सुर्खेत : संवैधानिक व्यवस्थाअनुसार कर्णाली सरकारले असार १ गतेभित्रै बजेट ल्याउनु पर्ने भएकोले आज कर्णालीमा प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित हुँदैछ । असार १ गते नै बजेट आउने र ल्याउने उद्देश्यले आज (सोमबार) सभाबाट नीति तथा कार्यक्रम पास गर्ने कर्णाली सरकारको तयारी छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपनि बहुमतका आधारमा नीति तथा कार्यक्रम पास गर्ने तयारीमा रहेको सरकारको दाबी छ । तर एमालेले परिमार्जनसहित नीति तथा कार्यक्रम पास गर्नुपर्ने माग राख्दैँ असन्तुष्टि जनाउदै आएको छ । आगामी आर्थिक वर्षका लागि एमाले र प्रदेश सरकारका योजनाहरूमा तालमेल छैन । सरकारले सांसद विकास कोषकै मोडलका (निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, जनता सडक कार्यक्रम र निर्वाचन क्षेत्र विकास आयआर्जन कार्यक्रम) समेट्न माग गरेको छ ।
कर्णाली प्रदेश सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा टेकेर बजेट ल्याउने सरकारले जनाएको छ । कर्णाली सरकारले ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी भएको समेत जनाएको छ । असार १ गते अर्थात (मंगलबार) बजेट ल्याउने गरी तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
मन्त्री गोपाल शर्माका अनुसारअहिले नै यति भनेर तोक्न नमिल्लने तर ३३ अर्बको हाराहारीमा बजेट आउँने बताए । उनले भने ‘यद्यपि प्रदेश सरकार बजेट निर्माणकै क्रममा रहेकाले केही थपघट हुन सक्छ, बजेट निर्माण सकिएकै छैन, ठ्याक्कै त कसरी भन्नु,’ उनले भने, ‘त्यही ३० देखि ३३ बीचमा बजेट आउँछ ।’ यसअघि प्रदेश सरकारले ३० अर्बको बजेट ल्याउने तयारी गरे पनि अहिले अलि बढ्ने सम्भावना भइ ३३ अर्बको बजेट आउँन सक्ने मन्त्री शर्माको भनाइ रहेको छ ।
आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारले कर्णालीलाई १५ अर्बभन्दा बढी बजेट दिएको छ । केन्द्र सरकारले कर्णालीले कुल १५ अर्ब ५५ करोड ६३ लाख बजेट दिएको हो । जसमा समानीकरण अनुदानमा १० अर्ब १४ करोड २१ लाख, सशर्त अनुदानमा तीन अर्ब ९८ करोड ७७ लाख, विशेष अनुदानमा ६१ करोड ३० खाल र समपुरक अनुदानमा ८१ करोड ३५ लाख बजेट दिएको छ।