सुर्खेत : कर्णालीका पत्रकारहरुले पत्रकार आचारसहिंताको कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता जनाएका छन । मिडिया एक्सन नेपाल कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको ‘मिडिया विश्वसनीयता र आचारसहिंता कार्यान्वयन’ विषयक वेबिनार कार्यक्रममा सहभागि पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कर्णालीका १० वटै जिल्लाका पत्रकार महासंघका पदाधिकारी र पत्रकारहरु छलफलमा सहभागि थिए । कार्यक्रममा पत्रकारहरुले मिडियाको दिगोपना, पत्रकारको क्षमता विकास र आचारसंहिताबारे प्रदेश सरकार र पत्रकार महासंघले ध्यान दिनुपर्ने बताएका छन् । साथै उनीहरुले आचारसंहिताबारे आवश्यक तालिम र प्रशिक्षण आवश्यक रहेको भन्दै यसमा सरोकारवालाले सहयोग गर्नुपर्ने सुझाव पनि दिए ।
कार्यक्रममा कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले कर्णालीमा पत्रकारिताको दिगोपना र पत्रकारको क्षमता विकासमा प्रदेश सरकारले लगानी गर्ने बताइन् । उनले भनिन्, ‘पत्रकारिता समाजको ऐना हो, समाजलाई सही मार्गमा लैजान पत्रकारहरुले अनुसन्धानमा जोड दिनुपर्छ । यसका लागि सरकारले सक्दो सहयोग गर्ने उनले थपिन् । आगामी बजेटमा पनि पत्रकारका विषयमा केही सम्बोधन गर्ने उनले भनिन् ।
यस्तै पत्रकार महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटाले पत्रकार आचारसंहिताको पालनाबारे अनुगमन गर्ने र आवश्यक तालिम पनि संचालन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत आमसंचार तथा पत्रकारिता विभागका प्रमुख युवराज शर्माले आचारसंहिता कार्यान्वयन भएमा मिडियाप्रतिको विश्वसनीयता पनि बढ्ने बताए ।
यसका लागि पत्रकारले आचारसंहिताबारे जानकारी राख्नैपर्ने शर्माको भनाइ छ । कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले कर्णालीमा पत्रकार आचारसंहिता कार्यान्वयनका लागि आवश्यक पर्ने तालिम संचालन गर्ने र पत्रकारको क्षमता विकासमा पनि कार्यक्रम संचालन गर्ने जानकारी दिए ।
उक्त कार्यक्रममा पत्रकार गणेशकञ्चन भारती, दिपक बुढा, सरिता चलाउने, सिता वली, वालकुमार शर्मा र राजन रावतले पत्रकारिताको दिगोपना, आचारसंहिता कार्यान्वयन र मिडियाको विकासका लागि प्रदेश सरकार र पत्रकार महासंघले मिलेर काम गर्नुपर्ने बताएका थिए । मिडिया एक्सन नेपालका कार्यसमिति सदस्य गणेशप्रसाद घिमिरेले देशका सात वटै प्रदेशमा यस्ता कार्यक्रम आयोजना गरिने बताए । कार्यक्रममा ५७ जनासहभागि भएको मिडिया एक्सन नेपाल कर्णालीका संयोजक ललित बुढाले जानकारी दिए ।