोकिएको हो ।
मुलुकमा देखिएको कोरोना संक्रमणको समस्या यस कर्णाली प्रदेशमा समेत व्यापक छ । यार्सा संकलन गर्न अन्यत्र जिल्लाबाट समेत मानिसहरुको आवतजावत हुने भएकाले झनै संक्रमण फैलन सक्ने देखिँदा यार्सा संकलनलाई खोल्ने विषयमा थप छलफल भएको छैन ।
अहिलेको संक्रमणलाई रोकेर मुगुलाई सुरक्षित राख्न थप के के योजनाहरु छन् ?
नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रामक रोग फैलन नदिई आम जिल्लाबासीहरुलाई सुरक्षित राख्न हाल जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ । खासगरी यस रोगको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन दुई वटा पक्षहरुलाई विशेष ध्यान दिइनेछ ।
पहिलो रोकथाम र नियन्त्रण । यस संक्रामक रोगको रोकथाम र नियन्त्रण गर्न निषेधाज्ञा अलवा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने गराउने, अनावश्यक हिडडुल गर्न नदिने, मानिसहरुको भिडभाड हुन नदिने, जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई होम आइसोलेसनमा बस्न लगाउने, लक्षण देखिएका व्यक्तिहरुको परीक्षणलाई ग्रामीण तहसम्म पू¥याउने र सचेतना, अभिवृद्धि गर्दै नागरिकहरुलाई अनुशासित र मर्यादित बनाउन पहल गर्ने ।
दोस्रो भनेको संक्रमितको उपचार नै हो । कोभिडको लक्षण देखिएका मानिसहरुको परीक्षण गरी होम आइसोलेसनमा बस्न लगाउने र समस्या देखिएका संक्रमितहरुलाई उपचारका लागि आवश्यक पर्ने औषधी, अक्सिजन सहित स्वास्थ्य कर्मीको तत्काल भरपर्दो व्यवस्था मिलाउन सम्बन्धित स्वास्थ्य कार्यालय, स्थानिय तह एवं सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्यलाई बढाउने काम गरिनेछ ।
अन्तिममा थप केही भन्नु छ ?
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्दै जिल्लाबासी नागरिकको जीवन सुरक्षित गर्नका लागि सम्पूर्ण जिल्लाबासीहरुमा प्रशासनबाट जारी गरिएको निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न, सचेतना पूर्वक संयमित र अनुशासित हुन जरुरी छ । तसर्थ, यस रोगको संक्रमणलाई फैलन नदिई कोरोना मुक्त जिल्ला बनाउन सबैको सहयोग र सहकार्यको लागि हार्दिक अपिल गर्दछु ।