काठमाडौ । कोरोनालाई 'चिनिया भाइरस' भन्दै हल्का रुपमा लिएको अमेरिकाले यतिबेला इतिहासकै सबैभन्दा ठूलो संकट व्यहोरिरहेको छ । चीनको वुहानबाट कोरोना फैलिदा सामान्य जाँच र परीक्षण गर्न समेत हिच्किचाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन अहिले विश्वकै सवैभन्दा धेरै संक्रमित आफ्नै देशमा भएपछि चिन्तित बनेको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४ हजार २ सय ५ जनामा संक्रमण छ । जुन दोस्रो स्थानमा रहेको इटालीको भन्दा १८ हजारले बढी हो भने कट्टर प्रतिष्पर्धी मानिने चीनभन्दा २३ हजारले धेरै हो ।
इटालीमा अहिलेसम्म ८६ हजार ४ सय ९८ जना संक्रमित छन । चीनमा ८१ हजार ३ सय ९४ जना संक्रमित छन । अमेरिकामा संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ हजार ७ सय १ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा झण्डै १५ हजार बढी संक्रमित फेला परेका छन । यो तथ्यांकले देखाँउछ, विश्वको सबैभन्दा शक्तिशाली र उत्कृष्ट स्वास्थ्य सेवा भएको देशले एउटा कोरोना भाइरसका कारण कति ठूलो आहत व्यहोरिरहेको छ ।
अमेरिकी नागरिक कोरोनाबाट अहिले सबैभन्दा बढी त्रसित छन । दिनप्रतिदिन संक्रमण हुने र मृत्यु हुनेको संख्या बढ्दै जाँदा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लाग्न सकेको छैन । चिकित्सकहरु अन्दाजले नै उपचार गरिरहेका छन ।
२५ सय उपचारपछि घर फर्किदा २४ सय गम्भिर बिरामी !
अमेरिकामा पनि अस्पताल पुगेका मानिसहरुलाई बचाउन सकिदैन भनेर पत्याउन गाह्रो पर्छ । विश्व अनुसन्धान र प्रविधि आविष्कारका हिसाबले पहिलो देश अमेरिकामा अहिले दैनिक मानिसहरुले अस्पतालमै ज्यान गुमाउनु परिरहेको छ ।
अहिलेसम्म २५ सय २५ जना मानिसहरु उपचार घर फिर्ता भएका छन । तर २४ सय ९४ जनाको अवस्था निकै गम्भिर छ । सुविधासम्पन्न अस्पतालमा उपचार गराइरहेका उनीहरुलाई जोगाउन नसक्दा र आँखै अगाडी ज्यान गुमाउनुपर्दा संँगैका कोरोना बिरामी मात्रै होइन, अमेरिकी चिकित्सक पनि निकै दुखी छन ।
चुक्यो ट्रम्प प्रशासन, गुमायो ह्वाइट हाउसको शान
अमेरिकामा अहिलेसम्म झण्डै एक लाख मानिसहरुलाई अस्पताल भर्ना गरिएको छ । ९९ हजार ९ सय ७९ जनाको उपचार चलिरहदा कसले कतिबेला संसार छाड्ने हो पत्तो छैन । जसले ह्वाइट हाउसलाई सबैभन्दा ठूलो चुनौति दिएको छ ।
चीनले कोरोना भाइरस फैलिएको वुहान राज्यलाई नै सुरक्षित गरिसक्यो । बाँकी राज्यमा फैलिन नै दिएन । तर अमेरिकाको अहिलेसम्म कुनै यस्तो ठाउँ छैन । जहाँ कोरोना संक्रमण नदेखिएको होस । यसले पनि देखाउँछ हेर्दाहेर्दै, जोखिम छ भन्दाभन्दै आफ्ना नागरिकलाई जोगाउन ट्रम्प प्रशासन कति लापरवाही बनेर चुक्यो ?
आउँदो बर्ष राष्ट्रपतीय चुनाव हुदैछ । इतिहासकै सबैभन्दा मुर्ख राष्ट्रपति पाएका अमेरिकन फेरि उनैलाई अर्को ४ बर्ष शासन गर्न दिने की नदिने ? भनेर गम्भिर समीक्षा गर्दै होलान । यस्तो संकटका बेला पनि उल्टै ट्रम्प भन्दैछन, "बन्द गर्नलाई अमेरिका बनेको होइन । चिनिया भाइरसले अमेरिकालाई केही गर्दैन । केही दिनमा अमेरिकनहरु आफ्नो काममा फर्किनेछन ।"
संसारलाई मुठ्ठीमा राखेर शासन गर्न अभ्यस्त अमेरिकालाई आज चीनबाटै फैलिएको कोरोना भाइरसले यति धेरै थिलथिलो पार्ला भनेर सायद कसैले सोचेका थिएनन् । साच्चै यस्तो संकटलाई पार लगाउन ट्रम्पले कसरी काम गर्लान ? चिकित्सकको विश्वास कसरी जित्लान ? सबैभन्दा महत्वपूर्ण कुरा, कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन वैज्ञानिकहरुलाई साच्चै प्रेरित गर्न सक्लान ?