दैलेख : कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले गत बैशाख २१ गतेदेखि गरेको निषेधाज्ञा खुकुलो गरेको छ । सदरमुकाम लगायत आसपासका ठाउँहरुमा जारी गरिएको निषेधाज्ञा आज (सोमवार) राती १२ बजेसम्म मात्रै भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यद्यपी १० दिनका लागि थप गरिएको निषेधाज्ञा खुकुलो पारिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञालाई लम्बियो । तर खुकुलोमा निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । खुकुलो तरिकाले निषेधाज्ञा थप १० दिनका लागि खुकुलो तरिकाले लम्बिएको उनले बनाए ।
यस बीच स्थानीय प्रशासनद्धारा असार १० गतेसम्म जारी निषेधाज्ञाको समय अवधिमा ब्यूटीपार्लर, सैलुन, होटल, रेष्टुँरा र चियानास्ता पसल बाहेकका व्यवसायहरु अपराह्न १२ :३० सम्म खुल्ने छन, खुला गर्ने व्यापार व्यवसायहरुले जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुपर्नेछ ।
सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरी सेवा सञ्चालन गर्न पाउनेछन् । यस्तै जिल्लास्थित बैंक तथा वित्तिय संस्थाहरु विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् ।
सार्वजनिक निर्माण कार्यको हकमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरी निर्माण स्थलमा रहेर निर्माण कार्यलाई निर्वाध रुपमा सञ्चालनमा रहने स्थानीय प्रशासनले जनाएको छ । सवारी साधनको हकमा स्वास्थ्य, सुरक्षा, सरकारी, कुटनितीक, प्रेस, सरसफाई, फोहोरमैला व्यवस्थापन, खानेपानी, विद्युत र सञ्चार सम्बन्धी सवारी साधनहरु सञ्चालनमा रहनेछन् । दैनिक उपभोग्य, कृषिजन्य पशुजन्य र निर्माणजन्य बस्तुहरु ढुवानी गर्दा चालक र सहचालकमात्र रहने गरी सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ ।
भने स्थानीय प्रशासनले गोष्ठि, तालिम, सभा सम्मेलन, मनोरञ्जनात्मक गतिविधीहरु, जिमखाना, शैक्षिक संस्था, नित्यकर्म, धार्मीक अनुष्ठानहरुमा हुने पुजाआजा र ध्यान पूर्ण रुपमा बन्द रहनेछन् । विवाह, ब्रतबन्ध, मृत्यु संस्कार जस्ता धार्मिक क्रियाकलापमा जनस्वास्थ्यका मापदण्डहरु पुरा गरी बढिमा १५ जना व्यक्तिहरु सहभागि हुन पाइनेछ । सबै खाले सार्वजनिक यातायातहरु बन्द रहनेछन् । दुई पांग्रे सवारी साधनहरु मोटरसाइकल, स्कुटर साइकल अत्यावश्यक कामका लागि सञ्चालन गर्न पाइनेछ । अटोरिक्सामा चालक सहित ३ जना मात्र रहेर जिल्लाभित्र अत्यावश्यक कामका लागि सञ्चालन गर्न पाइनेछ ।