काठमाडौँ : कर्णालीमा फ्लोर क्रस गरेका चार जना एमाले सांसदको पद सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ । मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गरेका एमाले माधव नेपाल पक्षका प्रदेशसभा सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीको पद सर्वोच्चले बिहीबार पुनर्बहाली गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उनीहरुको पद पुनर्बहाली गरेपछि एमाले केपी ओली पक्ष थप कमजोर मात्रै होइन, सशंकित बनेको छ । यसअघि फ्लोर क्रस गरेको भन्दै ओली पक्षले चार जनालाई पार्टीबाटै निष्काशन गरेको थियो ।
पाटी र सांसद पद दुवै गुमाएका चारमध्ये तीन जना कर्णाली प्रदेश सरकारमा मन्त्री छन् । बुढा कृषिमन्त्री, शाही पर्यटन र थापा भौतिक पूर्वाधारमन्त्री हुन् । उनीहरु फ्लोर क्रस गरेर मन्त्री भएपछि एमालेको ओली पक्ष आक्राशित भएको थियो ।
चार जना सांसदलाई एमालेको केन्द्रीय समितिले नभई महाधिवेशन आयोजक समितिको कारबाही गरेकाले त्यो आधिकारिक र वैज्ञानिक नभएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
सर्वोच्चले निवेदकहरूसँग स्पष्टीकरण माग नगरेको, निवेदकहरूलाई कर्णाली प्रदेश सभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पद समेतबाट निष्कासन गरेपनि एमाले केन्द्रीय समितिबाट कारबाही नभएको जनाएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ मा दल त्यागसम्बन्धी विषयमा कारबाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारबाही गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थामाथि टेकेर सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।