काठमाडौँ । नेपालमा अहिलेसम्ममा ५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार र शनिबार थप दुई जनामा कोरोना पुष्टि भएपछि संक्रमित हुनेको संख्या ५ पुगेको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या थपिदै गएको देखिएको छ । विदेशबाट आएका पाँचै जनाको सम्पर्कमा पुगेका व्यक्तिहरुमा पनि कोरोना भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ । पाँचै जनाको सम्पर्कमा भएकालाई खोजेर क्वारेन्टाइनमा राखेर परीक्षण शुरु भइसकेको सरकारले जनाएको छ ।
अब विदेशबाट आएका तपाई र तपाईका नजिकका आफन्तलाई पनि कोरोना परीक्षण गराउनुपर्ने बेला भएको छ । समयमै कोरोना परीक्षण गरेमा यसबाट बच्न सकिन्छ । अनि यसलाई फैलिनबाट रोक्न पनि सकिन्छ ।
को कुन देशबाट आएका थिए ?
नेपालमा यससँगै कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । यसअघि चीनबाट आएका युवामा पहिलो कोरोना संक्रमण देखिएको थियो । ती युवा टेकु अस्पतालमा उपचारपछि घर फर्किसकेका छन । चीनको वुहानमा कोरोना संक्रमण फैलिएका बेला नेपाल आएका ती युवामा पनि संक्रमण देखिएपछि तत्कालै उपचार शुरु गरिएको थियो ।
कोरोनाबाट संक्रमित हुने दोस्रो व्यक्ति काठमाडौँ उपत्यकाकी हुन । उनी गएको ४ गते फ्रान्सबाट आएकी थिइन । फ्रान्सबाट कतारको दोहा हुँदै आएकी उनलाई भियतनामकी साथीले कोरोना परीक्षण गर्न सुझाव दिएकी थिइन ।
नेपाल आएको केही दिनपछि भियतनामकै साथीको सल्लाहमा उनले परीक्षण गराउँदा कोरोना पोजेटिभ रिर्पोट आएको थियो । उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । र स्वास्थ्य अवस्था खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन ।
नेपालमा कोरोना संक्रमित तेस्रो व्यक्ति धादिंगका ३२ बर्षीय युवक हुन । उनी गएको चैत ११ गते नेपाल आएका जनाइएको छ । दुबईबाट नेपाल आएका उनी काठमाडौँको होटलमा बस्दा असहज भएपछि परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए ।
परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएपछि उनलाई पनि टेकु अस्पतालमै राखेर उपचार भइरहेको छ । उनको अवस्था पनि खतरामुक्त छ ।
नेपालमा कोरोनाबाट संक्रमित हुने चौथो व्यक्ति कैलाली धनगढीका हुन । उनी पनि युएईको दुबईबाटै आएका हुन । कोरोनाकै कारण कम्पनीले एक महिना बिदा दिएपछि उनी भारतको दिल्ली हुँदैँ काठमाडौ आएका थिए ।
काठमाडौँबाट नेपालगञ्जमा जहाज चढेर गएका उनी धनगढी पुगेपछि सेती अञ्चल अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंकामा परीक्षण गराउँदा उनलाई हिजो शुक्रबार बेलुकी मात्रै कोरोना पोजेटिभ रिर्पोट आएपछि सेती अञ्चलमै राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।
नेपालमा कोरोनाबाट संक्रमित हुने पाँचौ व्यक्ति २२ बर्षीया युवती हुन । उनलाई कोरोना संक्रमण भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बेलुकी पत्रकार सम्मेलन गरेर दिएको हो ।
बाग्लुङ घर भएकी ती युवती अहिले काठमाडौँ उपत्यकामा बस्छिन । केही दिनअघि फ्रान्सबाट आएकी १९ बर्षीया युवती चढेको विमानमै रहेकी बाग्लुङकी यी युवतीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्मको आकलनमा नेपालमा दोस्रो संक्रमितबाटै पाँचौ व्यक्तिमा संक्रमण फैलिएको देखिएको छ ।
विदेशबाट आएकालाई मात्रै कोरोना !
नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ती सबै विदेशबाट आएकाहरु छन । चीन, फ्रान्स, दुबई, कतार र बेल्जियमबाट आएका तीन युवा र दुई युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसले नेपालमा रहेका र अहिले घरभित्रै बसिरहेका कसैले पनि डर मान्नुपर्ने अवस्था छैन ।
सरकारले लकडाउन गरेका बेला घरबाट बाहिर ननिस्के र विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा नपुगे खासै डराउनुपर्ने अवस्था पनि छैन । यसकारण सरकारले लकडाउन जारी राखेका बेला घरभित्रै सुरक्षित बसे, अरुको सम्पर्कमा नपुगे र विदेशबाट आएका व्यक्तिले कोरोना परीक्षण गरे यो जोखिम घट्ने देखिन्छ ।
चीनको वुहान राज्यबाट फैलिएको कोरोनाबाट विश्वभर अहिलेसम्म ६ लाख १४ हजार ६३ जना संक्रमित छन । तीमध्ये २८ हजार २ सय ३८ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउने सबैभन्दा धेरै इटाली, स्पेन, चीन र इरानका छन । संक्रमणको दर भने अमेरिकामा अहिलेसम्मकै धेरै १ लाख ४ हजार भन्दा धेरैमा फैलिएको छ ।