काठमाडौ । कोरोना भाइरसका कारण संसारभर ज्यान गुमाउनेको संख्या झण्डै २७ लाख पुगेको छ । बिहीबार मध्यरातसम्मा विश्वभर २६ हजार ८ सय २६ जनाले ज्यान गुमाएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख ८४ हजार १ सय १० जना छ । यो संख्यामा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि छन । उनलाई बिहीबार बेलुकी मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोनाबाट संक्रमित हुने उनी सम्भवतः संसारकै पहिलो प्रधानमन्त्री हुन ।
कोरोना संक्रमित भएर पनि १ लाख ३१ हजार ४ सय २८ जना नयाँ जीवन पाएर घर फर्किएका छन । पछिल्लो २४ घण्टामा मात्रै झण्डै पौने लाख नयाँ संक्रमित थपिदा १० हजार जना उपचारपछि घर फर्किएका छन । यसमध्ये झण्डै तीन हजारले २४ घण्टामा ज्यान गुमाएका छन ।
इटालीमा एकैदिन ९ सय बढीको मृत्यु
कोरोनाबाट इटालीमा एकैदिन ९ सय १९ जनाको ज्यान गएको छ । बिहीबार मध्यरात अर्थात १८ घण्टामा झण्डै एक हजारले ज्यान गुमाएका बिबिसीले जनाएको छ । इटालीमा एकैदिन ज्यान गुमाउने यो संख्या अहिलेसम्मकै धेरै हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै १० हजार पुग्न लागेको छ ।
यो समाचार तयार पार्दासम्म इटालीमा ९ हजार १ सय ३४ जनाले ज्यान गुमाएका छन भने ५ हजार ९ सय ९ जना नयाँ संक्रमित थपिएका छन । इटालीमा कोरोनाबाट संक्रमित हुने संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । इटालीमा ज्यान गुमाउनेको संख्या मात्रै होइन सञ्चो भएर घर फर्किनेको संख्या पनि बढ्दै गएको छ । अहिलेसम्म १० हजार ९ सय ५० जनाले नयाँ जीवन पाएर घर फिरेका छन ।
इटालीपछि स्पेनमा पछिल्लो केही घण्टामा ५ सय ६९ जनाले ज्यान गुमाएका छन । यससँगै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ५ हजार पुग्न लागेको छ । यो समाचार तयार पार्दासम्म ४ हजार ९ सय ३५ जना स्पेनिसले ज्यान गुमाइसकेका छन ।
स्पेनमा ६ हजार २ सय ७३ जना नयाँ बिरामी थपिदा ४ जना नेपाली पनि रहेका छन । बिहीबार बिहान मात्रै उनीहरुलाई कोरोना पोजेटिभ भएको रिर्पोट आएको थियो । स्पेनमा अहिलेसम्म ६४ हजार ५९ जनामा कोरोना पुष्टि हुँदा ९ हजार बढी उपचारपछि घर फर्किएका छन ।
स्पेनपछि फ्रान्समा कोरोना संक्रमित र मृत्तकको संख्या बढ्दै गएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ३ सय बढीको ज्यान जाँदा अहिलेसम्म मृत्यु हुनेको संख्या दुई हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९ जनामा संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या ३२ हजार ९ सय ६५ पुगेको छ ।
अमेरिकामा झण्डै एक लाख संक्रमित !
पछिल्लो समय अमेरिकामा सबैभन्दा तिब्र गतिमा कोरोना भाइरस फैलिएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ११ हजार ५ सय ३३ जना नयाँ बिरामी फेला परेका छन । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको सख्ंया ९६ हजार ९ सय ६८ पुगेको छ ।
यही गतिमा कोरोना भाइरस फैलिने हो भने अमेरिकामा लाखौको संख्यामा मानिसहरु संक्रमित हुने अनुमान गरिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा झण्डै २ सयले ज्यान गुमाउँदा कोरोनाबाट मृत्यु हुनेको संख्या लगभग १५ सय पुगेको छ ।
अमेरिका र इटालीपछि चीनमा ८१ हजार संक्रमित छन । जहाँ ३ हजार २ सय ९२ जनाले ज्यान गुमाएको तथ्यांक छ । चीनमा मृत्यु र संक्रमणको दर निकै नै कम भइसकेको छ ।
इरानमा पछिल्लो २४ घण्टामा १ सय ४४ जनाले ज्यान गुमाउँदा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३ सय ७८ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा १ सय ८१ जनाले ज्यान गुमाउँदा कोरोनाले मृत्यु हुनेको संख्या ७ सय ५९ पुगेको छ ।
यस्तै नेदरल्याण्ड्समा ५ सय ४६ जनाले ज्यान गुमाउँदा पछिल्लो २४ घण्टामा १ सय १२ जनाको मृत्यु भएको छ । जर्मनीमा पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु हुँदा कोरोनाले मृत्यु हुनेको संख्या ३ सय २१ पुगेको छ ।
एसियालाई हाइसञ्चो, युरोपलाई महामारी !
एसियाली देशमा धेरै हदसम्म नियन्त्रणमा रहेको कोरोनाले युरोपका इटाली, स्पेन, फ्रान्स र दक्षिण अमेरिकन देश संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो क्षति गरेको छ । नेपालमा भने अहिलेसम्ममा ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
शुक्रबार मात्रै कैलालीको धनगढीमा एक जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अरु तीन जनामध्ये एक जना उपचारपछि घर फर्किसकेका छन भने दुई जनाको काठमाडौँको टेकु अस्पतालमा उपचार भइरहेको छ ।