काठमाडौ । सुर्खेतको चौकुने गाउँपालिकामा नेपाल लकडाउन पछिको समयमा ३ सय ८८ जना भित्रिएको विवरण सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रअनुसार चौकुने गाउँपालिकाले भारत लगायतका देशबाट फर्किएकाहरुको प्रारम्भिक विवरण संकलन गरेर सार्वजनिक गरेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेका अनुसार चौकुनेका १० वटा वडामा गएको मंगलबारयता ३ सय ८८ जना भित्रिएका हुन । गाउँपालिकाका वडाध्यक्ष र स्वास्थ्य चौकीले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा धेरै वडा नम्बर ७ मा १ सय ५ जना भित्रिएका छन ।
त्यसपछि वडा नम्बर १ मा ४६ जना, वडा नम्बर २ मा ३८, वडा नम्बर ३ मा ४०, वडा नम्बर ४ मा ४५, वडा नम्बर ५ मा ४३, वडा नम्बर १० मा ४५ जना भित्रिएका छन । यस्तै वडा नम्बर ६ मा १३, वडा नम्बर ८ मा ६ जना र वडा नम्बर ९ मा ७ जना गरी ३ सय ८८ जना गाउँ भित्रिएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिए ।
अहिले तत्काललाई भारत लगायतका देशबाट आएका उनीहरुलाई घरभित्रै बस्न, बाहिर नजान, कसैसँग कुरा नगर्न, घरपरिवारसँग पनि दुरी कायम राखेर मात्रै कुराकानी र व्यवहार गर्न गाउँपालिकाले आग्रह गरेको छ । तर विदेशबाट आएका धेरैले यसलाई हलुका रुपमा लिएकाले जोखिम झन बढेको स्थानीयको गुनासो छ ।
पछिल्लो तथ्यांकअनुसार कैलालीको धनगढीमा पनि कोरोना संक्रमित भेटिएपछि गाउँमा थप जोखिम र त्रास बढेको छ । यसबेलामा सजग हुन, साबुनपानीले राम्रोसँग हात धुन र कोरोनाका लक्षण देखिए तत्कालै स्वास्थ्य संस्थामा गएर जाँच गराउन गाउँपालिकाले आग्रह गरेको छ ।
क्वारेन्टाइनमा पनि राख्ने की ?
चौकुने गाउँपालिकाले संकलन गरेको यो विवरण एउटा नमूना र तत्कालका लागि कोरोना संक्रमण हुन नदिने प्रारम्भिक संख्या मात्रै हो । तर अहिले संकलित विवरणलाई ध्यान दिएर समयमै उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्दै जाँच गरेको खण्डमा ठूलो क्षतिबाट बच्ने सम्भावना छ ।
आज इटाली, स्पेन र अमेरिका जस्ता विकसित देशमा जुन गतिमा कोरोना फैलिरहेको छ । त्यो फैलावट ग्रामीण क्षेत्रमा बढ्यो भने रोक्न त परको कुरा, उनीहरुलाई अस्पताल पुर्याउनै नसकिएला भन्ने डर छ ।
फेरि नेपालमा अहिलेसम्म जति जनामा कोरोनाको संक्रमण देखिएको छ । ती सबै विदेशबाट आएकाहरुमा मात्रै देखिएको छ । पहिलो संक्रमित चीनबाट आएका युवक थिए । जो उपचारपछि निको भएर घर फर्किसकेका छन ।
दोस्रो संक्रमित १९ बर्षीय युवती थिइन । उनी फ्रान्सबाट कतारको दोहा हुदँै नेपाल आएकी हुन । र अहिले काठमाडौँको टेकु अस्पतालमा उपचार भइरहेको छ । तेस्रो संक्रमित दुबईबाट आएका हुन । उनको पनि टेकु अस्पतालमै उपचार भइरहेको छ ।
चौथो संक्रमित, जो शुक्रबार मात्रै धनगढीमा भेटिएका छन । उनी पनि दुबईबाट आएको प्रारम्भिक जानकारी सुदुरपश्चिम प्रदेश सरकारले गराएको छ । अहिलेको अवस्थामा विदेशबाट आएकाहरुको तीन पटक स्वास्थ्य परीक्षण गरियो भने मात्रै पनि गाउँघरको जोखिम ९० प्रतिशत कम हुन सक्छ ।
अनि स्वास्थ्य जाँचबाट जो संक्रमित छन । उनीहरुलाई तत्कालै अस्पताल भर्ना गरेर उपचार गरिन्छ । संक्रमितका आफन्तलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नेवित्तिकै यो महामारीबाट बच्न सकिन्छ । तर यसैलाई हेलचेक्राई गर्ने हो भने आज विश्वकै शक्तिशाली र समृद्ध भनिएका देश अमेरिका, इटाली र स्पेनकै हालत हुन सक्छ ।
त्यसैले संघीय सरकारको परिपत्रअनुसार चौकुने गाउँपालिकाले विदेशबाट आएकाहरुको जुन विवरण संकलन गरेको छ । त्यो असाध्यै सह्रानीय काम छ । अब जोखिम न्युनिकरण गर्न तत्कालै उनीहरुलाई खोजेर क्वारेन्टाइनमा राख्नुपर्छ । अनि उनीहरुको स्वास्थ्य जाँच गरेर मात्रै घर पठाउनुपर्छ ।
अहिलेको होम क्वारेन्टाइनले अरुलाई संक्रमण त नहोला । तर कोरोना संक्रमित भएकाहरु पनि होम क्वारेन्टाइनमै बस्दा अन्तिम अवस्थामा उनीहरुको ज्यान जाने मात्रै होइन । उनीहरुको घर परिवार र सिंगो गाउँ नै कोरोना महामारीको भंगालोमा जाकिन सक्छ ।